नेपाल र म्यान्माबीच पर्यटन तथा संस्कृतिसम्बन्धी समझदारी

दूरबिन नेपाल     ३० आश्विन २०७६, बिहीबार १२:३६    

नेपाल र म्यान्माबीच पर्यटन तथा संस्कृतिसम्बन्धी समझदारी

 श्याम रिमाल

 म्यान्मा, ३० असोज : म्यान्माको राजकीय भ्रमणमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारी र म्यान्माका स्टेट काउन्सिलर आङ सान सु चीको उपस्थितिमा आज दुईपक्षीय वार्ता भई पर्यटन र संस्कृतिका क्षेत्रमा सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

म्यान्माको राजधानी नेपिटस्थित प्रेसिडेन्सियल हाउसमा भएको वार्तापछि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र म्यान्मा सरकारका अन्तरराष्ट्रिय सहयोगमन्त्री क्य तीनबीच ती दुई समझदारीपत्रमा हस्ताक्षर भई आदानप्रदान भएको हो ।

राष्ट्रपति भण्डारी म्यान्मा गणतन्त्र सङ्घका राष्ट्रपति विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा बुधबार साँझ म्यान्माको राजधानी नेपित आइपुग्नुभएको थियो । राष्ट्रपति भण्डारी र स्टेट काउन्सिलर सु चीबीच उपहार आदानप्रदानसमेत गरिएको थियो ।

PlutonicTech

दुई राष्ट्रपतिबीच भेटवार्ता

राष्ट्रपति भण्डारी र राष्ट्रपति विनबीच आजै प्रेसिडेन्सियल हाउसमा भेटवार्ता सम्पन्न भएको छ । राष्ट्रपति भण्डारीले सो हाउसमा राखिएको आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्नुभएको थियो । त्यसअघि आज बिहान सो हाउसको परिसरमा राष्ट्रपति भण्डारीलाई म्यान्माको सेनाले सम्मान गारद (‘गार्ड अफ अनर’) दिएको थियो ।

राष्ट्रपति भण्डारीका साथ परराष्ट्रमन्त्री ज्ञवाली, परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव डा हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारी, परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्चपदस्थ अधिकारीलगायत हुनुहुन्छ । राष्ट्रपति भण्डारी कात्तिक ३ गतेसम्म म्यान्माको राजकीय भ्रमणमा हुनुहुन्छ ।

राष्ट्रपति भण्डारीसँग म्यान्माली सेना प्रमुखको भेट

 राष्ट्रपति विद्यादेवी भण्डारीसँग म्यान्माका सेना प्रमुख मिन आङ ह्यलिङले आज अपराह्न राजधानी नेपितमा शिष्टाचार भेट गर्नुभएको छ । सो अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव डा हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारी, परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्चपदस्थ अधिकारी, नेपालका लागि म्यान्माका राजदूत भीमकृष्ण उदासलगायत हुनुहुन्थ्यो । राष्ट्रपति भण्डारी असोज २९ देखि कात्तिक ३ गतेसम्मका लागि म्यान्माको राजकीय भ्रमणमा हुनुहुन्छ ।


३० आश्विन २०७६, बिहीबार १२:३६ मा प्रकाशित