एमाले भन्छ-नवराज सिलवाल विरुद्ध सरकारी गतिविधि पूर्वाग्रही र प्रतिशोधपूर्ण

दूरबिन नेपाल     ८ माघ २०७४, सोमबार १९:५८    

Anil Baral Real Estate

काठमाण्डौं, माघ ८
नेकपा एमाले स्थायी समितिको आइतवार बसेको बैठकले हालैको संसदीय निर्वाचनमा ललितपुर- १ बाट निर्वाचित सदस्य नवराज सिलवाल बिरुद्ध सरकार पूर्वाग्रह र प्रतिशोधबाट निर्देशित भएको ठहर गरेको छ।एमालेको यस्तो निर्णय इन्टरपोलका लागि नेपाल प्रहरीले जारी गरेको भनिएको ‘डिफ्युजन नोटिस’ का बारेमा आएको समाचार प्रति लक्षित छ। उसले प्रहरी प्रधान कार्यालय र सरकारको यसखाले काम प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। यसैबीच सेतोपाटीले नेपाल प्रहरीका प्रवक्ता मनोज न्यौपानले ‘डिफ्यूजन नोटिस’ बारे उनलाई जानकारी नभएको भनेर समाचार लेखेको छ।

समाचारहरुमा जनाइए अनुसार सिलवाललाई पक्रन नेपाल प्रहरीले ठूलै संख्यामा प्रहरी परिचालन गरेको थियो। उनी ललितपुरको भट्टेडाँडा क्षेत्रमा लुकेको अनुमानमा सो आसपासमा सयौंको संख्यामा प्रहरी परिचालन गरिए पनि उनी फेला परेनन्।

सर्वोच्च अदाललते आइजीपी नियुक्तीका सन्दर्भमा कार्यसम्पादन मूल्याँकनको कागजात किर्ते गर्न संलग्नहरुलाई आवश्यक कार्बाही गर्न सरकारलाई आदेश दिएको थियो। अदालतको आदेश बमोजिम किर्तेमा संलग्न भएको भन्दै प्रहरीले हाल सिलवाललाई मात्र किर्ते मुद्दामा खोजी गरिरहेको छ। यस मुद्दामा नेपाल प्रहरीको वर्तमान नेतृत्व नै एउटा झगडिया पक्ष भएकोले उसैले अर्को पक्ष (सिलवाल) का बारेमा गर्ने छानबिन आफैंमा निश्पक्ष हुन सक्नेमा कतिपय स्वतन्त्र पर्यवेक्षकहरु आशंका व्यक्त गरिरहेका छन्।

वामगठवन्धको तर्फबाट सरकारको नेतृत्व गर्न लागेको दल एमालेको ताजा निर्णयले प्रहरीको सिलवाल बिरुद्द जारी छानबिन र कार्बाहीको भविष्य के होला भनेर सर्वत्र चासो बढाइदिएको छ। आम मानिसहरु भने ‘सिलवाल-काण्ड’ सत्ताको छिनाझप्टीका बीच उब्जिएको बिवाद हो भन्ने ठान्छन् र उनीहरु यो बिवादले छिट्टै निकास पाओस् अनि देशले एउटा राजनीतिक गति लेओस् भन्ने चाहना राखिरहेको भेटिन्छन्।


८ माघ २०७४, सोमबार १९:५८ मा प्रकाशित