राष्ट्रियसभाको निर्वाचनमा २१ दल दर्ता : आयोग

काठमाडौँ : राष्ट्रियसभाको निर्वाचनका लागि २१ राजनीतिक दल दर्ता भएको निर्वाचन आयोगले जनाएको छ । आयोगले राजनीतिक दललाई १५ दिनको समय दिएर दल दर्ताका लागि आह्वान गरेको थियो ।
राष्ट्रियसभाका लागि यही पुस १४ देखि २८ गतेसम्म दिइएको दल दर्ता समयमा २१ वटा पार्टीले दर्ता गराएको आयोगका प्रवक्ता नवराज ढकालले बताए । उनका अनुसार नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, संघीय समाजवादी फोरम नेपालसहित २१ दलले दल दर्ता गराएका हुन् । यसैगरी नेपाल संघीय समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, बहुजन शक्ति पार्टी, नेपाल परिवार दल, राष्ट्रिय जनमोर्चा, नेपाल नौलो जनवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक), विवेकशील साझा पार्टीसमेत रहेका छन् ।
यस्तै राष्ट्रियसभाको निर्वाचनका लागि दल दर्ता गर्नेमा नयाँ शक्ति पार्टी नेपाल, नेपाल दलित पार्टी, राष्ट्रिय जनता पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, बहुजन समाजवादी नेपाल, गान्धिवादी पार्टी नेपाल, नेपाली जनता दल र राष्ट्रिय मुक्ति आन्दोलन नेपाल पार्टीलेसमेत रहेका छन् ।
नेपालको संविधानको धारा २६९ बमोजिम आयोगमा दर्ता कायम रहेका राजनीतिक दलले निर्वाचन प्रयोजनका लागि संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४८ वा ४९ बमोजिम दल दर्ता गराउनुपर्ने अनिवार्य हुन्छ ।
२८ पुष २०७४, शुक्रबार १७:४६ मा प्रकाशित