अमेरिकी राष्ट्रपतिको बेलायत भ्रमण रद्द

दूरबिन नेपाल     २८ पुष २०७४, शुक्रबार १५:५१    

Anil Baral Real Estate

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्वनिर्धारित बेलायत भ्रमण रद्द गरेकाछन्। अमेरिकाको बलियो साझेदार देश बेलायतको बहुप्रतिक्षित राजकीय भ्रमण रद्द भएको जानकारी ट्वीट मार्फत दिएका ट्रम्पले भ्रमण रद्द गर्नुको कारणलाई लण्डनमा बनेको नयाँ राजदूतावास भवनको उद्घाटनका लागि रिबन काट्न आफूलाई खासै उत्साह नभएको बताए पनि भित्री कारण भने लण्डनमा उनको बिरोधमा हुन सक्ने संभावित बिरोध प्रदर्शन हुनसक्ने बताइएकोछ। ट्रम्पको भ्रमण सार्वजनिक हुने बित्तिकै बेलायती संसदमा समेत भ्रमणको बिरोध भएको थियो भने केही लेवर सांसदहरुले उनलाई प्रवेश नै दिन नहुनेसम्म भनेका थिए। यस अतिरिक्त इरानसंगको सम्झौक्ता रद्द गर्ने ट्रम्पको चेतावनीलाई दुईदिन अघिमात्र यूरोपियन यूनियनले एकमतले त्यसो नगर्न सुझाएका थिए। जेरुसेलमलाई इजरेली राजधानीको मान्यता दिने विषयमा ट्रम्प प्रशासनको निर्णय बिरुद्द पनि अमेरिकी मित्रशक्तिका रुपमा परिचित सबै यूरोपियन देशहरुले संयुक्त राष्ट्रसंघमा अमेरिकाको बिरोधमा मत दिएका थिए।यसैबीच ट्रम्पले हालै सांसदहरुसंग आप्रवास मामिलामा ह्वाइट हाउसमा भएको एक बैठकमा हैटी, एलसाल्भाडोर लगाएत अफ्रिकी मुलकहरुप्रति उनले प्रयोग गरेको भनिएको अपमानजनक भाषालाई लिएर मानवअधिकारवादी लगाएतले समेत उनको कडा बिरोध गर्न शुरु गरेकाछन्। ट्रम्प आफैंले भने समाचारहरुमा आए जस्तो अशिष्ट भाषा प्रयोग नगरेको बताएकाछन् । यो ताजा बिवादले ट्रम्पलाई रक्षात्मक बनाइदिएको छ।

‘सायद आगामी महिना हुने भ्रमणका दौरान उनलाई लण्डनमा सहज र हार्दिक स्वागत गरिने छैन भन्ने ट्रम्पले बुझिसकेको हुनुपर्छ’ लण्डनका मेयर सादिक खानको पछिल्लो प्रतिक्रियाले ट्रम्पको भ्रमण रद्द हुनुको कारण प्रष्ट बनाएको छ। जेसुकै कारणले होस्, अमेरिकी राष्ट्रपतिको बेलायत भ्रमण रोकिनुले ट्रम्प प्रशासनको बेलायत सहित यूरोपियन मित्रशक्तिसंगको सम्बन्धमा चिसोपना आएको अनुमान लगाउन कठिन छैन।


२८ पुष २०७४, शुक्रबार १५:५१ मा प्रकाशित