बिवादास्पद हिन्दी चलचित्र ‘पद्मावत’को बिरोधमा भारतका बिभिन्न राज्यहरुमा हिंसात्मक प्रदर्शन

दूरबिन नेपाल     १० माघ २०७४, बुधबार २३:०४    

Anil Baral Real Estate

जनवरी २५ तारिक, बिहीवारबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको बिवादास्पद हिन्दी चलचित्र ‘पद्मावत’को बिरोधमा भारतका बिभिन्न राज्यहरुमा हिंसात्मक प्रदर्शनहरु भएका छन्।

निर्माता संजयलिला भंसालीले चारवटा भारतीय राज्यले फिल्म प्रदर्शनमा लगाएको रोकलाई सर्वोच्च अदालतमा चुनौती दिएका थिए। भारतभर चलचित्र प्रदर्शन गर्न पाउनु पर्ने उनको मागअनुरुप सर्वोच्च अदालतले प्रदर्शनमा रोक लगाउने राज्य सरकारहरुको निर्णयलाई खारेज गरिदिएको थियो। समाचारहरुमा जनाइए अनुसार सर्वोच्च अदालतले पद्मावतको प्रदर्शन गर्न अनुमति दिए लगत्तै हिन्दु अतिवादीहरु लगाएत करणी सेना र माहाकल सेना नामका राजपूत जातीहरुको साम्प्रदायिक संगठनले भारतीय शहर अहमदाबाद लगाएतका स्थानहरुमा सडक अवरुद्ध गर्दै सयौं बसहरु जलाइदिएका छन् भने कैयौं चलचित्र भवनहरुमा तोड्फोड गरेका छन्।

गुजरातमा अदालतको निर्णयका बावजूद चलचित्रहल संचालकहरुले थप हिंसा भड्कने आशंकाले सो चलचित्र प्रदर्शन नगर्ने भएका छन्।

चौधौं शताब्दीको एक उच्च राजपूत जातीय हिन्दु रानी र मुस्लिम शासक अलाउद्दीन खिल्जीको कथा रहेको भनिएको चलचित्र पद्मावतमा बलिउडकी चर्चित नायिका दीपिका पादुकोण र नायक रणवीर सिंहको मुख्य भूमिका रहेको छ। आन्दोलित जातीय र धार्मिक समूहले चलचित्रमा हिन्दु रानी र मुसलमान शासकबीच अस्वभाविक रोमान्टिक दृश्यहरु देखाइएको र त्यसले रानीको चरित्रको अनादर गरेको आरोप लगाएका छन्।

तस्वीर: सामाजिक संजाल


१० माघ २०७४, बुधबार २३:०४ मा प्रकाशित