राखेप च्याम्पियनसिप : आर्चरीमा मिन र आईषाले जिते  रिकर्भ ब्यक्तिगतको स्वर्ण 

दूरबिन नेपाल     २३ पुष २०७४, आईतवार १४:१४    

Anil Baral Real Estate

 

काठमाडौं २३ पुस ।
राष्ट्रिय खेलकुद परिषद च्याम्पियनसिपमा आर्चरीको रिकर्भ ब्यक्तिगत ७० मिटरमा पुरुष तर्फ मिन गौचन र महिला तर्फ आईषा तामाङ्गले स्वर्ण पदक जितेका छन ।
आइतबार भएको प्रतिस्पर्धामा थासाङ्ग स्पोर्टस् क्लबका गौचनले स्वयंभु आर्चरी क्लबका प्रेम प्रसाद पुनलाई फाईनलमा ७–३ अंकले पराजित गर्दै स्वर्ण पदक प्राप्त गरे । कास्की आर्चरी क्लबका तिलक पुन मगरले कास्य पदक पाए ।
महिला तर्फ सेनाकी आईषाले आफ्नै दिदी सेनकी ज्ञानु अवालेलाई ६–४ अंकले पराजित गर्दै स्वर्ण हात पारिन् । तेश्रो स्थानमा कञ्चनपुर आर्चरी क्लबकी तमन्ना क्षेत्री रहिन् ।

दशरथ रङ्गशालामा भएको च्याम्पियनसिपको कम्पाउण्ड ५० मिटर ब्यक्तिगत पुरुष तर्फको प्रतिस्पर्धामा राजधानी आर्चरी क्लबका सनातन मल्लले वेष्ट आर्चरी क्लबका प्रजित अग्रवाललाई पाखा लगाउंदै स्वर्ण जित्न सफल भए । सनातनले १४० अंक प्राप्त गर्दा प्रजितले ११९ अंक प्राप्त गरे ।

यस्तै पुरुष स्ट्याण्डर्ड ब्यक्तिगत ३० मिटर तर्फको प्रतिस्पर्धामा स्वयंभु आर्चरी क्लबका धनेन्द्र छन्त्यालले स्वर्ण हात पारे । उनले बेष्ट अफ फाईभको गेममा ६ अंक बटुले । दोश्रो स्थानमा रहेका वेष्ट आर्चरीका नविन विर बस्न्याटले रजत पदक पाए । उनले ४ अंक जोडे । नेपाली सेनाका डम्बर थापाले कास्य पाए ।

सोही विधाको महिला तर्फ अन्नपूर्ण आर्चरी क्लबकी केशरी आले मगरले नेपाली सेनाकी मित्रा राईलाई ७–३ अंकले पराजित गर्दै स्वर्ण पदक हात पारिन् । तेश्रो स्थानमा अन्नपूर्ण आर्चरी क्लबकी रोजीना थापामगर रहिन् ।

पुरुष स्ट्याण्डर्ड ३० मिटर टिम तर्फको प्रतिस्पर्धामा नेपाली सेनाले स्वर्ण हात पार्यो । सेनालाई स्वर्ण दिलाउन डम्बर थापा, तविन गुरुङ्ग र प्रेम वि.क.को टिमले ५ अंकको योगदान गरेका थिए । रजत पदकमा सिमित भएको वेष्ट आर्चरी क्लबका नविन विर बस्न्यात, जोर्डन विक्रम थापा र ग्रिष्मा गुरुङ्गको टोलीले एक अंक मात्र हासिल गर्दै दोश्रो स्थानमा चित्त बुझायो । अन्नपूर्ण आर्चरी क्लबका करुण बराल, शंकर थकाली र हिम कुमार रानामगरको टोलीले कास्य पायो । दुई दिने च्याम्पियनसिपमा ७८ खेलाडीहरुले विभिन्न ६ विधामा प्रतिस्पर्धा गरेका थिए ।

तस्वीर साैजन्य : राखेप 


२३ पुष २०७४, आईतवार १४:१४ मा प्रकाशित