बहुलता बारे केही कुरा

के हो बहुलता ?
बहुलता नहुँदो हो त प्रकृति आफैंमा यति सुन्दर हुने थिएन होला । चाहे पहाड वा हिमालका चुचुरा हेरौं चाहे नदी वा बगरमा असरल्ल रहेका बहुरुपी शिलाहरु हेरौं, चाहे बनमा रहेका रंगी–बिरंगी बोटबिरुवा वा जनावर हेरौ अथवा हामी बाँचेको समाजको बिबिधता हेरौं, बहुलता नै यसको अस्तित्व र जीबनको आधार हो। बेला–बेला आकासमा देखा पर्ने इन्द्रेणी वा आकासमा टिलपिल गर्ने नौ लाख तारा भनौ, यिनीहरुले पनि प्रकृतिको यही बहुलतालाई झल्काइरहेका छन्। बहुलता समाजको यथार्थता हो।प्रकृतिको शास्वत पक्ष हो। वास्तवमा बहुलबादले पदार्थ र चेतना बीचको सम्बन्धलाई जनाउँछ ।अथवा मनोगत पक्ष र बस्तुगत पक्षका सबै अबयबहरुको अध्ययन गर्दछ।
हाम्रो समाजमा भएको के छ ?
हाम्रो नेपाली समाज राजनीतिक पूर्बाग्रहले यति नराम्ररी गाँजिएको छ कि फरक राजनीतिक दलप्रति आस्था हुने बित्तिकै उसलाई हेर्ने दृस्टीकोण नकारात्मक बनाईन्छ। उसको दोषी चस्माले अर्कोको सकारात्मक गुणहरु देख्नै सक्दैन। उ संगको सामाजिक सम्बन्ध पनि धेरै पातलो हुन् । उ नजिकको छिमेकी भएपनि उसंग खासै उठ बस गरिदैन। संगसंगै एकै संस्थामा काम गर्ने छ भने के कसरी उसलाई असफल बनाउन सकिन्छ भनेर ताना–बान। बुनिन्छ। एकै पार्टीका भए पनि अलग अलग गुट प्रति बफादार रहेछन् भने आफ्नो गुट समर्थकप्रति सामिप्यता देखाईन्छ तर मन नपर्ने गुटको रहेछ भने उसको खोइरो नै खनिन्छ।
यस्तो साँघुरो सोच हुनुको मतलब हो उसले बहुलतालाई मनै देखि आत्मसाथ गर्न सकेको छैन यस्तो प्रबृत्ति कार्यकर्ता तहमा मात्र नभई नेतृत्व तहमा पनि उत्तिकै छ। मानिस आफू स्वतन्त्र हुन खोज्छ तर अरुले स्वन्त्रतापूर्वक गरेको छनोटको कदर गर्न सक्दैन भने उ कसरी लोकतान्त्रिक वा गणतान्त्रिक हुन्छ? लोकतन्त्र वा गणतन्त्र कण्ठ पार्ने सुत्र, सत्तामा पुग्ने भर्यांग वा जप्ने मन्त्र त होइन नि! यो त चिन्तन, संस्कार र ब्यबहारमा प्रतिबिम्बित हुनु पर्ने हो। बहुलता, बहुलबाद वा बहुदलीय प्रणालीको सृजनात्मक रुपले प्रयोग हुन नसक्नुको मूल कारण व्यक्ति भित्र लुकेर रहेको पुरातनबादी सोच, सही शिक्षा वा ज्ञान नहुनु वा राम्रो संस्कारको विकास हुन नसक्नु नै हुन्।अझ अगाडि बढेर भन्नुपर्दा यो सामन्ती संस्कृतिकै उपज हो। सामाजिक र अन्तरवैयक्तिक सम्बन्ध मानबतावादी सिद्धान्तको धरातलबाट निर्देशित हुन नसक्नु कै उपज हो यो। कुराको खेती धेरै गर्ने तर ब्यबहारमा भने रुपान्तरित हुन नसक्ने कारणले नै यस्तो हुने गरेकोछ। हरेक व्यक्तिको बिचार, आस्था, मूल्य र मान्यतालाई दिलैदेखि स्वीकार गर्न नसक्ने खाली आफ्नै तालमा आफ्नै डम्फु मात्र बजाउने हो भने के को बहुलबाद बुझेको भन्नु खै?
हुनुपर्ने के हो ?
बहुलवादी सोच राख्नु भनेको वास्तवमा “हजारौं फूलहरूलाई फूल्न दिनुपर्दछ” भन्ने भनाईलाई आत्मसात गर्नु हो। वर्तमान सन्दर्भमा सामाजिक परिवर्तनको प्रमुख मुद्दा बनेको समावेशीकरणको अवधारणा पनि बहुलवादी सोचसंग मेल खान्छ। जाति, भाषा, धर्म, लिङ्ग, सम्प्रदाय, शिक्षा, वर्ग, राष्ट्रियता, भौगोलिकता आदि बीचको भिन्नतालाई फूलबारीका फूलहरूको विविधतासंग जोड्न सकिन्छ। जसरी बगैचाका थरिथरीका फूलहरूको फरक–फरकरुप र बासना हुन्छ त्यसैगरी सामाजिक संरचनाका प्रत्येक इकाईहरूको आधार नै सुगन्ध र सुन्दरता रहेको हुन्छ। हरेकको आफनै मौलिक विशिष्टता छ। को भन्दा को राम्रो, को भन्दा को ठूलो वा को भन्दा को महत्वपूर्ण भनि तुलना गर्न कठिन हुन्छ। किनभने हरेक जाति, संस्कृति, समुदाय वस्तु वा घटनाको सापेक्षित सम्बन्ध रहन्छ। प्रत्येक एक अर्काका परिपुरक हुन्छन् ।
हिमालमा बस्ने भोटेले जान्ने सीप तराईको मुसहरसंग नहुन सक्छ भने पूर्वको धिमालले गाउने गीत पश्चिमको थारुले नगाउन सक्दछ। बाँसुरीको धुनको मिठास नरसिंहाले नदिन सक्छ। तितो करेलाले दिने स्वाद काउलीले दिन सक्दैन। अमिलो भन्दैमा कागती र तामाको स्वाद एउटै हुँदैन ।
परिवार, संगठन, समुदाय र संस्था, यी सबै सामाजिक संरचनाका इकाईहरू हुन्। समाजमा रहेको विभिन्नता र विशिष्टताहरू यी प्रत्येक क्षेत्रहरूमा प्रतिविम्वित हुने गर्दछन् । यिनीहरूबीचको पारस्परिक सम्बन्ध र एकताको प्रक्रियाबाट नै समाज र संगठनको सम्वृद्धी सम्भव हुन्छ । थरीथरिका फूलहरु उनेर बनाएको मालाको रुप नै आर्कै हन्छ। दाल भन्दा क्वांटी मीठो हन्छ। थरीथरिका बुट्टावाला ढाका कपडाको सन्दरता नै बेग्लै हन्छ। एउटै बुबा–आमाका जुम्ल्याहा छोराछोरीबीच त सोच, बिचार र विश्लेषण गर्ने कुरामा ठूलो भिन्नता हुन सक्छ भने धेरै कुराको भिन्नता राख्ने व्यक्ति व्यक्तिबीच समाजमा मत–मतान्तर हुनु, फरक–फरक दृष्टिकोण, आस्था, विश्वास र मूल्य–मान्यता हुनु कुनै आश्चर्यको बिषय होइन। यही बहुलतालाई स्वीकार गर्न सक्नु नै एउटा असल नेता वा अगुवाको महानता हो। संगठनमा आफ्नोभन्दा फरक रूपमा प्रस्तुत हुने बिचारहरूलाई उच्च सम्मान र कदर गर्न सक्नुपर्दछ। “म पनि गलत हुन सक्दछु” भन्ने सोचका साथ फरक–फरक बिचार र दृष्टिकोणहरूबीच अन्तरक्रियात्मक छलफल हुन दिनुपर्दछ । “वादे वादे जायते तत्व वोध” भनेझैं बहुलताले प्रश्रय पाउनु भनेको उचित बिचारको कदर गर्ने प्रक्रिया मात्र नभई लोकतान्त्रिक पद्धति र संस्कृतिको प्रबर्द्धन गर्नु पनि हो । तर यसका लागि मानवीयतालाई दार्शनिक आधार बनाउनै पर्दछ।
२५ पुष २०७४, मंगलवार ००:२९ मा प्रकाशित