प्रिय प्रकृति र बुद्धिहीन मानव हामी जसरी भए पनि धन- दौलत कमाउन चाहन्छौँ अमानवीय ढंगले, दानवीय ढंगले

प्रा. डा. दुर्गा दाहाल     २१ चैत्र २०७६, शुक्रबार १५:२०    

Anil Baral Real Estate
प्रा. डा. दुर्गा दाहाल

मैले सबैलाई एउटै डोकामा राख्न खोजेको हैन तर अधिकाँश मानिसहरू यही वर्गमा पर्छन । केवल सानो संख्यामा रहेका मानिसहरूमा मात्रै यो  चेतना छ कि कसरी प्रकृतिले यो सुन्दर संसारको निर्माण गरिन र यो संसारमा पर्यावरणीय र आध्यात्मिक
संरचना अद्यपरिमित टिकी रहेको छ ।

मैले आज उठाउन खोजेको विषय र सन्दर्भ अहिलेको महामारी र समसामयिक विश्वव्यापी कोरोना भाईरससंग पनि प्रत्यक्ष अथवा परोक्ष रूपले सम्बन्धित छ । यो संसार सबैको साझा हो र यसलाई सन्तुलित ढंगले जोगाई राख्नु हामी सबैको दायित्व र कर्तव्य पनि हो । हामी सबैले यो संसार र प्रकृतिको अन्योन्याश्रित सम्बन्ध छ भन्ने सत्यलाई हृदयंगम गरि समभाव र स्नेहपूर्वक प्रकृतिलाई माया र आदरभावले हेर्नु पर्छ । हाम्रो जीवनमा प्राकृतिक नियमहरूको उल्लेखनीय भूमिका रहेको छ । प्राकृतिक नियमहरूको उलंघन गरेमा व्यक्तिगत, सामाजिक, राष्ट्रीय अथवा अन्तर्राष्ट्रीय वाधा-विघ्न र महामारीको प्रकोप खेप्नु पर्ने हुन सक्छ ।

यही कुरालाई मध्य नज़र राख्दै  १९७२ मा संयुक्त राष्ट्रसंघले मानवीय पर्यावरणलाई संरक्षण र संवर्धन गर्ने कुरामा जोड़ दियो । त्यही कुरालाई अझ गम्भीरतापूर्वक जून ०५ मा भएको विश्व वातावरण दिवस ( World Environment Day: WED ) मा यो पनि भन्यो कि हामीसंग एउटै मात्र पृथ्वी छ र यो सबैको साझा हो । यसलाई सबैले, सबैका लागि र सँधैका लागि जोगाएर राख्नु पर्छ । त्यसपछि विश्वका विभिन्न देशहरूमा यस किसिमका धेरै सम्मेलनहरू भए तर मानवजातिले यो सुन्दर संसार र प्रकृतिलाई क्रमशः कुरूप पार्दै गए ।

तर, यति धेरै प्रयास र सोच हुँदाहुँदै पनि धेरैजसो मानिसहरूले प्रकृति, पर्यावरण र संसारको अन्तरसंबन्धलाई नबुझेको हुँदा हामी सबैले आजको यो नियति भोग्नु परिरहेको छ । सबैले यो कुरालाई व्यक्तिगत रूपमा नबुझे सम्म केवल सरकार र संघ-संस्थाहरूको प्रयासबाट मात्रै पनि संभव छैन ।

आजको भौतिक संसारमा एउटा ठूलो द्वन्द छ हाम्रो बीचमा । हामी भौतिक रूपमा धेरै आरामदायी जीवन व्यतीत गर्न चाहन्छौँ र प्रकृतिलाई अवज्ञा गर्छौँ । हाम्रो वातावरण प्रदुषित छ विभिन्न किसिमले र कार्बोहाइड्रेटको मात्रा बढदै गएको छ । उद्योग-धन्दा बढेको छ तर त्यसबाट निस्किने दुषित तत्वहरूको व्यवस्थापन हामी गर्दैनौँ । हामी अखाद्य खान्छौँ  र अनुशासनमा पनि बस्दैनौँ । यस्ता विभिन्न कारणहरू छन जसले गर्दा हामी क्रमशः अधोगतितिर गईरहेका छौँ ।

आजको संसार भनेको सानो गाऊँ हो । यो संसार केवल मानिसहरूको मात्रै हैन । यहाँ भएका सबै जीव- जन्तु र प्राणीहरूको हो । मानिसको उत्पत्ति हुनुभन्दा पहिले यो संसारको सृजना गरिएको हो र त्यसपछि मानिसलाई चाहिने अन्य वस्तुहरूको सृष्टि गरि ईकोसिष्टम क़ायम गरिएको हो जुन अपरिहार्य र आवश्यक छ । हामी सबैले यो पद्धतिलाई जोगाएर राखे मात्रै मानव जातिको संरक्षण र संवर्धन हुनेछ भन्ने गहिरो सत्यलाई हामीले कहिल्यै बिर्सनु हुन्न । आजको संसारमा सबैले सह- अस्तित्वको अनुभूति गर्न पाउनु पर्छ । धनी- गरीब, सबै जात, सम्प्रदाय, वर्ग, लिंग, तह र तप्काको यो सामूहिक संसार भएकाले यसलाई जोगाएर सन्तुलित रूपमा राख्नु सबैको सामूहिक ज़िम्मेवारी हो ।

यो विश्वब्रह्माण्डमा भएका सबै बोट- बिरूवा, जीव- जन्तु , पहाड़, पर्वत, नदी- नाला, फूल, चन्द्र- सूर्य, तारा सबैको एउटा अर्थपूर्ण ज़िन्दगी हुन्छ र सबैलाई हामीले माया र आदर गर्नु पर्छ । गहिरिएर हेर्ने हो भने हाम्रो जीवन पनि यिनीहरूको जीवनसंग आश्रित र अन्तरसम्बन्धित छ ।

साराँशमा भन्ने हो भने, हाम्रो पूर्वीय दर्शन प्राकृतिक र जीवनोपयोगी छ तर हामी यसको अनुशीलन गर्दैनौँ । हामी छाडा भएर गयोँ । हामी अप्राकृतिक भयौँ । हाम्रो औषधिजन्य खान- पीन छोड़ेर पश्चिमी सभ्यता- संस्कृतिलाई अपनाउन थालिऊँ जुन कृत्रिम र अप्राकृतिक छ । हामी जसरी भए पनि धन- दौलत कमाउन चाहन्छौँ अमानवीय ढंगले, दानवीय ढंगले ।

अत: मेरो नम्र निवेदन छ कि हामी प्रकृतिलाई माया र सम्मान गर्दै, हाम्रा ऋषिमुनि र पूर्खाहरूले देखाएको बाटोतिर लागौँ, अखाद्य नखाऊँ र नियमित जीवन- यापन गरौँ ताकि विश्व समुदायका अगाडि हाम्रो सम्मानपूर्ण पहिचान बनोस !
अस्तु !


२१ चैत्र २०७६, शुक्रबार १५:२० मा प्रकाशित