धर्तिकै ठूलो ढुंगोमाथि उभिँदा….

कृष्णराज खनाल     ९ कार्तिक २०७६, शनिबार १६:२८    

धर्तिकै ठूलो ढुंगोमाथि उभिँदा….

कृष्णराज खनाल

सूर्य ब्युँझेर आकाश माथि माथि सरेर आफ्नो तापको प्रभाव जमाउँदै थियो र अबेर सुतेकाहरुको उठ्ने क्रम पनि जारी थियो । विस्तारै सबैजना तयार भयौँ । ठूलो ढुंगामाथि चढ्न जानका लागि घर अगाडि दुइटा कार तयारी हालतमा थियो । हामी थियौँ ११ जना । सबै जना तयार भएपछि अनि हामी लाग्यौँ ढुंगोको आरोहण गर्न । व्यवस्थित किसिमको फराकिलो बाटो भए पनि त्यो ढुंगाको आरोहण र अवतरण गर्नेहरुको ठूलो भीड थियो । त्यहाँ बाल, वृद्ध, वनिता र युवा सबै वर्ग र समूहका मानिसहरु थिए । त्यति भीड होला भन्ने कल्पना नै गरेको थिइन ।

PlutonicTech

 

करिब ४५ मिनेट हिँडेपछि हामी स्याँस्या र सुइँसुइँ गर्दै त्यो विशाल चट्टानै चट्टानले बनेको ढुंगाको सवैभन्दा माथिल्लो समथर भागमा पुग्यौँ । हामी पहाडमा जन्मे हुर्केकाको लागि यो पहाड त के नै हो र ? यस्ता पहाड कति चढियो, कति देखियो, कति हिँडियो त्यसको लेखाजोखा नै कहाँ राखिएको छ र ? तैपनि यसको विशिष्ट महत्व भएकोले यसको चर्चा गर्न लागिएको हो । त्यहाँ पुग्नका लागि केवलकारको व्यवस्था भए तापनि हामीले पैदल नै चढ्ने निर्णय गरेका हौँ । कोही चाँडो त कोही ढिलो एक एक गर्दै जम्मा भएपछि हामी सबैले ढुंगाको चुचुरोमा विश्राम लियौँ । राजुका दुइटी छोरीहरु त झन् सबैभन्दा उम्दा पो देखिए त । हामीभन्दा पनि अघिअघि ।

उसै त गर्मी इलाका त्यसमाथि पहाडको हिँडाइ । गर्मीले हामी लखतरान भएका थियौँ । रमाइला रमाइला गफ गर्दै जाँदा रमाइलो र आनन्दको अनुभूति भइरहेको थियो । विशाल जर्जियाको आकाश परपरसम्म फैलिएको आँखाले अनुभूत गरिरहेको थियो । विशाल विशाल भवन बाहेक अरु सानातिना भौतिक निर्माणका कुराहरु अर्थात् मानव वस्तीहरु रुख र पातहरुले दृष्टिगोचरमा समस्या उत्पन्न गरिरहेका थिए । सतह पूरै हरियाली थियो । आधाघण्टाको विश्रामपछि हामी विस्तारै फर्कियौँ । खुट्टामा कैँडा लागिरहेका थिए । सबैजना विस्तारै सकुशल अवतरित भयौँ ।

 

त्यहाँबाट फर्किएपछि मैले आफ्नो फेसबुकमा डोमजस्तो देखिने त्यो विशाल ढुंगामाथि उभिएको हामीहरुको फोटो सार्वजनिक गरेँ । त्यसको केही समयपछि एटलान्टा बस्ने एकजना मित्रले स्टाटसको प्रतिक्रियामा लेखे ‘यो ढुंगो धरतिकै सबैभन्दा ठूलो हो ।’ मलाई आश्चर्य पनि लाग्यो र अनौठो पनि । माथि पुगेर फर्कँदासम्म पनि यो कुरा थाहा थिएन । ढुंगो आरोहणको नेतृत्व गर्ने एटलान्टामा नै लामो समयदेखि वसोवास गर्दै आएका भाइहरु कपिल र राजुलाई पनि थाहा रहेनछ कि ? केही भनेनन् । पछि गुगल सर्च गरेर हेरेको त त्यो सत्य रहेछ । त्यसपछि त झन् खुसीको मात्रा एकैचोटि ह्वात्त बढ्यो धरतिकै ठूलो ढुंगामाथि आफूलाई पाउँदा ! समुद्र सतहबाट एक हजार ६८६ फिट उचाइँमा रहेको यो ढुंगोमा पुग्दा आफ्नै देशको सगरमाथा नै आरोहण गरेजस्तै भयो ।

Bhatta Law & Associate

∞∞∞
नगएको ठाउँमा जानु र त्यहाँको परिवेश बुझ्नु आम मानिसको रुचि र चासोको विषय हो । मलाई पनि नयाँ नयाँ स्थान जान मनपर्छ । तथापि विभिन्न पारिवारिक र आर्थिक परिस्थितिले जान मन लागेका स्थान पनि जान सकेको छैन । त्यसो त अमेरिकाभित्रै पनि धेरै ठाउँ हेर्न लायक छन् र तिनका आआफ्नै किसिमका आकर्षण छन् । यसपटकको लामो बिदा अर्थात् लेबर डे को अवसर पारेर म पनि छोरालाई साथ लगाएर एटलान्टा हानिएँ । एटलान्टा जाउँ कि नजाउँ भइरहेको थियो । एकातिर नयाँ ठाउँ, नयाँ परिवेश र अर्कोतिर गाउँकै भाइहरुको आग्रह र राजुको छोराको पास्नी । त्यसो त हरिशरण, राजु र कपिलले यता घुम्न आउनुस् दाइ भनेर बारम्वार भनेको भए तापनि मुड बनेको थिएन । के निहुँ पाउँ भनेर बसेको मान्छेलाई भातखुवाइको निहुँ मेरा लागि नयाँ स्थान र परिवेश एवं त्यहाँको वातावरण बुझ्ने सुनौला मौका बनेर आयो ।

 

वोस्टनबाट जर्जियाको राजधानी एटलान्टा करिब तीन घण्टा उडानपछि पुगिँदोरहेछ । अमेरिकाको ज्यादै प्रसिद्ध स्थान एवं राज्य फ्लोरिडासँग जोडिएको जर्जिया पनि ठूलो राज्यमध्येको एक हो । हामी बाबु छोरा एटलान्टाको हार्टस्फिल्ड ज्याक्सन अन्तर्राष्ट्रिय विमानस्थल उत्रिँदा त्यस्तै मध्यान्ह चार बजेको थियो । अमेरिकाको सर्वाधिक व्यस्त विमानस्थलको रुपमा पगरी गुँथेर बसेको यो विमानस्थलबाट मात्र गतवर्ष करिब ११ करोड मानिसले वोर्डिंग पास लिएका रहेछन् । यसले पनि यहाँ आउने र जाने मानिसको आवागमनलाई स्पष्ट पार्दछ ।

 

हवाइजहाजले एटलान्टाको धावनमार्ग पार गरेपछि हामी पनि उत्रियौँ । विशाल भएको कारण बाहिर निस्कन पनि रेल चढेर जानुपर्नेरहेछ ! बाहिर निस्कँदा तातो हावाको राप र ताप नाकमा र शरीरमा चाल पाउने हिसाबले ठोकियो । त्यसबेला वोस्टनको र एटलान्टाको तापक्रममा करिब २० डिग्री सेन्टिग्रेटको फरक थियो । एटलान्टामा करिब ९० डिग्री तापक्रम थियो ।

 

भाइ कपिलले म एटलान्टा आउने भन्ने सुनेपछि नै ‘दाइलाई लिन म एयरपोर्ट आइहाल्छु नि’ भनेर भनिरहेको थियो । राजु आफ्नै घरायसी काममा व्यस्त थियो नै । विमानस्थल बाहिर भाइ र भतिज क्रमशः कपिल र श्रीराम हामीलाई कुरेर बसिरहेका थिए । फटाफट गाडीमा झोला राखेपछि हामी हुँइकियौँ । हाम्रो उपस्थितिबाट कपिल र श्रीराम निकै खुसी थिए । श्रीरामले त आफ्नो फेसबुकमा पनि पनि पोष्ट गरेछ, कृष्ण अंकललाई एटलान्टामा स्वागत ।

बाटोमा हामी गाउँघरका कुरादेखि एटलान्टाका गतिविधि, यहाँको रहनसहन र वातावरण एवं मौसमका कुरा गर्दै गयौँ । श्रीरामको गफ भनेपछि कुुरै खत्तम ! हामी सरासर राजुकोमा गयौँ । त्यहाँ भात खुवाइको रौनक थियो । उनका साथीभाइ र आफन्तहरु आउने जाने क्रम चलिरहेको थियो । यहाँ आमन्त्रित थुप्रै व्यक्तिसँग चिनजान गर्ने र गफिने मौका मिल्यो । वोस्टनको पछिल्लो हावापानी र प्रकृतिको बारेमा पनि कुराकानी भयो ।

 

छोरो अभिषेकको फोटोग्राफीमा पनि रुचि छ । हामी खानपिनतिर लाग्यौँ, खानाको परिकार र सेल रोटीको वयान त के गर्नु र ? बुहारी रमिला र उनका साथीहरु मिलेर बनाएको सेल रोटी त यति ठूलो थियो कि पहिले पहिले माइतीबाट घर जाँदा दिदीहरुले पनि त्यति विशाल रोटी लग्नुभएको याद थिएन । ऊ क्यामरा बोकेर आयो र उपस्थित पाहुनाको गतिविधिलाई फोटोमा कैद गर्यो । गाउँकै हजुरबा र हजुरआमा, काका हरिशरण तथा सुन्दर दाइसँगको लामो समयपछिको भेट ज्यादै सौहाद्र्र भयो । डा. रमेश दाइ र भाउजू तथा बहिनी शशिसँगको भेट हाम्रा लागि एक प्रकारको पुनर्मिलन थियो, हाम्रो गाउँको । गाउँघरतिरको सन्चो विसन्चो र गाउँको प्रगतिको बारेमा कुराकानी भएर त्यो माहोल सम्पन्न भयो । गाउँकै यति ठूलो जमघट शायदै यो पहिलो हो ।

∞∞∞
एकताका हामी पृथ्वीनारायण क्याम्पस पोखरा पढ्दा क्याम्पस परिसरमा एउटा विशाल ढुंगो थियो, जसलाई भीमसेन ढुंगा भनिन्थ्यो र किंवदन्ती नै सही ‘भीमसेनले छेलो हानेको वा गुच्चा खेलेको ढुंगो’ भनेर भनिन्थ्यो । त्यसबेला यो ढुंगो नै सर्वाधिक ठूलो ढुंगा हो कि जस्तो लाग्थ्यो । होइन रहेछ । भूगर्भविद्का अनुसार, पृथ्वीको गर्भबाट करिब ३० देखि ३५ करोड वर्ष अघि निस्केको म्याग्माबाट यो ढुंगो बनेको हो । उनीहरुले नै यो ढुंगालाई ‘धरतिकै सर्वाधिक ठूलो ढुंगा’ भनेर खुट्याएका हुन् । यसको परिधि अर्थात् गोलाइ ८ किलोमिटर छ । यो ढुंगाको एक छेउ अर्थात् भित्तामा करिब ४०० फिट माथि सिभिल वार हिरोहरु डेभिस जेफरसन, रोवर्ट इ ली र थोमस जे. स्टोनवाल ज्याक्सनको मूर्ति कुँदिएको छ, जुन चट्टानमा कुँदिएको सर्वाधिक ठूलो मूर्ति हो ।

 

यो ढुंगाको इतिहास पनि बडो रोचक छ । एकपटक यो ढुंगाको स्वामित्व भिनेवल दाजुभाइको हातमा थियो । त्यसपछि दोस्रो कु क्लक्स क्लानको महत्वपूर्ण आधार क्षेत्रका रुपमा रहेको यो स्थान उनीहरुको अधिनमा रह्यो र १९५८ मा जर्जिया राज्यले किन्यो र सन् १९६५ देखि यसलाई पार्कका रुपमा रुपान्तरण गरी आधिकारिक रुपमा पर्यटन व्यवसायको अभिवृद्धि हुँदै आएको छ । जहाँ दैनिक हजारौँ मानिसहरु शारीरिक तन्तुरुस्ती, मनोरञ्जन र समय व्यतीत गर्नका लागि चढ्ने र ओर्लने गर्दछन् । यो एटलान्टा राज्यको सर्वाधिक धेरै मानिस पुगेको स्थान हो ।
अहिले पनि त्यो ढुंगाको आरोहण मनभरि छरिएर रहेको छ ।
हालः वोस्टन ।


९ कार्तिक २०७६, शनिबार १६:२८ मा प्रकाशित