अमेरिकामा कोरोना सङ्क्रमितको सङ्ख्या दोब्बर, २६४ को मृत्यु  

दूरबिन नेपाल     ८ चैत्र २०७६, शनिबार ०४:३५    

Anil Baral Real Estate

दूरबिन संवाददाता 


२० मार्च २०२० अमेरिका ।

कोरोना भाइरसका कारण जीवन गुमाउने र संक्रमित हुनेको संख्या अमेरिकामा बितेका दुई दिनमा दोब्बर वृद्धि भएको छ । शुक्रबार रातिसम्म अमेरिकामा कोरोना भाइरसका कारण २ सय ६४ ले जनाको मृत्यु भएको छ । थुप्रै प्रहरी अधिकृत, दुई जना सभासद, एक जना मेयर र केही संख्यामा हलिउडका कलाकार र खेलाडी समेत १९ हजार ६ सय ४८ जना कोरोनाबाट संक्रमित भएका छन् । अरु सयौँ मानिहरुमा परिक्षण र अनुसन्धान जारी छ । 


अमेरिकामा सवै भन्दा पहिला धेरै जनामा फैलिएको वासिङ्टन स्टेटमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ८३ पुगेको छ । दोस्रो बढि प्रभावित न्यूयोर्कमा ४६ जनाले ज्यान गुमाएका छन् । क्यालिफोर्नियामा २५, लुजियानामा १४, जर्जियामा १४, फ्लोरिडामा ११, न्युजर्सीमा ११ , टेक्ससमा ५, साउथ क्यारोलिना ५, इलेनोइज ५ ,कोलोराडो ४, कनेक्टिकट ४, मिजौरी ४, ओहायो ४, इन्डियाना ३, विस्कन्सिनमा ३, ओरेगनमा ३, मेरिल्याण्ड ३, भर्जिनिया २, केन्टकी २, मिचिगन ३, नेभाडा २, भेरमोन्ट २, कन्सास १ पेन्सलभेनिया १, र साउथ डेकोटामा एक जनाको मृत्यु भएको पुष्टि भएको छ । 


यो समाचार तयार पार्दासम्म न्यूयोर्कमा ४६ जनाले ज्यान गुमाएका छन् भने अरु २० जनाको अवस्था गम्भिर रहेको छ । न्यूयोर्कमा ८ हजार ४ सय जना कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि भइसकेको छ । अमेरिकामा पछिल्लो समयसवै भन्दा बढि कोरोनाको संक्रमण न्यूयोर्क राज्यमा देखिएको छ । 


अमेरिकाको पश्चिम उत्तरमा रहेको वासिङ्टन स्टेटमा ८३ जनाले ज्यान गुमाइसकेका छन् भने अरु १५ सय २४ जनामा कोरोनाको संक्रमण देखिएको छ । 


अमेरिकामा सबै भन्दा बढि जनसंख्या भएको क्यालिफोर्नियामा कोरोना भाइरसका कारण २५ जनाको ज्यान गएको पुष्टि भएको छ । थप १६ जना अस्पतालको आइसीयूमा जीवन मरणको दोसाधमा छन् । शुक्रबार साझसम्म क्यालिफोर्नियामा १२ सय ४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मृत्यु र  संक्रमित हुने संख्या क्यालिफोर्नियाको  सानफ्रानसिस्को बे एरियामा सबै भन्दा बढि रहेको छ । उत्तर क्यालिफोर्नियामा ज्यान गुमाउनेको संख्या १८ पुगेको छ ।  विज्ञान, प्रविधि र अनुसन्धानको विश्व कै केन्द्र मानिने सिलिकन भ्यालिलाई यो भाइरसले थिलथिलो बनाउदै लगेको छ । सूचना प्रविधि विकासको केन्द्र विन्दुको रुपमा विश्व समुदायमा परिचित सान्ताक्लारा काउन्टीमा कोरोना भाइरसले ८ जनाको जीवन लिला समाप्त गरिसकेको छ । साथै सान्ताक्लारा काउन्टीमा मात्रै अरु २ सय १ जनालाई संक्रमण भइसकेको जनस्वास्थ्य विभाग सान्ताक्लाराले जनाएको छ ।


८ चैत्र २०७६, शनिबार ०४:३५ मा प्रकाशित