प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्न सहमति खोज्ने प्रयास भइरहेको छ – प्रधानमन्त्री

दूरबिन नेपाल     २८ पुष २०७४, शुक्रबार १५:५०    

Anil Baral Real Estate

धनगढी, २८ पुस : प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश प्रमुख तोक्ने र प्रदेशको अस्थायी राजधानी कहाँ बनाउने भन्ने विषयमा दलहरुबीच सहमति खोज्ने प्रयास गरिरहेको बताएका छन ।

नेपाल प्रेस युनियन कैलालीले शुक्रबार धनगढी विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले भने , “सहमति खोज्ने प्रयास आफूले गरिरहेको छु तर सहमति जुट्ला जस्तो छैन ।”

उनले काठमाडौँ फर्केर आफूले यी विषयमा पुनःसहमति जुटाउन पहल गर्ने र सहमति जुट्न नसके सरकारले प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने जानकारी दिए ।

प्रधानमन्त्री देउवाले राष्ट्रियसभाको चुनाव गराएर मात्र सरकार छोड्नुपर्ने परिस्थितिका कारण आफ्नो नेतृत्वको सरकार छोड्नमा ढिलाइ भएको स्पष्ट पारे । उनले भने, “आफू जतिसक्दो चाँडो सरकार छोड्न तयार रहेको छु ।”

नेपाली काँग्रेसका सभापतिसमेत रहेमा देउवाले सरकारबाट बाहिरिएपछि काँग्रेसले रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए ।

 

(रासस)


२८ पुष २०७४, शुक्रबार १५:५० मा प्रकाशित