कसरी चुनिन्छन् त अमेरिकामा राष्ट्रपति !

डा.अविन ओझा     ५ चैत्र २०७६, बुधबार १४:१०    

Anil Baral Real Estate

 

डा. अविन ओझा

 

प्रसँग

थोमेस जेर्फसन र जेम्स म्याडिसन ले १७९२ मा स्थापना गरेको पार्टी “डेमोक्रयाटिक रिपब्लिक पार्टी” १८२५ मा विघटन भए पश्चात १८२८ मा “डेमोक्रयाटिक पार्टी” को स्थापना भएको थियो भने “रिपब्लिकन पार्टी” (जीओपी, ग्राण्ड ओल्ड पार्टी) १८५४ मा स्थापना भएको थियो । अमेरिकाको राजनीतिक प्रणालीमा तत् यीनै दुई पार्टीले राष्ट्र व्यवस्था सञ्चालन गर्दै आएका छन् । यस आलेखमा अमेरिकाको राष्ट्रपति निर्वाचन प्रकृयाको बारेमा केही सन्दर्भहरुको  मात्र समिक्षा गरिएको छ । यस आलेखको उद्देश्य साधारण पाठकलाई अमेरिकी राष्ट्रपति निर्वाचनको बारेमा सामान्य जाकारी दिने रहेको छ । जनकारकाहरुका लागि भने आलेख उपलब्धि मुलक नहुन पनि सक्छ ।

 

डा. अविन ओझा

को को बन्न पाँउछ त अमेरिकाको राष्ट्रपतिको उमेदवार ?

उमेरले ३५ वर्ष पुरा गरेको, कम्तिमा १४ वर्ष देखि अमेरिकामा बसोवास गरेको जन्मसिद्ध अमेरिकी नागरिक मात्र अमेरिकाको राष्ट्रपति उमेदवार हुन पाउने व्यवस्था जर्ज वासिङ्गटनको पाला देखि नै कायम छ । हुनत, मुख्य दुइ पार्टी रिपब्लिकन तथा डेमोक्रयाटिक बाहिरका योग्यता पुगेका स्वतन्त्र ब्याक्तिहरु पनि राष्ट्रपतिको उमेदवार बन्न पाउछन् । यो आलेखमा रिपब्लिकन र डेमोक्रयाटिक पार्टीका तर्फवाट राष्ट्रपति उमेदवार छनौट प्रकृयाको मात्र चर्चा गरिएको छ ।

 

कस्तो हुन्छ त प्राइमरी इलेक्सन?

 

राष्ट्रपतिय निर्वाचनको फलामे ढोका अर्थात प्राइमरी इलेक्सन मुलत ३ प्रकारको हुन्छ । पहिलो, ओपेन प्राइमरी अर्थात खुला प्राइमरी । यो वाइपार्टेसन प्रकृतिको हुन्छ । यस किसिमको निर्वाचनमा भाग लिन कुनै पनि पार्टीको रजिस्टार्ड भोटर हुन पर्दछ भन्ने छैन । इन्डिपेन्डेण्ट  अर्थात स्वतन्त्र नागरिकले पनि मतदान प्रकृयामा भाग लिन पाउछन् । यस्तो मतदानमा स्वतन्त्र व्याक्तिले पनि केवल एउटा पार्टीका लागि मात्रै मतदान गर्न सक्छ । क्यालिर्फोनिया, वासिन्टन लगायत २२ राज्यहरु मा यो प्रकृया प्रचलनमा छ ।

 

दोश्रो, क्लोज प्राइमरी अर्थात बन्द प्राइमरी । यस निर्वाचनमा सहभागि हुन,  भोटर कुनै एक पार्टीको रजिस्टार्ड भोटर हुनु अनिवार्य रहन्छ । यस प्रकारको निर्वाचनमा कुनै पनि पार्टीको रजिस्टार्ड भोटर नभएको स्वतन्त्र व्यक्ति निर्वाचनमा सहभागि हुन पाउने छैन । न्यू योर्क, पेन्सलभेनिया लगायत १३ राज्यमा यो प्रकृया प्रचलनमा छ ।

 

तेश्रो, हाइ ब्रिड प्राइमरी । यसमा दुइ किसिमका प्राइमरी हुन्छन् । एउटा, बाइपार्टेसन जसमा इन्डिपेन्डेण्ट अर्थात स्वतन्त्र नागरिक निवार्चन गराइन्छ । अर्को, रजिस्टार्ड भोटरका लागि बन्द प्राइमरीको गरिन्छ । नर्थ क्यारोलाइना, कोलोराडो लगायतका १५ राज्यमा यो प्रकृया प्रचलनमा छ ।

 

कसरी छनौट हुन्छन् त डेलिगेट्स (प्रतिनिधिहरु) प्राइमरी मर्फत?

 

प्लेज्ड डेलिगेट्स (संकल्पित प्रतिनिधिहरु) प्राइमरी इलेक्सन (प्राथामिक निर्वाचन) या ककेस मार्फत छनौट हुन्छन् । मुलत : बन्द प्राथामिक निर्वाचनमा रजिस्टार्ड भोर्टस (पार्टीमा दर्ता भएका सदस्य) हरुले प्रत्यक्ष मतदान मार्फत राष्ट्रिय सम्मेलनमा सहभागि हुने प्रतिनिधि छनौट गर्दछन् । ककेस विना मतदान रजिस्टार्ड भोटर्सहरुले आफ्नो पार्टीका तर्फबाट राष्ट्रिय सम्मलेनमा भाग लिने प्रतिनिधिहरुको चयन गर्दछन । यस प्रकृयामा सदस्यहरु एक ठाँउमा भेला भई आ—आफूले इण्डोर्स गरेको उमेदवारको समुहमा बस्दछन् । अर्को समुहमा बसेका सदस्यहरुलाई आफ्नोमा अर्कषण गर्न बहस गर्दछन् र अन्तमा समुहमा रहेका सदस्य संख्याको आधारमा प्रतिनिधि वितरण गरिन्छ । राज्य अनुसार र पार्टीको नियम अनुसार ककेस प्लेजड र अनप्लेजड दुवै प्रतिनिधि चयन गर्न पनि सक्दछ । प्रइमरी र ककेस आम निर्वाचन हुने वर्षको जनवरी देखी जुन सम्म सञ्चालन हुन्छ । रिपब्लिकनको प्राइमरीमा अधिकांस राज्यहरुमा “विनर—टेक—अल” जस अन्तर्गत सबै भन्दा बढी मत ल्याउने उमेदवारले सवै प्रतिनिधि जित्ने व्यवस्था प्रचलनमा रहेको छ । अर्को तर्फ डेमोक्रयाटिकको प्राइमरीमा प्रमुखत “प्रपोसनल रिप्रिजेन्टेसन” अर्थात न्युनतम थ्रेसहोल्ड भन्दा माथि मत ल्याउने उमेदवारहरुले प्राप्त भोटको आधारमा प्रतिनिधि जित्ने चलन प्रमुख छ ।

 

कस्तो हुन्छ त डेमोक्रयाटिक प्राइमरी इलेक्सन तथा नेसनल कन्भेन्सन ?

 

अत्यन्त सरल भाषामा भन्नु पर्दा प्राइमरी इलेक्सनमा भोटरहरुले पार्टीको राष्ट्रिय सम्मेलनमा जाने डेलिगेट्स (प्रतिनिधि) छनौट गर्ने छन् । प्रतिनिधि छनौट, निर्वाचन प्रकृया तथा प्रतिनिधि संख्या भने स्टेट (राज्य) अनुसार फरक फरक हुन्छन् । प्राइमरीमा कुल ३ हजार ९ सय ७९ डेलिगेट्सको निर्वाचन हुन्छ । यदी कुनै उमेदवारले कम्तिमा १ हजार ९ सय ९० डेलिगेट्स प्राइमरीमा जिते उ डेमोक्रयाटिकसको तर्फ बाट आसन्न निर्वाचनमा उमेदवार बन्ने छ । प्राइमरीमा कुनै पनि उमेदवारले राष्ट्रपतिको उमेदवार बन्न आवश्यक न्यूनतम डेलिगेट्स प्राप्त गर्न नसकेमा सुपर डेलिगेट्स मार्फत यसको छिनोफानो गरिन्छ ।

 

सन् १९८० देखी डेमोक्रयाटिक पार्टीका नेतृत्वकर्ता एवम निर्वाचित अधिकारीहरुको शक्ति अभिबृद्धि गर्न तथा प्राइमरीको प्रभाव कम गर्न “सुपरडेलिगेट्स” अर्थात “उत्तम प्रतिनीधि” को अवधारण प्रयोगमा ल्याएको छ । यस्ता सुपरडेलिगेट्सहरु अनिर्वाचित तथा अनप्लेज्ड (कुनै पनि उमेदवार प्रति प्रतिज्ञा रहित) हुन्छन । सुपरडेलिगेट्स स्वतन्त्र रुपमा जो कुनै उमेदवारलाई राष्ट्रिय सम्मेलनमा मतदान गर्न सक्दछन् । यस्ता सुपरडेलिगेट्सहरुमा डेमोक्रयाटिक राष्ट्रिय समितिका सदस्यहरु, गर्भनर, मेयर तथा काँग्रेसमा रहेका डेमोक्रयाटसहरु हुने गर्दछन् । यस्ता सुपरडेलिगेटस्हरु ७ सय ७१ जना (कुल प्रतिनिधिको करिव १६ प्रतिशत) हुनेछ । अव सुपरडेलिगेट्स समावेश भए पछि पार्टीको तर्फ बाट राष्ट्रपतिको उमेदवार बन्न, कम्तिामा २ हजार ३ सय ७६ अर्थात सम्पुर्ण डेलिगेट्सको आधा भन्दा १ बढी डेलिगेट्स जित्नु पर्नेछ । अगामी जुलाई महिनामा विस्कान्सनमा हुने राष्ट्रिय सम्मलेनमा निर्वाचित डेलिगेट्सले उमेदवार छनौटमा मतदान गर्नेछन् । त्यसबाट प्रष्ट नतिजा नआए सुपर डेलिगट मतदान प्रकृयामा गएर राष्ट्रपतिका लागि आफ्नो उमेदावरको अन्तिम टुङ्गो लगाउदछन् ।

 

कस्तो हुन्छ त रिपब्लिकन प्राइमरी इलेक्सन तथा नेसनल कन्भेन्सन?

 

रिपब्लिकन पार्टीको डेलिगेट्स तीन किसिमका हुन्छन् । पहिलो “एट—लार्ज डेलिगेट्स” । यस्ता डेलिगेट्स हरेक स्टेटमा न्यूनतम १० जना डेलिगेट्स हुन्छन । यो डेलिगेट्स हुन सोही स्टेटको स्थायी बासिन्दा हुनु पर्नेछ । यसमा प्रत्येक स्टेटले बोनस डेलिगेट्स प्राप्त गर्ने प्रवधान पनि हुन्छ । त्यो बोनेस डेलिगेट्स संख्या भने स्थानीय निर्वाचनमा पार्टीले प्राप्त गरेको जितले निर्धारण गर्दछ । जस्तो की स्टेटमा रहेको रिपब्लिकन गर्भनर, सीनेट, हाउस अफ रिप्रिजेन्टेटिभ्स आदीले बोनस डेलिगेटको संख्या निर्धारण गर्दछ । यस बर्ष २०१६ मा ट्रम्पलाई इलोक्ट्रोरल मत प्राप्त राज्यमा पनि यो बोनसको व्यवस्था गरिएको छ । त्यसो त अमेरिकन समाओ, ग्वाम, दी नर्दन मरिना आइल्याण्ड र भर्जिन आइल्याण्ड प्रत्येकले ६-६ डेलिगेट्स प्राप्त गरेका छन् भने डीस्ट्रीक अफ कोलम्बियले १६ र पाटोरीको ले २० डेलिगेट्स पाएका छन् ।

 

दोश्रो, “काँग्रेसनल डिस्ट्रीक डेलिगेट्स” । यसको प्रतिनिधि हुने सोही काँग्रेसनल डिस्ट्रीक निवासी हुन अनिवार्य हुन्छ । प्रत्येक काँग्रेसनल डिस्ट्रीक लाई ३ डेलिगेट्स दिइन्छ । तेश्रो, “रिपब्लिकन नेशनल कमिटी मेम्वर्स” । रिपब्लिकन नेशनल कमिटी मेम्वर्सको नेशनल कमिटी म्यान, नेशनल कमिटी वुमन र स्टेट चेयरपर्सन डेलिगेट्स हुन्छ । यी डेलिगेट्स मात्र स्वत राष्ट्रिय सम्मेलनका लागी स्वत छनौट हुन्छन् ।

 

प्राइमरिमा केही स्टेट तथा टेरिटोरिज छाडेर प्राय सवैमा “विनर—टेक—अल” जस अन्तर्गत सवै भन्दा बढी मत ल्याउने उमेदवारले सवै प्रतिनिधि जित्ने व्यवस्था प्रचलनमा रहेको छ । २० स्टेटहरु र ग्वाममा भने थ्रेसहोल्डमा आधारित “प्रपोसनल रिप्रिजेन्टेसन” का आधारमा डेलिगेट्स छनौट गरिन्छ । केही राज्य तथा टेरिटोरिज जस्तो कि टेक्सासमा भने आ-आफ्नो तरिकले यी दुवै प्रकृयाका आधारमा डेलिगेट निर्वाचित गरिन्छ । आसन्न आम निर्वाचनका लागि भने रिपब्लिकनको जम्मा २ हजार ५ सय ५० डेलिगेट्स हुनेछन् । राष्ट्रपतिको निर्वाचनमा उमेदवार बन्न आगामी अगष्टमा नर्थ क्यारोलाइनामा हुने नेसनल कन्भेनसमा कम्तिमा १ हजार २ सय ७६ मत प्राप्त गर्नु पर्ने छ ।

 

कहिले हुन्छ आम निर्वाचन?

 

अमेरिकाको राष्ट्रपतिय निर्वाचनका लागि हरेक चार बर्षमा “नोभेम्वर महिनाको पहिलो सोमवार पछि को पहिलो मंगलवार” या “नोभेम्वर १ पछिको पहिलो मंगलवर” का दिनलाई निर्वाचन दिन निर्धारण गरिएको छ । यो हिसावले निर्वाचन हुने सालमा नोभेम्वर महिनाको २ देखी ८ गते भित्र निर्वाचन हुने गर्दछ । अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुन कुल ५ सय ३८ इलोक्ट्रोरल कालेज मध्ये २ सय ७० कलेज जित्ने राष्ट्रपतिका उमेदवार अमेरिकको राष्ट्रपति हुने छन् ।

 

आगामि नोभेम्वर ३, २०२० मंगलबार का दिन अमेरिकाको ४६ औ राष्ट्रपतिका लागि आम निर्वाचन हुनेछ । यस निर्वाचनमा सवै अमेरिकी नागरिक सहभागि हुन पाउने छन् ।

 

कसरी हुन्छ इलोक्ट्रोरल कालेजको निर्धारण ?

 

सामान्य वुझाइमा हाउस अफ रिप्रिजेन्टेटिभ्स र सिनेट नै इलोक्ट्रोरल कालेजका सदस्य हुन भन्ने बुझाइ हुन सक्छ । तर अमेरिकी संविधानको आर्टिकल २ को सेक्सन १ मा प्रष्ट सँग उल्लेख छ कि “नो सेनेटर अर रिप्रिजेन्टेटिभ्स अर पर्सन होल्डिङ्ग एन अफिस अफ ट्रष्ट अर प्रफिट अण्डर दी युनाइटेट स्टेटस् स्यल बी अपोइण्टेड एज इलेक्टर” अर्थात सेनेटर, रिप्रिजेन्टेटिभ्स या ट्रष्ट या अन्य का अफिस होल्ड गर्ने हरु इलोक्ट्रोरल कालेजका सदस्य हुने छैनन् । तर इलोक्ट्रोरल कालेजको संख्या निर्धारण भने सिनेट र रिप्रिजेन्टेटिभ्सकै संख्याको आधारमा नै हुनेछ । जस्तो ५० स्टेटवाट प्रत्येक वाट २ जनाको दरले १०० सिनेटर्स हुन्छन । हाउस अफ रिप्रिजेन्टेटिभ्सको संख्या भने राज्यको जनसंख्याको आधारमा निर्धारण हुन्छ । न्यून जनसंख्या भएको राज्यले कम्तिमा १ रिप्रिजेन्टेटिभ पाउनेछ । यस्ता साना राज्यबाट अमेरिकी काँग्रेस (सिनेट र हाउस अफ रिप्रिजेन्टेटिभ्स) मा २ सिनेट र १ रिप्रिजेन्टेटिभ्स गरि कम्तिमा ३ जनाको सहभागिता हुन्छ । १ जना रिप्रिजेन्टेटिभ्स पाउने ७ (एलास्का, भर्मण्ट, मोन्टाना, नर्द डेकोडा, साउथ डेकोडा, देलावर, र वायोमिङ्ग) राज्यहरु छन् । धेरै जनसंख्या भएको क्यालिर्फोनिया राज्यमा ५३ रिप्रिजेन्टेटिभ्स छन् ।

 

क्यालिर्फोनियाबाट काँग्रेसमा २ सिनेट सहित ५५ जनाको सहभागिता हुन्छ । टेक्सास बाट ३८ (२ सिनेट, ३६ रिप्रिजेन्टेभिस्) न्यू योर्क र फ्लोरिडा बाट समान २९ (२ सिनेट, २७ रिप्रिजेन्टेभिस्) हरुको काँग्रेसमा सहाभागिता हुन्छ । डिस्ट्रिक अफ कोलम्बीया (डीसी) ले मताधिकार नभएको १ हाउस अफ रिप्रिजेन्टेटिभ्स पाउने छ भने सिनेटर पाउने छैन । तर जव इलोक्ट्रोरल कालेजको कुरा आउदछ, डीसीले साना राज्य सरह ३ इलोक्ट्रोरल कालेज सदस्य पाउने छ । यसरी काँग्रेसको संख्या बारावर ५ सय ३५ र डीसीको थप ३ गरि ५ सय ३८ सदस्यीय इलोक्ट्रोरल कालेज हुन्छ । हरेक पार्टीले आफ्ना इलोक्ट्रोरल कालेजका सदस्यहरु राष्ट्रिय सम्मेलन मार्फत या आम निर्वाचन मार्फत तय गर्दछन् ।

 

इलोक्ट्रोरल कालेज कसरी जित्दछन् त राष्ट्रपतिका आंकक्षीहरुले ?

 

५० राज्य मध्ये ४८ र डीसी मा “विनर—टेक्स—अल” अर्थात “विजेताले सवै लिन्छ” भन्ने सिद्धान्त अनुरुप इलोक्ट्रोरल कालेजको वितरण हुन्छ । अर्थात, जुन राष्ट्रपतिका उमेदवारले यी राज्यहरुमा पपुलर भोट (लोकप्रिय मत) जित्दछ, उसले त्यस राज्यको सवै इलोक्ट्रोरल कालेज मत जित्दछ । उदारार्णाथ, न्यू योर्कमा लोकप्रिय मतमा विजेता हुने उमेदवारले सवै २९ इलोक्ट्रोरल कालेज नै जित्ने छ । अपवाद का २ राज्यहरु मेइन र नाब्रास्कामा भने इलोक्ट्रोरल कालेजको वितरण अलिक फरक छ । यी दुइ राज्यले “डिष्ट्रीक मेथड अफ डिस्ट्रिब्युटिङ्ग इलोक्ट्रोरल कालेज” अर्थात इलोक्ट्रोरल कालेज वितरणमा जिल्ला पद्दती अवलम्वन गर्दछन् । उदाहरणका लागि , २ काँग्रेसनल डिष्ट्रीक भएको मेइन राज्यमा कुल (२ सिनेट, २ हाउस अफ रिप्रिजेन्टेटिभ्स) ४ इलोक्ट्रोरल कालेज छन् । २ इलोक्ट्रोरल कालेज, प्रत्येक काँग्रेसनल डिष्ट्रिक जित्ने राष्ट्रपति उमेदावरले जित्दछ भने २ इलोक्ट्रोरल कालेज चाही समग्र राज्य जित्नेले प्राप्त गर्दछ ।

 

कहिले चुन्छ त इलोक्ट्रोरल कालेजले राष्ट्रपति?

 

निर्वाचन भएको सालको डिसेम्बर महिनाको पहिलो दुई वटा बुधावर पछिको पहिलो सोमावरका दिन इलोक्ट्रोरल कालेज सदस्यहरुले आगामी ४ वर्षका लागी अमेरीकाको राष्ट्रपतिका छनौट गर्दछन । उदारार्णथ आगामी डिसेम्बर १४ (डिसेम्वर २ र ९, बुधवार पछिको पहिलो सोमवार) २०२०, सोमावरका दिन इलोक्ट्रोरल कालेजले नयाँ राष्ट्रपति-उपराष्ट्रपति चुन्ने छ । कुल ५सय ३८ इलोक्ट्रोरल कालेज मध्ये २ सय ७० इलोक्ट्रोरल कालेज प्राप्त गर्ने उमेदवार राष्ट्रपतिमा चयन हुन्छ ।

 

 

डा. ओझा अमेरिकाको न्यु योर्क स्थित योर्क कलेजका समाजशास्त्रका प्राध्यापक हुन् । 

[email protected]


५ चैत्र २०७६, बुधबार १४:१० मा प्रकाशित