अमेरिकी संघीय सरकारको कामकाज ठप्प हुने संघारमा

दूरबिन नेपाल     ६ माघ २०७४, शनिबार ०२:५१    

Anil Baral Real Estate

आज मध्यरातसम्ममा संघीय निकायहरूलाई आवश्यक खर्च उपलब्ध गराउने सम्बन्धी विधेयक पारित हुन नसके अमेरिकी संघीय सरकारका अत्यावश्यकीय सेवाका बाहेकका सबै सेवाहरु बन्द हुने संभावना बढेकोछ। यस्तो अवस्था आएमा संघीय निकायका लाखौ कर्मचारीहरु घरमै बस्नेछन्। अमेरिकी माथिल्लो सदन सिनेटबाट उक्त विधेयक पारित गर्न आवश्यक ६० सिनेटरहरुको समर्थन रिपब्लिकनहरूसँग छैन। सो विधेयक सिनेटबाट पास गराउन कम्तिमा १० डेमोक्र्याट सिनेटरहरुको समर्थन आवश्यक छ। समयसीमा सकिनै लाग्दा सहमति कायम गर्ने अन्तिम प्रयास भइरहेका छन्।राष्ट्रपति ट्रम्पले ट्विटरमा सहमतिका लागि विपक्षी नेतासंग ह्वाइटहाउसमा  भएको प्रारम्भिक बैठक सकारात्मक प्रतिक्रिया दिएपनि सरकार ठप्प हुने अवस्था टरिनसकेको छनक उनको पछिल्लो ट्वीटले संकेत गरेको छ।

डेमोक्र्याटहरूले यस बिवादको समाधानका लागि DACA भनेर चिनिने सानै उमेरमा गैरकानूनी रूपमा अमेरिका पुगेका आठ लाख बालबालिकाहरुको (Deferred Action for Childhood Arrivals (DACA) भविष्यका बारेमा छिनोफानो हुनुपर्ने शर्त राखेकाछन्।ट्रम्प प्रशासन भने तिनीहरुका काम गर्ने र अध्ययन गर्ने अधिकारलाई आगामी मार्च महिनाबाट समाप्त गर्न चाहिरहेकोछ। ती बालबालिकाहरुलाई वैधानिकता दिनुपर्ने पक्षमा धेरै रिपब्लिकनहरू भएपनि उनीहरू यस मामिलालाई राष्ट्रपति ट्रम्पको मेक्सिकोको सीमामा पर्खाल लगाउने विषयसंगै हल गर्न चाहन्छन्। तर डेमोक्र्याटहरूको सीमामा पर्खाल लगाउने विषयमा असहमति रहँदै आएकोछ।रिपब्लिकन नेताहरु र राष्ट्रपति ट्रम्प भने डेमोक्र्याटहरूका कदमले सैन्य खर्च र बालबालिकालाई स्वास्थ्य सेवा उपलब्ध गराउने कार्यक्रमलाई समेत असर पार्ने कुराले चिन्ता व्यक्त गर्दैछन्।


६ माघ २०७४, शनिबार ०२:५१ मा प्रकाशित