कस्सियो पौडेल समुह : तत्काल केन्द्रीय समिति बैठकको माग

दूरबिन नेपाल     १ माघ २०७४, सोमबार १३:२६    

Anil Baral Real Estate

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समुहले तत्काल केन्द्रीय समिति बैठक बोलाउन माग गरेको छ । वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवासामु संसदीय बोर्ड र कार्यसम्पादन समिति खारेज गर्न माग गरेका छन् । प्रधानमन्त्री समेत रहेका देउवाले सोमबार पार्टीका प्रभावशाली नेताहरुलाई पार्टीभित्रको आन्तरिक र राष्ट्रिय राजनीतिका बारेमा छलफल गर्न बोलाएका थिए । सो बैठकमा पौडेलले भने पार्टी केन्द्रीय कार्यसमितिको बैठक तत्काल बोलाउन माग गरेको बताए । ‘पार्टी सभापतिजीसँग कुरा भएको छ’ कांग्रेस वरिष्ठ नेता पौडेलले बैठकबाट बाहिरिएपछि भने, ‘मैले विधान विपरीत भएकाले संसदीय बोर्ड र कार्यसम्पादन समिति दुवै खारेज गर्न माग पनि गरेको छु ।’ पार्टीमा सुधार जरुरी रहेको भन्दै पौडेलले त्यसको सुरुवात समिति खारेजीबाट हुनुपर्ने बताए । प्रदेश र प्रतिनिधिसभा निर्वाचनपछि पौडेल समूहले संसदीय बोर्ड र कार्यसम्पादन समिति खारेजीको माग गर्दै आएको छ ।

कांग्रेसको विधानअनुसार संसदीय बोर्ड बढीमा १४ सदस्यीय हुनेछ । तर, अहिले २४ सदस्यीय छ । यसैगरी कार्यसम्पादन समितिमा पदाधिकारीसहित २९ जना छन् ।

यसअघि आइतबार पौडेलसहित कृष्ण सिटौला र अर्जुननरसिंह  केसी बैठक बसेर सभापति देउवामाथी दबाब दिने निर्णय गरेका थिए ।

प्रवक्ता विश्वप्रकाश शर्माले भने सोमबारको बैठकमा राष्ट्रियसभा निर्वाचनका साथै प्रदेश प्रमुख तथा प्रदेशको अस्थायी मुकाम तोक्नेबारे छलफल भएको जानकारी दिए ।

कांग्रेसले राष्ट्रियसभा निर्वाचनको तयारीसँगै केन्द्रीय समिति बैठक बोलाउने तयारीसमेत गरिहेको छ । हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीले अपेक्षा गरेअनुसार परिणाम नआएपछि समीक्षा गर्न भन्दै पार्टीमा केन्द्रीय समिति बैठक बोलाउन माग भइरहेको छ ।

छलफलमा प्रधानमन्त्री एवं पार्टी सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालगायत सहभागी थिए ।


१ माघ २०७४, सोमबार १३:२६ मा प्रकाशित