एनआरएनएको प्रतिनिधि छनौट प्रक्रियामा एउटा अहम प्रश्न

बन्धु पोख्रेल     १७ आश्विन २०७६, शुक्रबार २०:१०    

एनआरएनएको प्रतिनिधि छनौट प्रक्रियामा एउटा अहम प्रश्न
बन्धु पोख्रेल  
     गैह्र आवाशीय नेपाली संघ देश बाहिर बस्ने नेपालीहरुको साझा संस्था  हो ।  टोकियोमा बसौं वा टोरेन्टोमा  देश प्रतिको अगाध मायाँ र अटुट सम्बन्धले हाम्रो मन मन्दिरमा अड्डा जमाएको छ । यहि देश प्रतिको मायॉ संबन्धको डोरी कँसिलो पार्न उद्यत छ गैह्र आवासीय नेपाली संघ । यस्तो संस्थाको नेतृत्व चयन तथा संस्थाले गर्ने कार्यहरूमा आम नेपाली अझ परदेशी नेपाली लाई बढी चासोको विषय हुनु स्वाभाविकै हो । अहिले हामी गैह्र आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्को नयाँ नेतृत्व चयनको सँघारमा छौ जसले हामी सबैलाई आकर्षित गरिरहेको छ । संस्थाका अल्पकालीन तथा दीर्घकालिन उद्देश्य र  लक्ष प्राप्तिको  लागि सक्षम नेतृत्व आउनु पर्दछ । हो त्यस्तो नेतृत्व चयनको लागि जाने पठाइने प्रतिनिधि पनि एनआरएन अभियानमा लागेको, एनआरएन बुझेको हुनु बान्छनीय छ ।
प्रतिनिधि शब्द बाटै प्रष्ट हुन्छ कि यदि कसैले अरु कसैको तर्फबाट बोल्छ लेख्छ वा मतदान गर्छ भने त्यो उसको प्रतिनिधि हो । प्रतिनिधि उसैले पठाउनु पर्छ जसको प्रतिनिधित्व उसले गर्ने हो ।
यस अर्थमा गैह्र आवाशीय नेपाली संघको अन्तर्राष्ट्रिय सम्मेलनको लागि प्रतिनिधि  छनोट  गर्ने अधिकार संबन्धित देशमा रहेका एनआरएनका सदस्य संग नै सुरक्षित हुनु पर्ने हो । यसको ब्यबस्थापन सजिलो पार्नको लागि विधानमा सबै सदस्यबाट निर्वाचित भएर आएका प्रतिनिधिले छान्नु पनि सदस्यले छाने सरह नै हुने ब्यबस्था गरिएको छ । कार्य समितिले छनोट प्रकृया सरलिकृत गर्न उप समिति बनाएर उप समितिले पूरा गरेको कार्यलाई अँगाडी बढाउने प्रचलन पनि छ । यो प्रतिनिधि छनोटको बिषयलाई लिएर हाम्रो नेपाली समाजमा आपसी तिक्तताको स्थिति सिर्जना भएका छन ।
एकातिर एनसिसी अर्को तिर आइसिसिको प्रतिनिधि छनोट संबन्धि निर्देशिका, प्रश्न उठ्नु स्वाभाविक हो अन्तर्राष्ट्रिय समन्वय समितिको मार्ग निर्देशन पालना भएन भनेर किनकि आइसिसि अन्तर्गत एनसिसि छ भने एनसिसिले  आइसिसिको मार्ग निर्देशन पालना गर्नु पर्छ । यस्तो निर्देशिका आइसिसिले किन र कसरी बनाउन पुग्यो यो पनि एउटा अहम प्रश्न हो । आइसिसिको मार्ग निर्देशनमा राष्ट्रिय समन्वय समिति तेश्रो प्राथमिकतामा छ र चौथो प्राथमिकतामा आइसिसिको टास्क फोर्समा रहेर काम गरिरहेका पर्दछन जसको मनोनयन एनसिसि संगको समन्वयमा हुने गरेको पाइँदैन । आफ्नो एनसिसि भित्र को को छन त त्यस्ता व्यक्तिहरु पत्ता लगाउन नै गाह्रो छ । अपवादको रुपमा एक दुइ समिति बाहेक अन्य समितिहरुको न त कुनै बैठक बस्छ न त कुनै गतिबिधि नै हुन्छ चाहे त्यो एनसिसिले गठन गरेको टास्क फोर्स होस चाहे आइसिसिले । कुनै पनि गतिबिधिमा संलग्न नै छैन भने प्राथमिकतामा नपर्नु पनि स्वाभाविक हुन आउँछ ।
यदि आइसिसिको निर्देशिका अनुशरण नै गरेर जाउँ भन्दा झन ठूलो समस्या आउने देखियो । अहिले अमेरिकाबाट प्रतिनिधित्व गर्ने संख्या १६८ छ जसमा कार्य समितिको २५ जना घटाउँदा १४३ हुन आउँछ । अहिले आइसिसिको टास्क फोर्समा रहेका कै संख्या त्यो भन्दा निकै बढी भएको अनुमान गरिन्छ । यहॉ सम्म कि एनसिसि अमेरिकाको निर्वाचन सम्पन्न भै सकेपछि आइसिसिको पदावधि समाप्त हुनै लाग्दा पनि आइसिसिको टास्कफोर्समा मनोनयन भएको कुरा चर्चामा छ । अब संख्याको हिसावले १४३ जना लैजॉदा कसलाई छाड्ने कसलाई लिने । यसभन्दा पहिले काम गरेका भूतपूर्ब पदाधिकारीहरु मात्र होइन हालका सल्लाहकार र निबर्तमान पदाधिकारीलाई पनि प्रतिनिधिमा पर्न सक्दैनन । त्यसैले अहिले हुन गइरहेको सम्मेलनमा प्रतिनिधि प्रणालिमा ब्यापक छलफल गरी बैधानिक बाटोमा लैजानु बान्छनीय छ । के के हुन सक्छन त बिकल्पहरु, त्यसवारे छलफल गरौं ।
१)कुनै पनि एनआरएनको बैधानिक रुपमा सदस्य रहेको व्यक्ति च्याप्टर होस वा एनसिसि होस वा आइसिसि आफ्ना प्रतिनिधि छान्नका लागि मतदाता हुन पाउनु पर्छ । यस अनुसार एनआरएनको सदस्य छ र आइसिसिको निर्वाचनको क्रममा नेपाल पुगेको छ भने उसले मतदान गर्न पाउनु पर्छ ।
२) एनआरएनए आइसीसीको निर्वाचन प्रक्रियालाई अनलाइन सिस्टममा लैजाने जसले  गर्दा एनआरएनको हरेक सदस्यले आफ्नो च्याप्टर एनसिसि होस वा आइसिसीमा नेतृत्व छान्ने अधिकारबाट बंचित हुनु पर्ने छैन । परिस्थितिको बाध्यताले सम्मेलनमा नेपाल पुग्न नसकेकाले पनि थकथकाउन पर्ने छैन ।
३)एनसिसिको निर्वाचनको बेला नै प्रतिनिधिको पनि निर्वाचन गर्ने ।
४)एनसिसीबाट आएकाे नामावलीमा छुटेका तर एनआरएनमा ठूलो योगदान दिएका व्यक्तित्वलाई संख्या तोकि एनसिसिसंगको समन्वयमा समेट्ने प्रावधान राख्ने ।
तेश्रो बिकल्पले  झन बिबाद ल्याउन सक्ने भएकोले पहिलो बुँदा मै जानु उपयुक्त हुन आउँछ । प्रतिनिधि तोक्ने अधिकार त्यो संग सुरक्षित हुनु पर्छ जसको प्रतिनिधित्व गर्ने हो । माथिबाट फलानालाई तिम्रो प्रतिनिधि बनाएर ल्याउ भन्नु कदापी प्रजातान्त्रिक मान्यता हुन सक्दैन । एनसिसीका पदाधिकारीहरले पनि आफ्नो झोलाबोक्ने मान्छे होइन एनआरएनको उद्देश्य बोक्ने मान्छे छान्न सक्नु पर्दछ ।
(पोख्रेल गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाका कोषाध्यक्ष हुनुहुन्छ ।)

१७ आश्विन २०७६, शुक्रबार २०:१० मा प्रकाशित