पूर्व डीआइजी सिलवाल अझै फरार, इन्टरपोलले शुरु गर्यो खोजी

दूरबिन नेपाल     ८ माघ २०७४, सोमबार १२:००    

Anil Baral Real Estate

काठमाडौं : किर्ते प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार रहेका नेपाल प्रहरीका पूर्व डीआइजी नवराज सिलवाललाई इन्टरपोलले पनि खोजी गर्न शुरु गरेको छ । ललितपुर क्षेत्र नम्बर १
बाट प्रतिनिधिसभातर्फ निर्वाचित भएका ससलवाललाई प्रहरीले खोजी थालेपछि फरार छन्। नेपालबाहिर रहेको आशंकामा नेपाल प्रहरीले इन्टरपोलको सहयोग मागेको हो ।

सिलवालको खोजी गर्न इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको छ । आइजीपी बढुवा सम्वन्धि कार्यसम्पादन मूल्यांकन किर्ते अभियोगमा सिलवाललाई बयानका लागि बोलाउँदा उपस्थित नभएपछि उनीमाथी प्रहरीले डिफ्युजन नोटिश जारी गर्ने अवस्था आएको हो। प्रहरीले खोजेको व्यक्ति सम्पर्कमा नआएमा र देश बाहिर भागेमा उसलाई प्रहरी सम्पर्कमा ल्याउनका लागि इन्टरपोल सदस्य राष्ट्रलाई सहयोग माग्ने गरिन्छ । फरार व्यक्तिको सम्पूर्ण विवरण र अनुसन्धानको विषय भरेर निगरानी तथा भेटिएमा खबर गरिदिन भन्दै अनुरोध गरिने कार्यलाई डिफ्युजन नोटिस भनिन्छ। १९२ वटा देश यसको सदस्य छन् ।

सिलवालले एक अनलाइन मार्फत आफू ललितपुरको भट्टे डाँडामा रहेको दावी गरेपछि आइतबार दिनभर प्रहरीले उनको खोजी गरेको थियो । यसअघि प्रहरी प्रधान कार्यालयले ७७ वटै जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गरी सिलवाल कहीकतै भेटिए पक्राउ गरी महानगरीय प्रहरी परिसर काठमाठौंको जिम्मा लगाउन निर्देशन दिएको थियो ।


८ माघ २०७४, सोमबार १२:०० मा प्रकाशित