बहुप्रतिक्षित ओली र प्रचण्ड भेटवार्ता : पार्टी एकता संयोजन समिति बैठक मंगलवार

दूरबिन नेपाल     २३ पुष २०७४, आईतवार १५:४८    

Anil Baral Real Estate

भक्तपुर, २३ पुस :
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच अाइतवार साँझ ओली निवास, बालकोटमा भेटवार्ता भएको छ ।

साँझ सवा ६ बजे ओली निवास पुग्नु भएका प्रचण्ड र ओलीबीच करिब डेढ घण्टा भएको भेटवार्तामा पार्टी एकतालाई कसरी निष्कर्षमा पुरयाउने भन्ने र नयाँ सरकार निर्माण एवं राष्ट्रियसभा गठनबारे गम्भीर छलफल भएको छ ।

भेटपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै माओवादी केन्द्रका अध्यक्ष दाहालले मुख्य रुपमा पार्टी एकतालाई निष्कर्षमा पुरयाउनेबारे छलफल भएको बताउनुभयो । उहाँले पार्टी एकतालाई निष्कर्षमा पुरयाउनै पर्छ भन्नेमा आफूहरु बीच छलफल भएको बताउँदै उहाँले त्यसका लागि सोमबार आआफ्नो पार्टीभित्र छलफल गरेर मंगलबार पार्टी एकता संयोजन समितिको बैठक बस्ने सहमति भएको जानकारी दिनुभयो ।

अध्यक्ष दाहालले पार्टी एकता संयोजन समितिबाट पार्टी एकता प्रक्रियालाई छिट्टै टुंगोमा पुरयाउनका लागि वैचारिक, राजनीतिक काम र सांगठनिक काम दुईवटै काम गर्नका निम्ति एउटा टिम बनाएर जिम्मा दिने र केही दिनभित्र पार्टी एकता प्रक्रियालाई निष्कर्षमा पुरयाउनेबारे दुई अध्यक्षबीच सहमति भएको जानकारी दिनुभयो ।

अब बन्ने एकीकृत पार्टीको अध्यक्ष र सरकारको नेतृत्व आलोपालो गर्ने वा नगर्ने तथा कस्तो वैचारिक संगठनात्मक आधारमा एकता गर्ने भन्नेमा नेताहरुबीच फरक फरक धारणा आउँदा आज ओली र प्रचण्डबीच भेटवार्ता भएको हो ।

भेटमा दुई पार्टीका अध्यक्ष ‘वान टु वान’ (सहयोगी बिना) वार्तामा बस्नु भएको थियो । एमाले अध्यक्ष ओली नियमित स्वास्थ्य परीक्षणका लागि बुधबार बैंकक जाने तय भएपछि त्यसअघि नै समझदारीको प्रयास स्वरुप भेटवार्ता भएको बताइएको छ ।


२३ पुष २०७४, आईतवार १५:४८ मा प्रकाशित