जनसम्पर्क समितिलाई सभापति देउवाको निर्देशन कोरोना प्रभावित नेपालीको हितमा अझै लाग्नु, समितिको कार्यप्रति खुशी व्यक्त

दूरबिन नेपाल     २८ चैत्र २०७६, शुक्रबार २३:०१    

Anil Baral Real Estate

दूरबिन नेपाल, अमेरिका
नेपाली कांग्रेसका सभापति तथा संसदमा प्रमुख प्रतिपक्षि दलका नेता शेरबहादुर देउवाले कोरोना प्रभावित नेपालीको हितमा लाग्न सबै नेपाली जनसम्पर्क समितिहरुलाई निर्देशन दिएका छन । संसार भरी छरिएर रहेका नेपाली कांग्रेसका भातृसंगठन अर्थात जनसम्पर्क समितिहरुलाई परिपत्र पठाउंदै सभापति देउवाले कोरोना भाइरसका कारण पीडित बनेका नेपाली समुदायको हितमा गरिरहेको कार्यको प्रसंशापनि गरेका छन । पत्रमा विदेशमा कोरोना भाइरसका कारण मृत्यु भएका सात जना नेपालीको आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा धैर्य धारणकोलागि आग्रह गरिएको छ भने काभिड १९ बाट संक्रमित नेपालीको शिघ्र स्वास्थ्य लाभको कामनापनि गरिएको छ ।

 

चैत्र २८ गते जारी गरिएको पत्रमा गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद विदेशमा बस्ने सबै नेपालीको छाता संगठन भएको उल्लेख गर्दै आग्रह पूर्वाग्रहबाट माथी उठेर कोरोना प्रभावित नेपालीको राहत र उद्धारमा लाग्न आग्रह गरिएको छ । कतिपय मुलुकमा समन्वयको अभाव भएकोले जनसम्पर्क समितिका तर्फबाट भमिका खेल्न पनि निर्देशन दिइएको छ ।

 

कोरोनाको महामारीका कारण कैयौं नेपालीले रोजगारी गुमाएका तथा व्यवसाय बन्द भएका छन यसको असर भविष्यमा नेपालले पनि बेहोर्नुपर्ने भएकोले उनीहरुको हितमा लाग्न र क्षतिपुर्तीको पहल गर्नपनि पत्र मार्फत निर्देशन दिइएको छ । त्यसैगरी विद्यार्थीको रुपमा विदेशमा रहेका नेपालीको हितमा आवाज उठाउन तथा सम्बन्धीत मुलुकको सरकार तथा स्थानीय निकायसंग समन्वयको लागि नेपाली कन्सुलेट तथा राजदुतावासमार्फत सहजीकरण गर्नपनि पत्रमार्फत अनुरोध गरिएको छ ।


२८ चैत्र २०७६, शुक्रबार २३:०१ मा प्रकाशित