काँग्रेस प्रतिपक्षमा बस्छ : नेता खाँण

दूरबिन नेपाल     १२ माघ २०७४, शुक्रबार ०९:३९    

Anil Baral Real Estate

चितवन, १२ माघ:  नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणले काँग्रेस अब बन्ने सरकारमा पार्टी प्रतिपक्षमा बस्ने बताएका छन ।
नेपाल प्रेस युनियन चितवन शाखाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले काँग्रेस सरकारमा जाने कुनै योजना नरहेको बताए ।

उनले भने “पार्टीको आधिकारिक धारणा प्रतिपक्षमा बस्ने हो, सरकारले के कस्ता नीति तथा कार्यक्रम ल्याउँछ, त्यसमा आधारित भएर रचनात्मक सहयोग गर्छौंं ,” उनले भने । काँग्रेसको सिटको संख्या घटेकाले सरकार निर्माणका लागि जनादेश नभएको पनि उनले बताए ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्र०बीच तालमेल गरेर निर्वाचनमा गएको भन्दै उनले बहुमत भएकाले कसलाई प्रधानमन्त्री बनाउने भन्ने विषय उनीहरुकै विषय भएको पनि बताए ।

आउँदो निर्वाचनसम्ममा काँग्रेसलाई पहिलो पार्टी बनाउने भन्दै उनले त्यसैका लागि काँग्रेस गृहकार्यमा लाग्ने बताए । पार्टीभित्रका गुट उपगुटको अन्त्य गर्दै पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढाउने पनि उनले बताए ।

अर्को एक प्रश्नमा उनले नेतृत्व परिवर्तनले पार्टीमा किचलो बढ्न सक्ने भन्दै पार्टीको ढाँचा परिवर्तन गरी प्रादेशिक संगठन बनाउनु पर्ने बताए । सरकारले जनताका अपेक्षाअनुसारका निर्णय गरेको भन्दै अब बन्ने सरकारले यसलाई के गर्छ भन्ने विषय उसैको सरोकारको विषय भएको उनले बताए ।

 

-रासस


१२ माघ २०७४, शुक्रबार ०९:३९ मा प्रकाशित