चिसोले अस्थव्यस्त जनजीवन, राजविराजनमा कठ्याङग्रीएर एकको मृत्यु, भरतपुर र पोखराका हवाइ उडान रद्द उपराष्ट्रपति द्वारा तराइका  शीतलहर पीडितलाई सहयोग गर्न सरकार सँग आग्रह

दूरबिन नेपाल     २३ पुष २०७४, आईतवार १५:०१    

Anil Baral Real Estate

काठमाडौं, २३ पुस ।
अत्याधिक चिसोका कारण देश भरको जनजीवन प्रभावित भएकाे छ । चिसाेमा कठ्याङग्रीएर राजविराजनमा एक जनाको निधन भएको छ । यस्तै मुख्य मुख्य शहरहरूमा अवाइ सेवाका उडान रद्द समेत भएका छन् ।
एक सातादेखि बढेको चिसोका कारण चितवनलगायत आसपास क्षेत्रको जनजीवन प्रभावित भएको छ । चिसो र बाक्लो हुस्सुले मौसम प्रतिकूल हुँदा स्थानीयवासी ठाउँठाउँमा आगो तापेर जाडो छल्ने प्रयास गरिरहेका छन् ।
शनिबार जिल्लाबाट काठमाडौँ र पोखराको उडानसमेत रद्ध गरिएको भरतपुर विमानस्थलका प्रमुख पवनकुमार गौतमले जानकारी दिनुभयो ।
भरतपुर विमानस्थलका अनुसार चितवनमा शुक्रबार तापक्रम ९ डिग्री थियो । शनिबार ७ डिग्रीमा झरेको तापक्रम आइतवार बिहानसमेत ७ डिग्री यथावत् थियो । आइतवार १० बजेको तामक्रम भने १० डिग्री पुगेको विमानस्थलले जनाएको छ ।
गौतमका अनुसार कम्तीमा दुई हजार ५०० मिटर दूरी (तेश्रो) भिजिवलिटी तथा ठाडो ४५० मिटर भएमा मात्रै उडान गर्न मिल्छ तर १० बजे जम्मा एक हजार ५०० मिटर तेर्सो र ३०० मिटर ठाडो मात्रै भिजिवलिटी रहेको गौतमले बताउनुभयो ।
भरतपुर विमानस्थलबाट बुद्ध, यति र सिम्रिकले उडान भर्दै आएको छ । बुद्धले काठमाडौँ, भरतपुर छदेखि सात वटासम्म उडान भर्छ । केही महिनादेखि बुद्धले पोखरामा समेत दुई वटा उडान भर्दै आएको छ ।
सिम्रिकको चितवन–काठमाडौँ एउटा उडान छ भने यतिको चार वटा उडान हुन्छ । भरतपुर विमानस्थलमा दैनिक ५०० यात्रु हवाई यात्रामा जाने गरेको विमानस्थलले जनाएको छ ।
कठ्याङग्रीएर एकको मृत्यु
पछिल्लो केही समयदेखि तराईमा बढेको शीतलहरका कारण सप्तरीमा एक व्यक्तिको आज मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनरुप नगरपालिका–२ बरमझियाका ५५ वर्षीय बेचन शेख रहेको प्रहरीले जनाएको छ । शेखको गहुँको खेतमा सिँचाइ गर्ने क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कंचपुरले जनाएको छ । शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा लगिएको छ ।
डेड सय परिवारलाई कम्बल
चिसोका कारण जनजीवन कष्टकर बन्दै गएपछि सप्तरीको महदेवा गाउँपालिकाका बासिन्दालाई आज कम्बल वितरण गरिएको छ । धर्मी हल्फा महिला विकास क्लब राजविराजले महदेवा गाउँपालिका–१ बल्थीका ५० परिवारलाई कम्बल वितरण गरिएको सो संस्थाका संयोजक इन्जिनियर सूर्यनारायण यादवले बताउनुभयो । त्यस्तै, तिलाठी कोइलाडी गाउँपालिका–६ र ७ का १०० जनालाई समेत कम्बल वितरण गरिएको छ ।
चिसो बढेसँगै अस्पतालमा बिरामी बढे
चिसो बढेसँगै रुघाखोकी, घाँटी दुख्ने समस्याले अस्पताल जाने बिरामी बढ्न थालेका छन् । स्वास्थ्यमा छिटो समस्या हुने भएकाले यसबाट बच्न र रुघाखोकीलाई बेवास्ता नगर्न पनि चिकित्सकले सुझाव दिएका छन् ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनले अहिले रुघाखोकीको औषधि खाएर निको भएका पनि पुनः लामो समयसम्म खोकी लाग्ने समस्या भने निको नभएर आउने बढी रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यसपालि अघिल्लो वर्षभन्दा अलि फरक अवस्था देखिएको छ, बढिरहेको जाडोसँगै अत्यधिक धुलोधुवाँका कारण पनि लामो समय औषधि खाँदा पनि रुघाखोकी निको नभइरहेको देखिएको छ ।”
वीर अस्पतालका आकस्मिक विभागका मेडिकल अफिसर डा सरल शर्माले चिसो बढेसँगै श्वासप्रश्वास र दमका बिरामी अत्यधिक बढिरहेको बताउनुभयो । उहाँले बिरामीको सङ्ख्या बढी भएकाले २० श्यया भएको वीरको आकस्मिक कक्षमा एउटै श्ययामा चार जनासम्म बिरामी राखेर उपचार गर्नु परेको जानकारी दिनुभयो ।
“राजधानीका ग्रामीण भेग र बाहिरी जिल्लाबाट आएका आगोमा खाना पकाउने महिला र अत्यधिक चुरोट सेवन गर्ने ६० वर्षमाथिका वृद्धवृद्धा दमको समस्या भएर धेरै आइरहनुभएको छ”, उहाँले भन्नुभयो । बिहान चिसो पानीले दिनहुँ नुहाउने वृद्धवृद्धालाई पनि श्वासप्रश्वास, रुघाखोकीको समस्या बढी देखिएर वीरमा उपचारका लागि आउने बिरामी बढी छन् । रुघाखोकी लागेका समयमा मास्क लगाएर मात्र बाहिर निस्कन, धेरै हूलमूल र भीडभाड कम जान चिकित्सकले सुझाव दिनुभएको छ ।
चिकित्सकले जाडो समयमा तातो पानी मात्र नभएर तातो सुपहरु पनि प्रशस्त पिउन आग्रह गरेका छन् । “पानी पनि शरीरलाई आवश्यक छ त्यससँगै रोगसँग लड्ने रोग प्रतिरोधात्मक क्षमता बढाउन भिटामिन, मिनरल पनि चाहिने भएकाले तातो सुप, हरियो सागपातको मात्रा पनि खानामा बढाउन आवश्यक छ,” डा पुनले भन्नुभयो ।
धेरै भीडभाड र हूल भएको ठाउँमा संक्रमण हुने सम्भावना बढी हुने भएकाले जानै परेमा मास्क लगाई रुघाखोकी लागेका बिरामीबाट दूरी बनाई बस्न पनि डा पुनको सल्लाह छ । डा शर्माले आगोको धुवाँमा धेरै बस्दा २० खिल्ली चुरोट खाँदा हुने असरबराबरको असर हुने भएकाले बचेर बस्न आग्रह गर्नुभयो ।
बाहिरबाट घर फर्केपछि साबुनपानीले राम्ररी हातगोडा पखालेर मात्र बस्न, रुघाखोकी लागेका समयमा प्रशस्त झोल खानेकुरा खाने, हरियो सागपात फलफूलहरु राम्ररी धोई पखाली राम्ररी पकाएर खान पनि चिकित्सकले सुझाव दिनुभयो ।
चिसोबाट बच्नका लागि न्यानो लुगा लगाउने र नवजात शिशु तथा बालबालिका, वृद्धवृद्धा, गर्भवती महिला, सुत्केरी, दम, श्वासप्रश्वासका बिरामीलाई छिटो प्रभावित बनाउने भएकाले विशेष ध्यान राख्न जरुरी छ ।
चिसो बढेपछि उपमहानगरपालिकाद्वारा दाउरा वितरण
चिसोका कारण केही दिनयता जनजीवन प्रभावित बन्दै गएपछि धनगढी उपमहानगरपालिकाले बजार क्षेत्रका विभिन्न स्थानमा शनिबारदेखि दाउरा वितरण गर्न शुरु गरेको छ ।
यस क्षेत्रमा लगातार एक सातायता बिहानैदेखि बाक्लो हुस्सु लाग्ने, शीतलहर चल्नेलगायत मौसम प्रतिकूल हुन थालेपछि दैनिक जीवनयापनमा समस्या उत्पन्न हुन थालेको छ । उपमहानगरपालिकाले बढ्दै गएको चिसोलाई मध्यनजर गर्दै त्यसबाट प्रभावितलाई राहतस्वरुप बजारका चोकचोकमा दाउरा वितरण गरिएको जनाएको छ ।
नगर प्रमुख नृपबहादुर वडले शीतलहर सँगै चल्ने चिसो हावाका कारण केही दिनयता जनजीवन प्रभावित बन्दै गएपछि शनिबार बजारका मुख्य मुख्य चोकमा दाउरा वितरण गरिए पनि आजदेखि भित्री बस्ती तथा चोकमा समेत दाउरा वितरण गरिने जानकारी दिनुभयो ।
वितरणका लागि आवश्यक पर्ने दाउराको व्यवस्थाका लागि जिल्ला वन कार्यालयसँग कुराकानी भइसकेकाले नगरपालिकाको टिपरमार्फत दाउरा संकलन गरी वितरण गर्ने योजनामा रहेको नगर प्रमुख वडले बताउनुभयो ।
शीतलहर सँगै चिसो अत्यधिक बढ्दै गएपछि यस क्षेत्रको जनजीवन कष्टकर बन्दै गएको छ । चिसोबाट बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएका छन् ।
शीतलहर पीडितलाई सहयोग गर्न सरकारलाई आग्रह
उपराष्ट्रपति नन्दबहादुर पुनले तराईका शीतलहर पीडितलाई सहयोग गर्न सरकारलाई आग्रह गर्नुभएको छ । काठमाडौँ महानगरपालिकाद्वारा आयोजित ‘पूर्ण खोप सुनिश्चित हाम्रो महानगरपालिका’ घोषणासभामा उपराष्ट्रपति पुनले शीतलहरका कारण तराईका नागरिकले कष्टपूर्ण जीवन भोग्नुपरेकाले तत्काल स्वास्थ्यकर्मीको टोली पठाएर सहयोग गर्नका लागि आग्रह गर्दै नागरिकलाई गुणस्तरीय सेवा दिनु सरकारको दायित्व रहेको बताउनुभयो ।
सबै नागरिकले सस्तो र सरल तरिकाबाट सेवा प्राप्त गर्न पाउने अधिकार संविधानमा नै उल्लेख गरिए पनि व्यवहारमा लागू हुन नसक्नु दुःखको विषय रहेको बताउँदै उहाँले भन्नुभयो, “नेपालका अधिकांश जनता चेतनाका अभावले रोगबाट ग्रसित हुनुपरेको हुँदा गाउँ गाउँसम्म पुगेर उनीहरुलाई चेतना दिलाउनु पनि आवश्यकताको विषय हो ।”
स्वास्थ्य तथा जनसंख्यामन्त्री दीपक बोहराले विसं २०१७ मा नेपाललाई पूर्ण खोप सुनिश्चित गर्ने सरकारको लक्ष्य पूरा नभए पनि पछिल्लो समय बाल मृत्युदरमा भने कमी आएको जानकारी दिँदै खोप सेवा प्राप्त गर्नु सबै बालबालिकाको अधिकार हो भने उक्त सेवा दिनु स्वास्थ्यकर्मीको मुख्य काम हो भन्नुभयो ।
कामपाका प्रमुख विद्यासुन्दर शाक्यले सरकारले प्रदान गर्दै आएको ११ रोगको १६ खोप लिनका लागि नागरिक आफैँ पनि जागरुक हुनुपर्ने बताउनुभयो । कार्यक्रममा कामपाका ३२ वटै वडाका ५०० स्वास्थ्य स्वयंसेविका र १५० स्वास्थ्यकर्मीलाई सम्मान गरिएको थियो । हालसम्म नेपालका ७८ प्रतिशत बालबालिकाले मात्र पूर्ण खोप प्राप्त गर्नसकेका छन् ।
जाडो बढेपछि पाँच दिन विद्यालय बन्द
केही दिनयता अत्यधिक जाडो बढेपछि मोरङ जिल्लामा पाँच दिनका लागि विद्यालय बन्द गरिएको छ । जिल्ला शिक्षा समितिले सामुदायिक तथा निजी विद्यालय पाँच दिन बन्द गर्ने निर्णय आज गरेको हो । सोमबारदेखि लागू हुने गरी यही पुस २८ गतेसम्मका लागि विद्यालय बन्द गरिएको सहायक जिल्ला शिक्षा अधिकारी दिव्यराज कट्टेलले जानकारी दिनुभयो ।
जाडो अत्यधिक बढेपछि विद्यार्थी संख्यामा पनि कमी हुँदै गएका कारण विद्यालय बन्द गर्नुपरेको उहाँले बताउनुभयो । मोरङमा ५९६ सामुदायिक र ३८४ निजी विद्यालय छन् । बर्खे बिदाबाट मिलान गर्ने गरी विद्यालय बन्द गरिएको जनाइएको छ ।
मोरङका कतिपय निजी विद्यालयमा अहिले परीक्षा सञ्चालन भइरहेका छन् । शिक्षा समितिले विद्यालय बन्द गर्ने निर्णय गरेपछि निजी विद्यालयले पनि पछि परीक्षा गर्ने गरी तत्कालका लागि बन्द गर्ने भएका छन् ।
शीतलहर र चिसो पीडितको रक्षा गर्न आयोगको आग्रह
राष्ट्रिय मानव अधिकार आयोगले शीतलहर र चिसोबाट प्रभावित सर्वसाधारणको मानव अधिकारको रक्षा गर्न नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।
मौसम परिवर्तनसँगै तराई मधेश, उच्च पहाडी तथा हिमाली भेगलगायत देशका विभिन्न भागमा केही दिनयता चिसो बढ्न गई सर्वसाधारणको मृत्युसमेत भएको तथा दैनिक जीवनमा हुन गएको कष्टकर अवस्थाप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
शीतलहर, हिमपात तथा चिसोका कारण हुम्ला, जाजरकोट, सप्तरी, सिराहा, रौतहट, कपिलवस्तु लगायतका जिल्लामा दुई दर्जनभन्दा बढी व्यक्तिको ज्यान गएको आयोगको अनुगमनबाट पाइएको छ ।
लामो समयदेखि त्रिपालमा बस्दै आएका बाढीपीडित तथा भूकम्पपीडित, मुसहर बस्तीका बासिन्दा एवम् न्यून आयस्रोत भएका समुदायका बालबालिका, ज्येष्ठ नागरिक, सुत्केरी एवम् बिरामी व्यक्ति उच्च जोखिममा रहेको अनुगमनबाट बुझिएको आयोगले जनाएको छ ।
चिसो बढेसँगै रुघाखोकी, ज्वरो, निमोनिया, दम, कोल्ड डाइरियाजस्ता रोगको प्रकोप बढ्न गई जनजीवन कष्टकर बन्दै गएको, स्थानीय स्वास्थ्यचौकी तथा अस्पतालमा बिरामीको चाप बढिरहेको तर औषधि र स्वास्थ्यकर्मी नहुँदा बिरामी उपचारबाट वञ्चित हुनु परेको, सिटामोललगायत सामान्य औषधिको अभावमा रुघाखोकी, ज्वरो र कोल्ड डाइरियाबाट व्यक्तिको ज्यानसमेत गएको अवस्था छ ।
राससको सहयोगमा


२३ पुष २०७४, आईतवार १५:०१ मा प्रकाशित