अनसन तोड्न डा.केसीलाई बारको आग्रह, गलत पद्धती स्थापित नगर्न ध्यानाकर्षण

दूरबिन नेपाल     २८ पुष २०७४, शुक्रबार ११:५२    

Anil Baral Real Estate

काठमाडौं : कानून व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएसनले डा. गोविन्द केसीलाई आमरण अनसन नबस्न आग्रह गरेको छ । अनसन बसेर न्यायालयमाथि दबाव दिने पद्धती स्थापित गरिन खोज्नु गलत भएको बारको निष्कर्ष छ ।

डा. केसीको अनसन, अदालतको अवहेलना मुद्दा र सर्वोच्चको आदेशबारे आफ्नो धारणा सार्वजनिक गर्दै बार एशोसिएसनले यस्तो निष्कर्ष निकालेको हो ।

अदालतको आदेश वा फैसलालाई लिएर स्वच्छ टिकाटिप्पणी गर्न पाइने भएपनि व्यक्तिगत लान्छना लगाउनु तथा अशिष्ट भाषा प्रयोग गर्नु गलत भएको विज्ञप्तिमा उल्लेख छ । आफू अनुकुल आदेश नआउँदा प्रधानन्यायाधीशको राजीनामा माग्दै जाने हो भने प्रक्रिया र पद्दतीको विकास हुनेतर्फ सचेत गराएको छ । ‘आफ्नो अनुकुलतामा फैसला आदेश नभए प्रधानन्यायाधीशको राजीनामा माग गर्ने, माग पूरा नहुन्जेलसम्म आमरण अनसन जारी राख्ने जस्ता विषयबस्तुले प्रश्रय पाउने हो भने र त्यसलाई अन्य पक्षले समर्थन गर्दै अगाडि बढ्ने हो भने कुन विषयबस्तु कुन ठाउँमा उठाउने, कसले उठाउने र उपचार पाउने माध्यम के हो भन्ने विषयमा जटिलता मात्र देखिने नभई गलत प्रक्रिया र पद्दतीको विकास हुनेतर्फ ध्यानाकर्षण गराइन्छ ,’विज्ञप्तिमा उल्लेख छ ।

बारले कुनै मुद्धामा न्यायाधीशविरुद्ध उजुरी गर्नु परे न्याय परिषद् जानुपर्ने कानुनी व्यवस्था पनि स्मरण गराएको छ ।

उजुरी परेमा न्याय परिषद्ले अध्ययन गर्ने भन्दै भनेको छ, ‘उक्त कानुनी व्यवस्थाको परिपालना गरी स्वस्थ न्यायपालिकाको गरिमा कायम राख्न अनुरोध गरिन्छ ।’


२८ पुष २०७४, शुक्रबार ११:५२ मा प्रकाशित