सुदूरपश्चिम खप्तड गोल्डकपको उपाधि आर्मीलाई

दूरबिन नेपाल     १ माघ २०७४, सोमबार १७:२१    

Anil Baral Real Estate

धनगढी, १ माघ / यहाँ भएको ‘नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको उपाधिमाथि विभागीय टोली त्रिभुवन आर्मी क्लबले कब्जा जमाएको छ ।
स्थानीय रङ्गशालामा आज भएको फाइनल खेलमा अर्को विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई आर्मीले विजय प्राप्त गरेको थियो । निर्धारित समयमा कुनै पनि टोलीबाट गोल हुन नसकेपछि खेलको नतिजा पेनाल्टी सुटआउटमार्फत् निकालिएको थियो । आर्मीले एपिएफलाई पेनाल्टी सुट आउटमा चारविरुद्ध पाँच गोलले पराजित गरेको हो । उपाधिसँगै आर्मीले रु ११ लाख ११ हजार १११ सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ ।
एपिएफका सुदीप सिन्ग्राकारले हानेको प्रहार खम्बामा लागेर फर्किएपछि एपिएफले उपविजेतामा चित्त बुझाउन परेको हो । एपिएफले रु पाँच लाख ५५ हजार ५५५ मा चित्त बुझाएको छ । उपाधि जितेपछि प्रतिक्रिया दिँदै आर्मीका प्रशिक्षक नवीन न्यौपानेले लगातार दुई खेल खेल्दा विपक्षीले राम्रो खेले पनि पेनाल्टीमा भाग्यले साथ दिएका कारण उपाधि चुमिएको बताउनुभयो । एपिएफएका प्रशिक्षक रत्नकाजी महर्जनले राम्रै खेले पनि पाएका केही मौका चुकाउँदा पेनाल्टीमा खेल गुमाइएको बताए ।
प्रतियोगिता अवधिभर आर्मीका कप्तान भरत खवासले उत्कृष्ट खेलाडी हुँदै पुरस्कारस्वरुप यामाहा मोटरसाइकल पाए । यस्तै उत्कृष्ट गोलकिपर आर्मीका विकेश कुथु, उत्कृष्ट डिफेन्डर एपिएफका टोप विष्ट, उत्कृष्ट फरवार्ड आर्मीका सन्तोष तामाङ र राइजिङ प्लेयर सुदूरपश्चिम–११ का गोलकिपर अमानत शेखलाई घोषणा गरिएको छ । सबै विधाका उत्कृष्ट खेलाडीले जनही रु १५ हजार पुरस्कार पाएका छन् ।
उपाधि विजेता र उपविजेतालाई प्रतियोगिता समापन समारोहमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले पुस्कार प्रदान गर्नुभयो । गत पुस २१ गतेदेखि शुरु भएको प्रतियोगितामा ए डिभिजनका १२ टोलीको सहभागिता थियो ।
पुरस्कार राशि दोब्बर
सर्वाधिक पुरस्कार राशिको सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको पुरस्कार राशिमा अर्को वर्ष झन्डै दोब्बरले वृद्धि हुने घोषणा गरिएको छ । तेस्रो संस्करणको खप्तड गोल्ड कपको विजेतालाई रु २१ लाख पुरस्कार दिइने आयोजक सुदूरपश्चिम ११ स्पोर्टस क्लबका अध्यक्ष सुरेश हमालले समापन समारोहमा घोषणा गरे। रासस


१ माघ २०७४, सोमबार १७:२१ मा प्रकाशित