एक नेपाली सहित अमेरिकामा  ६ सयको  मृत्यु  न्यूयोर्कमा २३ हजार संक्रमित १८४ को मृत्यु 

दूरबिन नेपाल     ११ चैत्र २०७६, मंगलवार १५:३५    

Anil Baral Real Estate

दूरबिन संवाददाता

अमेरिका । २४ मार्च २०२० –
अमेरिकामा बसोवास गर्दै आएका नेपाली युवा अनिल लिम्बुको कोरोना भाइरसको संक्रमणका कारण सोमबार राती निधन भएको छ । लिम्बू शुक्रवार न्यूयोर्कको एलमष्ट अस्पतालमा उपचारका लागि भर्ना भएका थिए । सोमबार राती उपचारको क्रममा उनको मृत्यु भएको हो । पाँचथर जिल्लामा जन्मिएका लिम्बुले न्यूयोर्कमा विभिन्न व्यवसाय गर्नुका साथै पछिल्लो समय उवर लिफ्ट चलाउँदै आएका थिए । उनका दुई छोरा, एक छोरी र श्रीमती छन् ।


न्युयोर्कमा बसोवास गर्दै आएका लिम्बू सामाजिक काम र संघ संस्था पनि सक्रिय थिए भन्ने आज विभिन्न संघ संस्था र व्यक्तिहरूले जारी गरेको शोक सन्देश र विज्ञप्तिले प्रष्ट हुन्छ । नेपाली जनसम्पर्क समितिका सदस्य रहेको अध्यक्ष आनन्दा विष्टले आफ्नो शोक विज्ञप्तिमा उल्लेख गरेका छन् । त्यस्तै एनआरएनए न्यूयोर्क च्याप्टरका अध्यक्ष रामहरी अधिकारीले फेसबुक वालमा शोक सन्देश दिदैँ लिम्बू एनआरएनए न्यूयोर्क च्याप्टरका पूर्व कार्यसमिति सदस्य समेत रहेको उल्लेख गरेका छन् । 


करिव ७० हजार नेपालीहरू बसोबास गर्ने न्यूयोर्कमा अरु चार जना नेपाली समेत कोरोना संक्रमित भएका छन् । जसमा तीन जना लिफ्ट र उबर चालकहरू रहेका छन् । उनीहरुको उपचार जारी छ । पछिल्लो समय अमेरिकामा कोरोनाभाइरसको संक्रमण तिव्र भएका कारण संक्रमणबाट अहिलेसम्म जोगिरहेका अधिकांश नेपालीहरू पनि त्रसित अवस्थामा रहेका छन् ।
अमेरिकामा पछिल्लो २४ घण्टामा कोरोना भाइरसले १ सय ६० जनाको ज्यान लिएको छ । कोरोना भाइरसका कारण ६ सय अमेरिकनले ज्यान गुमाइसकेका छन् भने ४६ हजार ५ सय संक्रमित भइसकेका छन् । यो रोग अमेरिकाका सवै राज्यमा तिव्र गतिमा फैलिरहेको भए पनि न्यूयोर्क अत्याधिक संक्रमित राज्य बन्न पुगेको छ । यो भाइरसका कारण न्युयोर्क राज्यमा बितेको २४ घण्टामा एक नेपाली सहित ६८ जनाले  कोरोना भाइरसका कारण ज्यान गुमाए । न्यूयोर्क राज्यमा नै कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १ सय ८४ पुगिसकेको छ भने २३ हजार संक्रमित भएका छन् । 


११ चैत्र २०७६, मंगलवार १५:३५ मा प्रकाशित