एनआरएन अमेरिकाको ह्युस्टन बैठक सम्पन्न

दूरबिन नेपाल     २३ पुष २०७४, आईतवार १७:३४    

Anil Baral Real Estate

ह्युस्टन, टेक्सस, ७ जनवरी / एनआरएन अमेरिकाको कार्यसमितिको बैठक आइतबार बिहान सकिएको छ । बैठक कार्यसमितिको सय दिने कार्यको समीक्षा गर्न शनिबारदेखि  टेक्ससको ह्युस्टन शहरमा भएको थियो । एनआरएनका सबै सदस्यलाई परिचयपत्र वितरण कार्य थालनी गरेर सर्वाधिक चासो र बिवादको रूपमा रहँदै आएको सदस्यता सम्बन्धि विषयको दीर्घकालीन समाधानको बाटोमा अगाडी बढेको सन्देश सो बैठकले दिएको छ। आफ्नो विवरण अध्यावधिक गरिसकेका सदस्यहरुको परिचयपत्र तयार भैसकेको र स्थानीय स्तरमा कार्यक्रम गरी परिचयपत्र वितरण गर्ने योजना रहेको परिचयपत्र वितरण समितिका संयोजक गोपेन्द्र भट्टराईले बताए । अहिले ३ सय ६४ जनाको परिचयपत्र तयार भइसकेको र बाँकी सदस्यका लागि काम अगाडि बढिरहेको जानकारी महासचिव बाबुराम लामाले गराए । बैठकले दोहोरो कर प्रणालीको अन्त्यका लागि नेपाल सरकार र अमेरिकी सरकारसँग पहल गर्ने निर्णय पनि गरेको छ ।

बैठकले अमेरिकामा समस्यामा परेका नेपालीलाई सहयोग पुर्‍याउन गठन गरिएको एनआरएन हेल्प डेस्कलाई प्रभावकारी बनाउने निर्णय गरेकोछ। प्रवक्ता विनोद तिवारी र मिडिया कोअर्डिनेटर बाल जोशीका अनुसार बैठकका सबै निर्णयहरुको विस्तृत जानकारी आधिकारिक प्रेस विज्ञप्ति मार्फत गराइने छ।

बैठकले ठोस नीतिगत विषयमा भन्दा समुदाय स्तरमा हुने कामहरूमा बढी समय खर्चेकोमा केही सहभागी सदस्यहरु असन्तुष्ट देखिएका थिए।

‘आगामी दिनमा यस्ता बैठक राष्ट्रिय स्तरका विषयमा केन्द्रित हुनसके साँचो अर्थमा एनआरएन अमेरिकाको उपदेयता समेत बढ्ने थियो,’ पहिलो पटक एनआरएन बैठकमा सहभागी एक सदस्यको प्रतिक्रिया थियो ।


२३ पुष २०७४, आईतवार १७:३४ मा प्रकाशित