प्रचण्ड भन्छन : शक्तिशाली कम्युनिष्ट केन्द्र बनाउन एमाले – माओवादी एकता

दूरबिन नेपाल     २९ पुष २०७४, शनिबार १६:१४    

Anil Baral Real Estate

काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शक्तिशाली कम्युनिष्ट केन्द्र बनाउने लक्ष्यका साथ नेकपा एमाले र माओवादी केन्द्रको बीचमा पार्टी एकता गर्न लागिएको बताएका । राजनीतिक स्थायित्वसहितको आर्थिक विकासका लागि वाम गठबन्धनले असाध्यै ठूलो मेहनत गर्नुपर्ने बताउँदै उनले लामो समयदेखिको नेपाली जनताको अपेक्षालाई सम्बोधन गर्न पनि राजनीतिक स्थायित्व जरुरी रहेको बताए । देशभक्त गणतान्त्रिक मञ्चले शनिबार आयोजना गरेको स्रष्टा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली जनताको अपेक्षालाई सम्बोधन गरेर मुलुकलाई समृद्ध बनाउनु र नेपाली जनतालाई समृद्धिको मार्गमा लैजानु नै आजको प्रमुख कार्यभार भएको स्पष्ट पारे ।

संविधान कार्यान्वयन गर्ने र तीनवटै तहको निर्वाचन सम्पन्न गर्ने मुलुकको प्रमुख दायित्वलाई आफूहरुले सहजरुपमा सम्बोधन गरिसकेको भन्दै अध्यक्ष दाहालले समृद्ध नेपाल बनाउने युगको शुरुवात् भएको पनि बताए । “संविधान निर्माण भए पनि कार्यान्वयन हुँदैन कि, नेपाली जनताले पाएको अधिकार संस्थागत हुँदैन कि भन्ने नेपाली जनतामा ठूलो चिन्ता थियो, त्यो चिन्ता दूर भएको छ । राजनीतिक स्थायित्वको दिशामा मुलुक केन्द्रित भएको छ”, अध्यक्ष दाहालले भने ।


२९ पुष २०७४, शनिबार १६:१४ मा प्रकाशित