२०१७ मा बलिउड

दूरबिन नेपाल     १७ पुष २०७४, सोमबार ०६:०२    

Anil Baral Real Estate

सन २०१७मा बलिउडमा चलचित्रको सफलता असफलता संगै सेलिब्रेटीहरुको अफेयर र डिभोर्सको कारणपनि धेरै चर्चा भयो ।
ऋतिक र कंगनाको झगडा


चलचित्रको पर्दामा निकै भावुक र शालिन देखिने राकेश रोशन पुत्र ऋतिक रोशन र बलिउड क्विन कंगना रनौतको प्रेम टुटेपछि सल्केको झगडाले अदालतको ढोकानै ढकढकाउन पुग्यो । पहिला लुकी लुकी डेटिङ गरेका ऋतिक र कंगना प्रेम टुटेपछि भने एक अर्काको आरोप प्रत्यारोपमा उत्रेपछि बलिउडमात्र होइन मनोरञ्जनको दुनियाँमै चर्चा हुन पुग्यो । यसै बर्ष कंगना रनौतको व्यवहारको पनि बलिउडमा निकै आलोचना भयो । करण जोहरको टीभी कार्यक्रममा होस वा बलिउडका सुपरस्टारहरु अमिर शाहरुख र सलमानसंग चलचित्र नखेल्ने घोषणा गरेका कारणपनि कंगना विवादमा आइन । यसै बर्ष कंगना, सैफअलि खान र शाहिद कपुर अभिनित चलचित्र रंगुन बक्स अफिसमा असफल भएको थियो ।


त्यसैगरी सलमान खानका भाइ अरवाज खान र उनकी पत्नी मुन्नी गर्ल मल्लाइका आरोराविच पनि विवाहको १८ बर्षमा डिभोर्स भएपछि केही समय बलिउड बजार तातेको थियो । मल्लाइका र अरबाज डिभोर्स भएपनि संगसंगै देखिन थालेको चर्चापनि बलिउडमा चल थालेको छ ।
सरोगेसीको चर्चा


बलिउडमा यसै बर्ष सरोगेसीले पनि निकै चर्चा कमायो । चलचित्र निर्माता तथा निर्देशक करण जोहर अविवाहित रहेपनि सरोगेसी मार्फत दुइ बच्चाको बाबु बनेको समाचारले बलिउड लगायत मनोरञ्जनकाृ दुनिया तरंगीत बन्यो । त्यसै गरी जितेन्द्र पुत्र तुसार कपुरपनि सरोगेसी मार्फत बाबु बनेको घटनाले बलिउडलाइल केही समय ततायो । यसअघि आमिर खान र शाहरुख खान पनि सरोगेसीका माध्यमबाट बाबु बनेका थिए ।
सुपर स्टारका असफल चलचित्र


यस बर्ष शाहरुख खानको चलचित्र रइस सुपर हिट बन्यो भने शाहरुखकै चलचित्र जब ह्यारी मेट सेजल बलिउडमा चल्न सकेन । यसअघि हिट चलचित्र दिएका शाहरुख र अनुष्का शर्माको जोडीलाइ जब ह्यारी मेट सेजलमा दर्शकले खासै रुचाएनन । त्यसै गरी बलिउडका टाइगर सलमान खानले पनि यो बर्ष असफलताको स्वाद चाख्नु पर्‍यो । बर्षको अन्तिममा रिलिज भएको टाइगर जिन्दा है ले सलमान खानको रवाफलाइ जोगाएपनि केही समय अघि रिलिज भएको ट्युवलाइट भने बलिउडमा चल्न सकेन ।


तर यसै बर्षको शुरुमा रिलिज भएको चलचित्र बाहुबलि द कन्क्लुजनले भने भारतीय चलचित्र इतिहासमै सबै भन्दा धेरै आम्दानी गर्‍यो । दक्षिण भारतीय अभिनेता प्रभाषको अभिनय र राजमौलीको निर्देशनमा बनेको चलचित्रले भारत भित्रमा ५ सय करोड भन्दा धेरैको व्यापार गर्‍यो भने संसारभरीबाट झण्डै हजार करोडको आम्दानी गरी इतिहास रच्न पुग्यो ।
अक्षयलाई फापेको बर्ष


बलिउडमा यदि तीन खानहरुलाइ टक्कर दिने कोही छ भने त्यो अक्षय कुमार हो । यो भनाइ पछिल्ला बर्षहरुमा प्रमाणित भइसकेको छ । किनकी आमिर शाहरुख र सलमान खानको चर्चा पहिला हुन्छ अनिमात्र चलचित्रको । तर अक्षय कुमारको कामको अर्थात चलचित्रको पहिला चर्चा हुन्छ तवमात्र उनको चर्चा हुन्छ । ट्विङ्कल पति अक्षय कुमारले फरक धारका चलचित्र खेलेर बलिउडका तीन खानहरुलाइ चुनौती दिइरहेका छन । यस बर्षपनि अक्षय कुमारका दुइ चलचित्रले राम्रो व्यापार पनि गरे भने तारिफपनि पाए । यसै बर्ष रिलिज भएको ट्वाइलेट एक प्रेम कथा र जोली एलएलबी टु ले बक्स अफिसमा सय करोडमाथीको व्यापारमात्र गरेनन । अक्षयको कामकोपनि निकै चर्चा र प्रशंसा भयो ।
विराट, अनुष्का –प्रेम र विवाह


यो बर्ष चलचित्रमा अनुष्कालाइ त्यती नफापेपनि प्रेम भने फापेको छ । भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली र अभिनेतृ अनुष्का शर्माको प्रेमले जति चर्चा पायो त्यो भन्दा धेरै उनीहरुको विवाहले पायो । यसै बर्षको डिसेम्बरमा विराट र अनुष्काले विवाह गरेपछि उनीहरुको प्रेमको चर्चा गर्ने देखि आलोचना गर्नेहरु सबैको मुख बन्द भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीदेखि निकै उपल्लो तहका व्यक्तिहरुको उपस्थितीमा गरिएको विराट अनुष्काको विवाहको रिसेप्सन पार्टीको चर्चापनि अझै सेलाएको छैन ।


१७ पुष २०७४, सोमबार ०६:०२ मा प्रकाशित