प्राविधिक शिक्षा गाउँगाउँमा

दूरबिन नेपाल     १३ बैशाख २०७५, बिहीबार १४:५६    

Anil Baral Real Estate

भक्तपुर, १३ वैशाख / शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले स्थानीय समुदायमा आधारित प्राविधिक शिक्षालाई स्थानीय समुदायसम्म पु¥याइने बताउनुभएको छ ।

स्थानीय कमलविनायकमा निर्माण भएको नेपाल भोकेशनल एकेडेमीको भवन उद्घाटन गर्दै मन्त्री पोखरेलले भन्नुभयो,“सरकारी, निजी र सहकारी क्षेत्र मिलेर प्राविधिक र व्यावसायिक शिक्षाको पाठ्यक्रमलाई तल्लो तहसम्म पु¥याउनुपर्छ, त्यसका लागि सरकार लागिसकेको छ, नेपालमा रहेको विद्यमान बेरोजगार समस्या समाधानका लागि सीपयुक्त प्राविधिक शिक्षा सबै स्थानीय तहमा पु¥याउन वर्तमान सरकार क्रियाशील छ ।” उहाँले संघीय शिक्षा नियम र अनिवार्य शिक्षा ऐन बनाइने तयारी भएको पनि बताउनुभयो ।

नेपालका लागि जर्मनेली राजदूत रोलान्ड सोफरले नेपालमा प्राविधिक शिक्षाको विकासका लागि जर्मनेली सरकार सधँै सहयोग गर्न तयार रहेको बताउनुभयो । जर्मनेली दातृ संस्था सुलर हिलफे फयुर नेपालका अध्यक्ष जर्ज बरले दक्ष जनशक्ति उत्पादनमा आफ्नो सहयोगले टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा भोकेशनल एकेडेमीका प्रमुख रवीन्द्र पुरीले नेपालमै पहिलो पटक सिटिइभिटीको सम्बन्धनमा परम्परागत घर र सम्पदा निर्माणसम्बन्धी दक्ष जनशक्ति उत्पादन गर्नेगरी एकेडेमीले प्राविधिक शिक्षा प्रदान गर्ने बताउनुभयो ।

पनौतीमा सञ्चालन हुँदै आएको एकेडेमीले वार्षिक ७० डकर्मी, सिकर्मी र लौहकर्मी उत्पादन गर्दै आएकामा अब वार्षिक २०० प्राविधिक जनशक्ति उत्पादन गर्ने लक्ष्य लिएको उहाँको भनाइ थियो ।

करीब रु सात करोड मूल्य बराबरको जग्गा भोकेशनल एकेडेमीलाई दान दिँदै पुरीले एक रोपनी जग्गा अर्थात् १९ हजार स्क्वायरफिट क्षेत्रफलमा सुलर हिलफे फयुरको रु पाँच करोडको अनुदानमा एकेडेमीको भवन निर्माण भएको हो । आगामी भदौदेखि इलेक्ट्रिकल, प्लम्बिङ्ग, उड क्राभिङ्ग लगायत सीपको तालीम सञ्चालन गर्ने गरी निर्माण भएको हो । रासस


१३ बैशाख २०७५, बिहीबार १४:५६ मा प्रकाशित