द्वन्द्वपीडितको परिपूरणसम्बन्धी वकालतपत्र सार्वजनिक

दूरबिन नेपाल     २१ बैशाख २०७५, शुक्रबार १५:०२    

Anil Baral Real Estate

काठमाडौँ, २१ वैशाख /‘नेपालको सशस्त्र द्वन्द्वका पीडितको परिपूरणीय आवश्यकता, अधिकार र माग’ नामक वकालतपत्र आज सार्वजनिक भएको छ ।

द्वन्द्वपीडित साझा चौतारी र रेडक्रस अन्तर्राष्ट्रिय समितिले आज आयोजना गरेको कार्यक्रममा कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले वकालतपत्र सार्वजनिक गर्दै द्वन्द्वका घाउ मेट्नका लागि सबैभन्दा पहिले परिपूरण जरुरी भएको उल्लेख गर्दै त्यसका लागि सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानवीन आयोगले काम गरिरहेको बताउनुभयो । उहाँले कतिपय पहुँचका आधारमा परिपूरणका लागि निवेदन दिने प्रवृत्ति पनि भएको हुँदा द्वन्द्वको प्रकृति अध्ययन गरेर छुट्याउने काम दुई आयोगले गर्नुपर्नेमा जोड दिनुभयो ।

बेपत्ताको छानवीन आयोगका अध्यक्ष लोकेन्द्र मल्लिकले आयोगमा परेका उजुरीको अध्ययन भइरहेको र परिपूरणका सम्बन्धमा समेत आयोगले काम गरिरहेको जानकारी दिनुभयो । चौतारीका अध्यक्ष सुमन अधिकारीले द्वन्द्वपीडित परिवारको अवस्था र उनीहरुलाई विनाभेदभाव नियमित रुपमा पुनःस्थापना, पठनपाठन, आर्थिक सहायता गराउनुपर्ने लगायत कुरा वकालतपत्रमा उल्लेख भएको बताउनुभयो ।

कार्यक्रममा सहभागी मानवाधिकारकर्मी सुबोध प्याकुरेल, कपिल श्रेष्ठलगायतले द्वन्द्वपीडितले आफन्त गुमाउनुको निकै ठूलो पीडा सहेको बताउँदै तिनको परिवारले केही परिपूरणका रुपमा राहत पाउने आशामा रहेको धारणा राख्नुभएको थियो । रासस


२१ बैशाख २०७५, शुक्रबार १५:०२ मा प्रकाशित