चौधौ पटक अनसन शुरु गरेका गोविन्द केसीलाई पक्राउ गर्न सर्वोच्चको आदेश प्रा डा केसीद्वारा आमरण अनशन सुरु

दूरबिन नेपाल     २४ पुष २०७४, सोमबार १४:३७    

Anil Baral Real Estate

काठमाडौँ, २४ पुस
प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गर्दै अनसनरत डा. गोविन्द केसीविरुद्ध सर्वोच्च अदालतले अवहेलना मुद्दामा पक्राउ पुर्जी जारी गरेको छ । न्यायाधीश डम्बरबहादुर शाहीको इजलासले डा. केसीलाई पक्राउ गरी मङ्गलवार बिहान ९ बजे अदालतमा उपस्थित गराउन गृह मन्त्रालयलाई पत्राचार गरिसकेको छ । सर्वोच्च अदालतका शाखा अधिकृत नेत्रबन्धु पौडेलले उनीबिरुद्ध अदालतको अवहेलना मुद्दा दायर गरेका थिए ।
डा. केसीको नाममा जारी भएको विज्ञप्ति र समाचारहरू हेर्दा अदालतको फैसलाविरुद्ध जनमानसमा भ्रम पर्ने गरी न्याय व्यवस्था, न्यायपालिका र न्यायाधीशविरुद्ध अमर्या्दित, अशिष्ट र अवहेलनाजनक अभिव्यक्ति उल्लेख भएको पाइएको आदेशमा उल्लेख छ । ‘अदालतको अवहेलनामा किन कारबाही गर्नु नपर्ने हो ? निजलाई पक्राउ गरी २०७४ पौष २५ गते बिहान ९ बजे अदालतमा हाजिर हुन उपस्थित गराउनु भनी गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयका नाममा लेखी पठाउनु ,’आदेशमा भनिएको छ । डा. केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गर्दै सोमबार आमरण अनसन सुरु गरेका छन् ।

प्रा डा केसीद्वारा आमरण अनशन सुरु
त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) शिक्षण अस्पतालका प्रा डा गोविन्द केसीले प्रधानन्यायाधीशको राजीनामाको माग गर्दै सोमबारदेखि आफ्नो १४ औँ अनशन शुरु गरेका छन् ।
अस्पतालमा पत्रकार सम्मेलन गरी प्रा डा केसीले सर्वोच्च अदालतले आइतबार आइओएमको चार वर्षअघिका डीन प्रा डा शशि शर्माको पुनःबहाली गर्न गरेको फैसला न्यायसंगत नभएको जनाउँदै प्रधानन्यायाधीशको राजीनामाको माग गरी अनिश्चितकालीन आमरण अनशनमा बसेका छन् ।
उहाँले भन्नुभयो,‘‘ चार वर्षपछि आएओएमको डीन पदमा बर्खास्त व्यक्तिलाई फर्काइनुका पछाडि भागबण्डाले धराशायी भएको आइओएमलाई पुन धराशायी र मनपरी रूपमा मेडिकल कलेजलाई सम्बन्धन दिने नियत लुकेकाले सो फैसला हामीलाई कदापि मान्य छैन ।’’
प्रा डा केसीले विधिवत् रूपमा वरिष्ठताका आधारमा नियुक्त भएका डीन नै अहिले पनि वास्तविक डीन भएको बताए ।
आइओएमका डीनबाट बर्खास्तमा पर्नुभएका प्रा डा शर्मालाई त्रिवि कार्यकारी परिषद्को २०७० पुस २५ गते बसेको बैठकले सोही साल पुस २८ गतेदेखि लागु हुने गरी चार वर्षका लागि अर्थात् यही पुस २७ सम्म पदावधि रहने गरी डिन नियुक्त गरेको थियो ।
परिषद्कै २०७० पुस २९ गते बसेको बैठकले प्रा डा शर्माको नियुक्ति बदर गरी प्रा डा राकेशप्रसाद श्रीवास्तवलाई नियुक्त गरेपछि शर्मा न्यायका लागि २०७० फागुन १ गते सर्वोच्च अदालत गएका थिए । प्रा डा शर्माको नियुक्तिलाई बदर गरिएपछि वरिष्ठताका आधारमा प्रा डा श्रीवास्तवलाई डीन नियुक्त गरिएको थियो । प्रा डा श्रीवास्तवले राजीनामा दिएपछि हाल प्रा डा जगदीशप्रसाद अग्रवाल डीनका रूपमा रहेका थिए ।
प्रधान्यायाधीश गोपाल पराजुली र न्यायाधीश दीपककुमार कार्कीको संयुक्त इजलासले आइतबार चार वर्षपछि चार दिनका लागि प्रा डा शर्मालाई पुनःबहाली गर्न आदेश दिएको थियो ।
प्रा डा केसी प्रधानन्यायाधीशको राजीनामा, चिकित्सा शिक्षा आयोगको तत्काल गठन र आइओएमका डीन पुनःबहाली खारेज माग गर्दै विधिवत् रूपमा वरिष्ठताका आधारमा नियुक्त डीनको निरन्तरतालगायत सातबुँदे मागका साथ त्रिवि शिक्षण अस्पतालमा आमरण अनशन बसेका छन् ।
पुनःबहाली हुनुभएका डीन प्रा डा शर्माले आफूले चार वर्षपछि न्याय पाएको जनाउँदै वरिष्ठताका आधारमा पनि आफू नै वरिष्ठ भएको जिकिर गरे । उनले भने,‘‘ मैले चार वर्षपछि न्याय पाएको छु, चार दिनका लागि भए पनि म नै अहिले आइओएमको डीन हुँ ।’’ राससको सहयोगमा


२४ पुष २०७४, सोमबार १४:३७ मा प्रकाशित