अमेरिका: कोरोना पीडितको घाउमा मल्हम लगाउंदै नेपाली समुदाय कोरोनाको महामारीमापनि सहयोगमा जुटेका छन नेपालीहरु

बद्रि गौतम     १४ चैत्र २०७६, शुक्रबार ०३:३२    

Anil Baral Real Estate


बद्रि गौतम, दूरबिन नेपाल, न्युयोर्क
पछिल्लो समय अमेरिकाको न्युयोर्क कोभिड १९को इपिसेन्टर बनेको छ । न्युयोर्ककोपनि क्वीन्स जहाँ अत्यधिक नेपाली बसोबास गर्छन । उनीहरुमा कतिलाई कोभिड १९ को संक्रमण भएको छ सो को जानकारी अझै छैन । कतिपय नेपालीहरु आफ्नो समस्या बाहिर ल्याउन सकिरहेका छैनन् । कतिपय संक्रमितहरुको खद्यान्नको जोहो हुन सकिरहेको छैन । कतिपयमा भने परिवारमा सबैजना बिरामी भएका छन । सहयोग गर्न जान सक्ने अवस्था छैन । संक्रमण अझै बढिरहेको छ । यसले नेपाली समुदायमा एक किसिमको निराशा र भयावह अवस्था बढाएको छ । यस्तै निराशाका विचमा पनि नेपाली समुदायका केही अगुवाहरु सहयोग कसरी जुटाउन सकिन्छ भनेर लागिरहेका छन । प्रत्यक्ष भेटेर सहयोग गर्न नसकेपनि अनलाइन मार्फत खाद्यान्न सहयोग पुर्याइदिने तथा मास्क, हेण्ड स्यानिटाइजर लगायत केही औषधिहरुको व्यवस्थापन गरिदिने जस्ता कार्य भइरहेका छन । न्युयोर्कको यो भयावह अवस्थाका विचपनि नेपाली समुुदायका अगुवाहरु चुप लागेर बसेका छैनन । उनीहरुमध्ये अधिकांश कुनै न कुनै सहयोग गरीरहेको पाइएको छ । प्रत्यक्ष भेटेर भन्दा पनि कन्फ्रेन्स कल बैठकगरी सहयोगलाई कसरी प्रभावकारी बनाउन सकिकन्छ भन्ने बारे छलफल भइरहेको नेपाली समुदायमा सक्रियहरुले बताएका छन । दूरबिन नेपाल डटकमका लागि हामीले न्युयोर्कमा रहेका केही सामाजिक अभियन्ताहरुसंग कुराकानी गरेका छौं । अन्य बेला नेपाली समुदाय आपसमा प्रतिष्पर्धा गर्ला तर विपत्तीको बेला एकजुट हुन्छ भन्ने सन्देशपनि दिएको छ । नेपाली समुदायमा के कस्तो सहयोगको काम भइरहेको छ भन्नेबारे जानकारी दिने प्रयास गरिएको छ ।

“फिप्ना अन्तर्गतका संघसंस्थाहरुलाई परिचालन गरी सकेको सहयोग गरिएको छ सहयोग अझै बढाउन जरुरी छ”
लोक चेम्जोङ, अध्यक्ष, नेपाल आदिवासी जनाजाति महासंघ अमेरिका, फिप्ना

“अकस्मात आइपरेको यस महाविपत्तीमा सबैलाई सजग बनाउने कार्य भइरहेको छ । विशेषगरी नेपाली समुदायकै एक अगुवा अनिल लिम्बुको मृत्युले हामी सबै आहत भएको अवस्थामा मृतकका परिवारलाई के कस्तो सहयोग जुटाउन सकिन्छ भन्ने विषयमा काम अघि बढीरहेको छ । गो फण्ड, नेपाली समाज अमेरिका तथा लिम्बु समाजका तर्फबाटपनि सहयोग जुटाउने काम भइरहेको छ । मृतकका परिवारलाई अनलाइन मार्फत खाद्यान्न तथा आवस्यक सामग्री उपलव्ध गराइएको छ । न्युयोर्कमा रहेको नेपालीहरुले सञ्चालन गरिरहेका ग्रोसरी तथा नेपाली म्यानेजर भएका ग्रोसरीहरुसंग सम्पर्क गरी सामान रिसीभ गरी संक्रमितको घरघरमा पुर्याउने काम गरिएको छ । फिप्ना अन्तर्गतका विभिन्न संघसंस्थाहरुलाई परिचालन गरी सहयोगको कामलाई अझै प्रभावकारी बनाउने प्रयास भइरहेको छ”

“एनआरएन एनसीसी र आइसीसीलाई पनि सहभागी बनाइ ठुलो टीम बनाएर सहयोगमा जुट्दैछौं”
रामहरी अधिकारी, अध्यक्ष एनआरएनए अमेरिका, न्युयोर्क च्याप्टर

“न्युयोर्कमा कोरोना संक्रमितहरुलाई सहयोग जुटाउन एल्महस्र्ट अस्पतालका बोर्ड सदस्य यादव बास्तोला सहितको फेसबुक समुह बनाइ सहयोग जुटाउने र वितरण गर्ने काम भइरहेको छ । शुरुमा १०÷१२ जनाको समुह थियो अब विस्तारै ग्रुपमा सहयोगीहरु बढ्दै छन । हामीलाई अझैपनि धेरै स्वयंसेवी आवस्यक पर्छ । अहिले यो टोलीले ग्रोसरी, औषधि जुटाउने र पीडितको ढोकासम्म पुर्याउने काम गरिरहेको छ । तर कतिपय नेपालीहरुले आफ्नो कुरा बाहिर नल्याउंदा समस्या पहिचान गर्न गाह्रो तथा सहयोग गर्न पनि अप्ठेरो भएको छ । अब नेपाली समुदायको हौसला उच्च बनाउन एनआरएन एनसीसी र आइसीसीलाईसंग सहकार्र्यगरी ठुलो टोली बनाएर सहयोगलाई व्यापक बनाउनेतर्फ लागेका छौं”

“पीडितहरुले राज्य र तथा सरकारबाट पाउन सक्ने सहयोग जुटाउने र राहतको काम भइरहेको छ”
मुनिन्द्र नेम्वाङ, महासचिव नेपाली जनसम्पर्क समिति अमेरिका

“जनसम्पर्क समिति अमेरिकाको केन्द्रिय परामर्श समिति गठन भइसकेको छ । परामर्श समितिको सबै राज्यहरुमा विस्तार हुदैछ । विशेषगरी न्युयोर्कमा पीडितहरुको घरघरमा अत्यावस्यक कुराहरु पुर्याउने कार्य भइरहेको छ । हेण्ड स्यानीटाइजर, मास्क, औषधिहरु केही संख्यामा वितरण गरिएको छ । तर त्यो हात्तीको मुखमा जीरा जस्तो भएको छ । अझै जुटाएर वितरण गरिनेछ । विशेषगरी कोरोनाबाट मृतक तथा संक्रमितहरुलाई कसरी राज्यबाट सहयोग जुटाउन सकिन्छ भन्ने विषयमा पनि कदम अघि बढिरहेको छ । यहां सरकारले क्वारेन्टाइनको व्यवस्था नगरेकोले नेपाली संक्रमितहरुलाई कसरी क्वारेन्टाइनमा राख्न सकिन्छ भन्नेबारेपनि छलफल भइरहेको छ”

“संक्रमितहरुले आफ्नो समस्या सार्वजनिक गर्नुहोस आत्मबल बलियो बनाउनुहोस हामी सहयोगमा जुटेका छौं” 
सञ्जय थापा, एनआरएन अभियन्ता


“मृतक र संक्रमितहरुको कुरामात्र बाहिर आइरहेको बेला सकारात्मक पहलपनि भइरहेको छ । निकोपनि भएका छन नेपालीहरु । उनीहरुले आफुलाई सार्वजनिक गर्नुपर्यो । तवमात्र सहयोग गर्न सजिलो हुन्छ । सामान्य विरामी हुंदापनि आत्मबल कमजोर बनाउन हुंदैन । यस्ता जनचेतनामा जोडदिइएको छ । लक डाउन नगरीएकोले धेरै बढेको हो अझै बढ्न सक्छ । घरबाहिर ननिस्कन आव्हान गरिएको छ । पीडितहरुको सहयोगको लागि आर्थिक सहयोग जुटाउने कार्य अघि बढिरहेको छ । न्युयोर्र्कका अभियन्ताहरुको बैठक बसी यो निराशाका विचपनि केही गर्न सकिन्छ भन्नेबारे छलफल भइरहेको छ । नेपाली समुदायलाई सहयोग गर्न हामी लगातार खटीइरहेका छौं”

“सेल्फ क्वारेन्टाइनमा बसेका तथा संक्रमित भएकाहरुलाई घरघरमै अत्यावस्यक खाद्यान्न तथा औषधी पुर्याउने कार्य भइरहेको छ”
केशवराम राई, सामाजिक अभियन्ता

“यस्तो महाविपत्तीमा सबैभन्दा पहिला मंगलवार मृत्यु भएका अनिल लिम्बुका परिवारको सहयोगमा जुटिरहेका छौं । दाहसंस्कार कसरी गर्ने तथा घरमै आइसोलेसनमा बसेका लिम्बु परिवारलाई खाद्यान्न तथा औषधिको व्यवस्था गरिएको छ । किरात याक्थुम मार्फत पनि सहयोग गरिएको छ । अन्य पीडित नेपालीहरुको सहयोगको लागि सामान संग्रह गर्ने र डेलिभरी गर्ने काम भइरहेको छ । यस्तो बेला सबैले आआफ्नो स्थानबाट सहयोग गर्न अनुरोध छ”
यो सामग्री कुराकानीमा आधारित भएर तयार पारिएको हो ।


१४ चैत्र २०७६, शुक्रबार ०३:३२ मा प्रकाशित