कतै भारी हिमपात, कतै अत्यधिक चिसो

दूरबिन नेपाल     १० माघ २०७४, बुधबार ०४:११    

Anil Baral Real Estate

मनाङ, १० माघ / मंगलबार अपरान्ह २ बजेदेखि हावाहुरीसहित परेको हिमपातले यहाँको जनजीवन कष्टकर बनाएको छ ।
मनाङको नासोङ गाउँपालिका, दानाक्युदेखि माथिल्लो मनाङको नेस्याङ गाउँपालिका तथा नार्पु गाउँपालिकामा पूरै हिमपात भएको छ ।
हिमपातबाट टेलिफोन टावरहरु अवरुद्ध हुँदा सम्पर्कविहीन भएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिनुभयो । हिजो बेलुकी मात्र जिल्ला भित्रिएका तथा चामेबाट माथिल्लो मनाङ गएका १० जना बाह्य पर्यटक सम्पर्कविहीन छन् । उद्दारकालागि पनि उपयुक्त अवसर नबनेको प्रशासनले बताएको छ ।
चिसोका कारण सिरहामा थप एकको मृत्यु
अत्यधिक चिसोका कारण सिरहा नगरपालिकामा गए राति थप एक जनाको मृत्यु भएको छ ।
चिसोका कारण कठ्याङ्ग्रिएर सिरहा नगरपालिका-१२, सारश्वर निवासी ५५ वर्षीय बौका दर्जी भन्ने मंजुर मियाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
राति शौच गरेर सुतेको केही समय नबित्दै चिसोले काम्न थालेको र केही मिनेटमै मृत्यु भएको परिवारजनले बताएका छन् । यो सँगै सिरहामा चिसोका कारण कठ्याङ्ग्रिएर मृत्यु हुनेको सङ्ख्या १५ जना पुगेको छ । रासस


१० माघ २०७४, बुधबार ०४:११ मा प्रकाशित