हरियो वनको नाम कमाउने काम हरियो वन जस्ले गर्न सक्यो अतिक्रमण उस्कै धन् अतिक्रमणको चपेटामा रोल्पाका हरियो वन्

दूरबिन नेपाल     २९ पुष २०७४, शनिबार ०५:००    

Anil Baral Real Estate

उमा केसी
रोल्पा, २९ पुस
रोल्पाका अधिकांश सामुदायिक वन र सरकारी वन अतिक्रमणको चपेटामा परेका छन् । व्यक्तिगत प्रयोजनका लागि घरटहरा बनाउनेदेखि सरकारी निकायले समेत वन क्षेत्रको प्रयोग जथाभावी गरेपछि अतिक्रमणको समस्या बढेको छ । अधिकांश वन क्षेत्रभित्र व्यक्तिगत टहरा निर्माण गरिएका छन भने हाट बजार, सेना प्रहरीको ब्यारेक, टेलिकमको टावरदेखि एफएम रेडियो टावर समेत निर्माण गएपछि जिल्लाको ठूलो वन क्षेत्र अतिक्रमणमा परेको हो ।
दक्षिण रोल्पाका झेनाम, दुविडाँडा, मसिना जौलिपोखरीका विभिन्न वन क्षेत्र अतिक्रमण गरी ७९ घरटहरा बनाइएका छन् । ती घरटहरा बनाउँदा करिब दुई हेक्टर क्षेत्रफल वन अतिक्रमण भएको जिल्ला वन कार्यालयले जनाएको छ ।
यसैगरी साविक मसिना गाविसमा नेपाली सेनाको गणले करिब १३ हेक्टर वन क्षेत्र ओगटेको छ । त्यस्तै साविक नुवागाउँको दहवन, गैरीगाउँको टिला र खुमेलको सातदोबाटोमा पनि नेपाली सेना र नेपाल प्रहरीको गुल्म तथा आधार शिविरका लागि ३० हेक्टरभन्दा बढी वन क्षेत्र लिइएको छ ।
साविक बुढागाउँ गाविसमा पर्ने वन क्षेत्रमा समेत मन्दिर, स्वास्थ्य भवन र व्यक्तिगत टहरा निर्माण गरि आधा हेक्टर वन क्षेत्र अतिक्रमण गरिएको छ भने नेपाल टेलिकमको र जिल्लामा सञ्चालित सामुदायिक रेडियोका टावरका कारण ठूलो वन क्षेत्र अतिक्रमित भएको जिल्ला वन कार्यालयले जनाएको छ ।
वन क्षेत्रभित्र घरटहरा बनाउन तथा खोरिया फडानी गर्नु वन ऐन विपरित भएपनि सम्बन्धित निकायको ध्यान नपुग्दा वनक्षेत्र नासिंदै गएको र अतिक्रमित सामुदायिक वनको अनुगमन गरी यथाशिघ्र समस्या समाधानका लागि सम्बन्धित निकायमा दवाव सिर्जना गरिुपर्ने सामुदायिक वन उपभोक्ता महासंँघ रोल्पाका अध्यक्ष निमकुमारी सिंहले बताउनु भयो । यता जिल्ला वन कार्यालयसँग जिज्ञाशा राख्दा, वन अतिक्रमणको समस्या जिल्लाको पुरानो समस्या भएको यसको समाधानको लागि उपभोक्ता समुह, स्थानीय प्रशासन सबै लाग्नु पर्ने जिल्ला वन अधिकृत भीम कालीकोटेले बताउनु भयो ।
जिल्लाको कूल क्षेत्रफल एक लाख ८७ हजार १५० हेक्टरमध्ये ५० प्रतिशत बढी वन क्षेत्रले ढाकेको छ । कूल वन क्षेत्रमध्ये ५० प्रतिशत बढी वन सामुदायिक वनका रुपमा हस्तान्तरण गरिएको छ ।
यसैगरी जिल्लाको ४३ हजार ४२२ हेक्टर क्षेत्रफल वन सरकारद्वारा व्यवस्थित वनका रुपमा संरक्षण हुंदै आएको छ । धार्मिक वन, कबुलियती वन र निजी वनका रुपमा जिल्लामा करिब ३३० हेक्टर वनसमेत विभिन्न व्यक्ति, धार्मिक संस्था तथा समूहलाई हस्तान्तरण गरिएको जिल्ला वन कार्यालयले जनाएको छ । रासस


२९ पुष २०७४, शनिबार ०५:०० मा प्रकाशित