फोर्टवेण्ड नेप्लिज लायन्स क्लबको चार्टर नाइट

सुजन पण्डित, ह्युस्टन     २ माघ २०७४, मंगलवार १४:४७    

Anil Baral Real Estate

बृहत्तर ह्युस्टनका नेपालीहरुको सक्रियतामा हालसालै मात्र गठन भएको फोर्टवेण्ड नेप्लिज लाएन्स क्लबले सबभन्दा नयाँ लाएन्स क्लबको रुपमा मान्यता पाएको छ। स्थापनाको पहिलो ‘चार्टर नाइट’ एउटा भव्य समारोहकाबीच नेपाली साँस्कृतिक कार्यक्रम सहित आइतबार साँझ स्थानीय ताजहलमा सम्पन्न भएकोछ। लाएन्स क्लब इन्टरनेशनलका निवर्तमान अन्तराष्ट्रिय निर्देशक सन्जय खेतानको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा ग्रेटर ह्युस्टनका ७५ जना भन्दा बढीले संस्थापक अर्थात चार्टर सदस्यको हैसियतमा सहभागिता जनाएका थिए।


ह्युस्टनमा नेपालीहरुको संलग्नतामा गठित पहिलो लायन्स क्लबको चार्टर नाइटमा सहभागी हुनकै लागि नेपाल देखि आएका खेतानले ह्युस्टनका नेपाली समुदायलाई लायन्स क्लब गठन गरेर संसार कै सबभन्दा ठूलो समाजिक सेवामा समर्पित अन्तराष्ट्रिय संस्थामा संलग्न भएकोमा बधाई दिएका थिए। ‘लायन्स हुनु भनेको केही गर्ने आत्मविश्वास सहित शुरु गरेको काम पुरा गरि छोड्ने प्रतिबद्धता जनाउनु पनि हो’, खेतानले विशेष जोडदिंदै भने। ‘लायन्स क्लबमा आबद्दताले नेपालीहरुलाई आफ्नो समुदाय भन्दा बाहिरको सम्पर्क र सहकार्यले अमेरिकी मुलधारको सामाजिक सेवातिर उन्मुख गराउने र यसले पछिल्लो पिंढीलाई पनि मद्दत गर्दछ’, खेतानने बताए। नेपाली समुदायले ह्युस्टनमा पशुपति मन्दिर सहितको सामुदायिक भवनको लागि संरचना खरिद गरेकोमा समुदायलाई धन्यवाद दिंदै देश बाहिर बसेर पनि नेपाली भाषा, धर्म, संस्कृति र गीत-संगीतको जगेर्ना गर्ने काममा सक्रिय रहेकोमा खुसी प्रकट गरे। नेपालमा पर्यटन प्रबर्द्धनका लागि सद्भावना दूत समेत रहेका खेतानले सगरमाथाको देश, प्राकृतिक सुन्दरताले भरिपूर्ण देश नेपाल भ्रमण गर्न अमेरिकी फेलो लायन्सहरुलाई अनुरोध समेत गरे।

लाएन्स क्लब इन्टरनेशनलका अन्तराष्ट्रिय निर्देशक Sam Lyndsey, निडभिल लायन्स क्लबका प्रथम उपाध्यक्ष Susan Wallis, डिष्ट्रिक्ट गभर्नर Jerry Gilbert, पूर्व अन्तराष्ट्रिय निर्देशक Mike Butler, Joe Al Picone, लगाएत वर्तमान र पूर्व पदाधिकारीहरुको सक्रिय सहभागिता रहेको कार्यक्रममा फोर्टवेण्ड नेप्लिज लायन्सका अध्यक्ष मधुकर अमात्यले अध्यक्षका हैसियतमा मन्तव्य सहित सबै सदस्यहरुलाई नवगठित लायन्स क्लबमा स्वागत गरेका थिए। क्लबका सचिव विष्णु नेपालद्वारा संचालित कार्यक्रमको शुरुवात अमेरिकी र नेपाली राष्ट्रियगानब सहित नेपाली संस्कृति झल्कने गीत-संगीत सहितको छोटो साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो।

‘मलाई आँखैको परेलीमा गाजल लाउन मनपर्छ
किनिदेउ न साईंलादाई
मलाई दुईचुल्ठी बाटेर फूल लाउन मनपर्छ
टिपीदेउ न साईंलादाई
मलाई आफ्नै संस्कृति प्यारो, आफ्नै भाषा भेष
प्यारो भन्दा प्यारो लाग्छ मलाई मेरै देश’ बोलको गीतमा ज्योती कुँवरले नाचिरहँदा नेपालीहरु मात्र होइन अमेरिकनहरु पनि ताली पिट्दै, जीउ मर्काउँदै नेपाली संगीतमा झुलिरहेकाथिए। कृति सापकोटा, साई लामा लगाएतका अन्य स्थानीय नेपाली कलाकारहरुले नेपाली संगीत पस्किरहँदा नेपालीहरु संगसंगै अमेरिकीहरु पनि संगीतको तालमा निकै रमाइरहेका देखिन्थे। नेपाली समुदाय र स्थानीय अमेरिकनहरुको समेत सहभागिता भएको यस्ता कार्यक्रमहरुले नेपाली भाषा/संस्कृतिको प्रबर्द्धनमा निकै सघाउ पुर्याउने त छँदैछ, यस बाहेक नयाँ पुस्ताका नेपालीहरुलाई अमेरिकी मूलधारमा समाहित हुन पनि मद्दत गर्छ भन्नेमा निकै विश्वस्त देखिन्थे, नव गठित फोर्टवेण्ड नेप्लिज लाएन्स क्लबका सचिव विष्णु नेपाल। ह्युस्टनका समाजसेवी एवं आदरणीय पत्रकार तारादाईलाई पनि यस खालको कार्यक्रमले नेपाली र अमेरिकी सांस्कृतिक ‘इन्टिग्रेसन’ मजबुत बनाउँछ भन्ने लाग्दोरहेछ। कार्यक्रममा सहभागी प्राय सबै नेपाली व्यवसायी, पेशाकर्मी एवं विद्यार्थीहरुको उत्साह फोर्टवेण्ड नेप्लिज लायन्सका लागि सुखद शुरुवातको रुपमा देखिएकोछ।

तस्वीर: सौगात पण्डित, Saugat Studios


२ माघ २०७४, मंगलवार १४:४७ मा प्रकाशित