हाम्रो प्रयास, हाम्रो प्रतिबद्धता

दूरबिन नेपाल     २२ पुष २०७४, शनिबार २१:५९    

Anil Baral Real Estate

मातृभूमिमा रहँदा पत्रकारितामा सक्रिय रहेका हामी यतिबेला प्रवासमा पनि एकताबद्ध हुने जमर्को गरेका छौं । समुदायलाई हर क्षण सु-सूचित एवम् मनोरञ्जन प्रदान गर्ने र पत्रकारितालाई निरन्तरता दिने उद्देश्यले हाल अमेरिकाका विभिन्न स्थानमा रहेका हामी झण्डै डेढ दर्जन व्यक्तिको संयुक्त प्रयासले दूरबिन नेपाल मिडिया ग्रुप एलएलसी अन्तर्गत दूरबिन नेपाल अनलाइन पत्रिकाको सुरुवात गरेका छौं । सन् २०१८ को सुरुवातसँगै यसको शुभारम्भ गर्न पाउँदा हामी निकै खुसी साथ आफ्नो गन्तव्य भेट्ने अविचलित पथमा लम्केका छौं । प्रवासबाट सञ्चालन हुने अनलाइन पत्रिकाको भीडमा एउटा नाम थप्नका लागि मात्र हामीले दूरबिन नेपालको सुरुवात गरेका होइनौं।
हामीलाई हेक्का छ, पत्रकारिताको माध्यमबाट समाज, जन्मभूमि र प्रवासको त्रिकोणात्मक भूमिका निर्वाह गर्ने हाम्रो मार्ग पक्कै चुनौतीपूर्ण छ । हाम्रो यो ‘टिम’ यी चुनौतीसँग जुध्दै आगामी दिनमा सकारात्मक तथा नकारात्मक दुबै पाटालाई व्यवस्थापन गर्दै अघि बढ्ने प्रण गर्दछ । र, हाम्रो यो पनि प्रतिबद्धता हो कि, पत्रिकाले मातृभूमिको हित तथा प्रवासका नेपालीबीच सकारात्मक सन्देशको प्रवाह गरोस्, सामाजिक सद्भाव र एकताको सञ्चार गर्न मद्दत पुर्याओस्।
छुद्रता र भड्काउपूर्ण सूचनामा अल्झाएर समाजलाई दिग्भ्रमित बनाउने प्रवृत्तिको हामी सधैँ विपक्षमा उभिने छौं। हामी पाठक वर्गको रचनात्मक सल्लाह, सुझाव र प्रतिक्रियालाई आत्मसात् गर्दै निष्पक्ष सूचना, शिक्षा र मनोरञ्जनको कसीमा निरन्तर क्रियाशीलताको वचनबद्धता दोहोर्याउँछौं । साथै, हाम्रो यो प्रयासलाई सार्थक बनाउनका लागि यहाँहरू सबैको साथ, सहयोग र सद्भाव अपरिहार्य रहने छ । अन्त्यमा, पाठक वर्ग, विज्ञापनदाता एवम् समस्त शुभेच्छुकमा नयाँ वर्ष २०१८ को पावन अवसरमा हार्दिक शुभकामना !

दूरबिन नेपाल मिडिया ग्रुप


२२ पुष २०७४, शनिबार २१:५९ मा प्रकाशित