राष्ट्रियसभामा दलहरूको तालमेलका लागि सक्रियता, प्रदेश २ मा बाम गठबन्धन र मधेसी दल सहमति नजिक

दूरबिन नेपाल     ९ माघ २०७४, मंगलवार ०७:१२    

Anil Baral Real Estate

काठमाडौं ९ माघ / सात वटै प्रदेशबाट राष्ट्रियसभा उम्मेदवारको टुङ्गो लगाउन नेकपा (एमाले) स्थायी कमिटी बैठक सुरु भएको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा उनकै अध्यक्षतामा आजको बैठकले थप १६ उम्मेदवारको नाम टुङ्गो लगाउने भएको छ । बैठकले प्रदेश नं १, २, ३ र ४ का राष्ट्रियसभा उम्मेदवार टुङ्गो लगाउने एमाले सचिव प्रदीपकुमार ज्ञवालीले जानकारी दिएका छन् । एमालेले आफ्नो भागमा परेको २९ मध्य प्रदेश ५,६ र ७ का तेह्र उम्मेदवार पहिले नै टुङ्गो लगाईसकेको छ ।
वाम गठबन्धन र मधेस केन्द्रित दल राष्ट्रियसभाको निर्वाचन, भावी सरकार गठनलगायत विषयमा सहकार्य गर्न सकारात्मक देखिएका छन् ।
नेकपा (एमाले) संसदीय दलको कार्यालय, सिंहदरबारमा आज बिहान भएको संयुक्त छलफलमा स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको जनादेशबमोजिम मुलुकलाई अगाडि बढाउने विषयमा छलफल सकारात्मक देखिएको एमाले स्थायी कमिटीका सदस्य सुवास नेम्वाङले बताए । ठोस सहमति भएमा गठबन्धन र मधेसी दलबिच आसन्न राष्ट्रियसभा सदस्यको निर्वाचमा तालमेल हुने भएको छ ।
एमाले र नेकपा (माओवादी केन्द्र) सम्मिलित वाम गठबन्धन तथा राष्ट्रिय जनता पार्टी र सङ्घीय समाजवादी फोरम नेपालका नेताबिचको सो छलफलपछि समग्र मुलुकमा एमाले र प्रदेश नं २ मा मधेसी दललाई नेतृत्व गर्न प्राप्त जनादेशबमोजिम अघि बढ्न छलफल गरिएको थियो ।
माओवादी केन्द्रका नेता मातृका यादवले विस्तृत छलफलका लागि आफूहरूको आजै अपराह्न ३ बजे बैठक पुनः बस्ने जानकारी दिए । बैठकमा एमालेका नेम्वाङ र अग्निप्रसाद खरेल, केन्द्रका वर्षमान पुन र यादव, राजपाका सर्वेन्द्रनाथ शुक्ल र केशव झा तथा फोरमका राजेन्द्र श्रेष्ठ सहभागी थिए ।
काँग्रेससँग तालमेल गर्ने गरी छलफल अगाडि बढाइएको जानकारी दिँदै राजपा महासचिव केशव झाले सिट संख्याबारे भने मङ्गलवारको बैठकले टुंग्याउने बताएका थिए। ‘अध्यक्षमण्डलको जारी बैठकमा काँग्रेस र सङ्घीय फोरमसँग तालमेल गरेर जाने भन्नेमा एकखालको सहमति भइसकेको छ’, उनले भनेका थिए, ‘हामीले काँग्रेससँग पाँच सिट माग्ने पुरानै प्रस्ताव अगाडि सारेका छौँ।’
प्रदेश २ मा बाम गठबन्धनले आफूले पक्का जित्ने दुई सिट बाहेक बाँकी छ सिटमा राजपा-फोरमलाई सहयोग गर्ने प्रस्ताव पहिले नै गरेको थियो भने नेपाली कांग्रेससंग आज छलफल गरी अन्तिम निष्कर्षमा पुग्ने गृहकार्य भइरहेको थियो । राससको सहयोगमा


९ माघ २०७४, मंगलवार ०७:१२ मा प्रकाशित