सिरियाबारे हुने भियना वार्तामा विद्रोही सहभागी हुने सिरियाली शरणार्थी स्वदेश फर्किने वातावरण छैन : राष्ट्रसंघ

दूरबिन नेपाल     ३ माघ २०७४, बुधबार ०३:५८    

Anil Baral Real Estate

बेरुत, लेबनान, २ माघ / संयुक्त राष्ट्रसङ्घको पहलमा अष्ट्रियाको राजधानी भियनामा हुने सिरियाको सङ्कट समाधानका लागि गरिने नयाँ वार्तामा विद्रोहीले सहभागिता जनाउने मङ्गलबार सञ्चारमाध्यमले जनाएका छन् ।
भियनामा कहिले वार्ता गर्ने निर्णय सार्वजनिक नभैसकेको अवस्थामा विद्रोहीले भने वार्तामा आफ्नो समूहले सहभागिता जनाउने बताएको हो ।
सिरियाको शान्तिवार्ता आयोगको कार्यालयले आज एक विज्ञप्ति जारी गरी विद्रोहीले नयाँ चरणको वार्तामा सहभागिता जनाउने बताएको छ । भियनामा हुने वार्ताको मिति छिट्टै तय गरिने कार्यालयले बताएको छ ।
यसैबीच रसियाको समर्थन प्राप्त सिरियाली राष्ट्रपति बसर अल असदले पनि यही जनवरीको २९ र ३० गतेका लागि शान्ति सम्मेलनको घोषणा गर्नुभएको छ । असद सरकारको सहयोगी इरान र विद्रोहीको निकट मानिने टर्कीले सहआयोजक रहेको सम्मेलनले द्वन्द्वपछिको सिरियामा संविधान निर्माणका लागि छलफल गर्ने बताइएको छ ।
सिरियाबारे पछिल्लो वार्ता डिसेम्बरमा भएपनि यहाँ विगत सात बर्षदेखि जारी द्वन्द्व अन्त्यका लागि खासै उपलब्धि हुन सकेको थिएन । यस पहिले वार्ता स्वीट्जरल्याण्डमा नै जनवरी २१ देखि हुने अपेक्षा गरिएको थियो ।
सिरियामा सन् २०११ देखि शुरुभएको द्वन्द्वका कारण करिब तीन लाख २० हजार नागरिकको मृत्यु भएको छ भने यहाँको झण्डै आधा जनसङ्ख्या विस्थापित बनेको छ ।

सिरियाली शरणार्थी स्वदेश फर्किने वातावरण छैन : राष्ट्रसंघ

सिरियाली शरणार्थीले घर फर्किन चाहेको भए पनि उनीहरुलाई स्वदेशमा रहन सक्ने सुरक्षित वातावरण अझै बन्न नसकेको संयुक्त राष्ट्रसंघले जानकारी दिएको छ ।
राष्ट्रसंघका एकजना अधिकारीले सोमबार भनेका छन् कि सिरियाली शरणार्थीहरु अधिकांश लिबिया र अरु कतिपय छिमेकी देशहरुमा बसिरहेका छन् र उनीहरु जतिसक्दो चाँडै घर फर्किन चाहेका छन् ।
तर उनका अनुसार ती शरणार्थीले घर फर्किएर सुरक्षाको अनुभूति गर्न पाउने अवस्था अझै बनेको छैन, किनभने यहाँका आन्तरिक शरणार्थीहरुले पनि सुरक्षित वातावरण पाउन सकेका छैनन् ।
संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी उच्च आयोगका एकजना अधिकारी स्कट क्रेगले भनेका छन्, उक्त आयोगले यो कुराको निक्र्यौल निकालेको छ कि अहिले नै सिरियाली शरणार्थी घर फर्किन पाउने अवस्था एवम् वातावरण बनेको छैन ।
गत वर्ष मात्र पनि केही शरणार्थीहरु सिरिया फर्किएका थिए तर पनि उनीहरु पनि सुरक्षित रहन सकेका छैनन् । त्यही आधारमा नै हामीले अझै सिरियाली शरणार्थीलाई स्वदेश फर्किने आधार नबनेको निष्कर्ष आपूmहरुले निकालेको उनीहरुले जनाएका हुन् ।
क्रेगले आफूहरुले अहिले पनि सिरियाका विभिन्न स्थानमा द्धन्द्ध प्रभावित नागरिकलाई सहयोग गरिरहेको तर त्यस क्रममा पनि राष्ट्रसंघले धेरै लडाईं लड्नु परिरहेको बताए ।
स्वदेश र विदेशमा ठूलो संख्यामा सिरियाली शरणार्थी बसेका छन् । यहाँ लामो समयदेखि जारी हिंसाका कारण चार लाखभन्दा बढी नागरिकले ज्यान गुमाएका छन् ।
हिंसा अझै रोकिएको छैन । यहाँ गृहयुद्ध जारी छ । जसले गर्दा यहाँका लाखौँ लाख नागरिक स्वदेश र विदेशमै शरणार्थीका रुपमा बाँच्नु परिरहेको अवस्था छ ।रासस-एएफ्पी-सिन्ह्वा


३ माघ २०७४, बुधबार ०३:५८ मा प्रकाशित