नेपाली युवाको अमेरिकामा भएको सडक दुर्घटनामा निधन सामाजिक अगुवाहरुद्वारा सहयोगको अपील

दूरबिन नेपाल     ८ माघ २०७४, सोमबार ०१:४५    

Anil Baral Real Estate

नेपालमा नुवाकोट जिल्ला खरानिटार घर भई हाल अमेरिकी राज्य नर्थ क्यारोलाइनामा बस्दै आएका २९ बर्षीय युवा रुपेश उप्रेतीको गत बिहीबार राती कामबाट घर फर्कने क्रममा गाडी दुर्घटनामा परेर निधन भएको छ। हाल अमेरिका बसिरहेका र नेपालमा नुवाकोट जिल्ला घर भएका नेपालीहरुको समूहको संयोजन गरिरहेका पुरुषोत्तम बोहराका अनुसार स्व. उप्रेतीको शवलाई नेपाल लैजाने वा यतै अन्त्येष्टि गर्ने भन्ने बारेमा परिवारको सदस्यहरुसंग छलफल भैरहेको छ। मृतक उप्रेतीको अमेरिकामा रहेका परिवारका सदस्यहरुसंग नियमित सम्पर्कमा रहेका बोहराको सक्रियतामा मृतक उप्रेतीको अन्त्येष्टिका लागि आवश्यक खर्च व्यवस्थापनका लागि गोफण्ड एकाउण्ट समेत खोलिएको छ। समाजमा हुने यस्ता दुखद घटनाहरुमा समाजका सबैले सक्दो सहयोग गरेर पीडामा रहेका परिवारजनलाई सकेसम्म मद्दत गर्न र मृत्युसंस्कारलाई सहजीकरण गरिदिन र https://www.gofundme.com/rupesh039s-funeral-amp-send-body-nepal मार्फत सकेको सहयोग गर्न बोहराले सबै नेपाली समुदायलाई अपील पनि गरेकाछन्। नुवाकोट खरानीटार नै घर भई हाल डालास, टेक्सस बस्दै आएका मृतक उप्रेतीका पारिवारिक नाताका डा. भीम उप्रेतीका अनुसार परिवारका सदस्यहरुसंग सम्पर्क गरेर सकेसम्म यतै अन्त्येष्टि गर्न आवश्यक पहल भइरहेको छ। ‘ यतै अन्त्येष्टि गर्न सके सहयोगबाट उठेको रकमबाट बचेको केही रकम कमजोर आर्थिक अवस्थाका उनका बृद्ध आमा-बुवालाई मद्दत गर्न सकिनेथ्यो’ भन्छन् मृतक उप्रेती कै गाउँमा घर भई हाल डालास बस्दै आएका ज्योति पाण्डे। पाण्डेले आफ्नो सामाजिक संजाल मार्फत पनि नेपाली समुदायलाई गोफण्ड मार्फत सहयोग गर्न आव्हान गरेकाछन्। मृतक उप्रेतीको नेपालमा आमा, बुवा, एक दाई र एकजना भाई रहेको जानकारी उनको पारिवारिक स्रोतबाट थाहा भएको छ।


८ माघ २०७४, सोमबार ०१:४५ मा प्रकाशित