कोरोना विरुद्ध खोप निर्माणमा लागिपरेका  २१ वटा कम्पनी 

दूरबिन नेपाल     ४ बैशाख २०७७, बिहीबार १९:५५    

Anil Baral Real Estate


दूरबिन संवाददाता । अमेरिका अप्रिल १६ ।

   औषधि निर्माणमा सम्वद्ध २१ वटा कम्पनीहरू नयाँ कोरोना भाइरस कोभिड १९ लाई निस्तेज पार्ने खोप निर्माणमा लागिपरेका छन् ।  चीनको वुहानमा गत डिसेम्बरमा पहिलो पटक पत्ता लागेको यो भाइरसले अहिलेसम्म विश्वभर २१ लाख ८४ हजार मानिसलाई यसले आफ्नो चपेटामा पारिसकेको छ । यही भाइरसका कारण १ लाख ४७ हजार भन्दा बढि मानिसले ज्यान गुमाइसकेका छन् । यद्यपि यस भाइरसलाई परास्त गर्न सक्ने कुनै प्रमाणित औषधि र खोप अहिलेसम्म निर्माण हुनसकेको छैन । हाइड्रोक्सीक्लोरोक्वाइन सल्फेट र क्लोरोक्वाइन फस्फेटलाई आपतकालीन प्रयोगको अधिकार प्रदान गरिएको छ । अमेरिकाको केन्द्रिय स्टकपाइलमा रहेका औषधि निर्माताहरूले विकास गर्दै गरेका क्लिनिकल परीक्षणमा राखेका औषधिलाई पनि आपतकालीन उपचारमा प्रयोग भइरहेका छन् । 


बिगतमा पनि यस्तै प्रकारका महामारी लिएर आएका यही समुहका अरु भाइरसको विरुद्धमा खोप र औषधि निर्माणमा लागिपरेका केही कम्पनी र केही नयाँ कम्पनीहरू पनि यो भाइरसलाई ठेगान लगाउनसक्ने खोप र औषधि निर्माणमा जुटेका छन् । खोप निर्माण सजिलो छैन । धेरै ठुलो लगानी चाहिन्छ । धेरै चरणको परिक्षण अनुसन्धान गर्नु पर्ने हुन्छ । सफलता हात पार्न निक्कै गाह्रो छ । यद्यपी ठुलो जोखिम मोलेर खोप निर्माणमा २१ वटा कम्पनीहरू लागि परेको मार्केटवाचले जनाएको छ ।  


मार्केटवाचका अनुसार अमेरिकामा खोप बनाउन जुटेका  धेरैजसो कम्पनीहरूले दुई संस्थाबाट आर्थिक सहयोग पाइरहेका छन् । अमेरिकाको स्वास्थ्य र मानव सेवा विभाग अन्तरगतको बायोमेडिकल एडभानस्ड रिसर्च एंड डेभलपमेन्ट अथोरिटी (बार्डा) र अमेरिकाको केन्द्रिय स्वास्थ्य बिभाग अन्तरगतको  एलर्जी साथै संक्रामक रोगहरू (एनआइएआइडी) नियन्त्रण गर्ने निकायबाट खोप विकासमा सहयोग पाइरहेका छन् ।


केही कम्पनीहरूले ओसलोमा आधारित जैविक संस्था कोलियसन फर एपिडेमिक प्रेपरनेस इनोवेशनस (सीईपीआई) बाट पनि रकम प्राप्त गरिसकेका छन । यी दुई निकायले खोप बनाउनेहरूलाई लाखौं डलर उपलब्ध गराएको छ । यहाँबाट सहयोग नपाएका कतिपय कम्पनीहरूले आफ्नै लगानी वा यस क्षेत्रमा लगानी गरिरहेका अरु कम्पनीहरूको सहयोग र साझेदारीमा अनुसन्धान अगाडि बढाएका छन् ।
अमेरिकामा भ्याक्सिन विकास गर्न लागिपरेका कम्पनीहरू


गिलेड साइन्स
यो कम्पनीले आफ्नो औषधिको क्लिनिकल परीक्षण तेस्रो चरणमा पु¥याएको छ । हेपाटाइटिस सी को विरुद्धमा पहिलो पटक प्रभावकारी औषधि निर्माण गरेको यो कम्पनी पनि कोरोना भाइरस कोभिड १९ को असरहरू निस्तेज गर्ने औषधि निर्माणमा लागि परेको हो । यसले कोरोना संक्रमित सयौँ बिरामीमा परीक्षण गरिरहेको छ । यो कम्पनीले औषधिलाई छिटै बजारमा ल्याउनसक्ने अनुमान गरिएको छ । 


रेजेनेरोन
यो औषधि कम्पनीले पनि आफ्नो उत्पादनलाई दोस्रो चरणको परीक्षण सकेर तेस्रो चरणमा लग्दै छ । यो कम्पनीको औषधि न्युयोर्क लगायत बिभिन्न सहरमा कोरोना संक्रमित ४ सय बिरामीमा परीक्षण भइरहेको छ । 


रोच 
विश्व प्रख्यात औषधि कम्पनी रोचले पनि कारोना भाइरस विरुद्ध काम गर्ने औषधिको तेस्रो चरणको परीक्षण बिरामीमा भइरहेको जनाएको छ । रोचले ३३० जना कारोना संक्रमितमा औषधिको तेस्रो चरणको परीक्षण शुरु गरेको जनाएको छ । 


सानोफी 
प्रभावकारी खोप निर्माणमा लामो इतिहास बनाएको यो कम्पनी कोभिड १९ लाई निस्तेज पार्न डीएनए बेस खोप निर्माणमा जुटेको छ । यो कम्पनीसँग फ्लु भ्याक्सीन पनि निर्माण गरेको अनुभव पनि छ । दुई तिन महिना भित्रै खोपको परीक्षण थाल्ने जनाएको छ । 


ग्ल्याक्सो 
खोप निर्माणमा यो कम्पनी विश्व प्रख्यात छ । यस क्षेत्रमा काम गरिरहेका प्रख्यात कम्पनीहरुसँग आर्थिक र प्राविधिक सहकार्यमा खोप निर्माण गरिरहेको छ । यो कम्पनीले यसै बर्ष भित्र दोस्रो चरणको परीक्षण गर्ने जनाएको छ । 


६ एमजेन इंक 
यो कम्पनी कोरोना भाइरस कोभिड १९ लाई मानव शरीरले पहिचान गर्ने र त्यस विरुद्ध लड्नसक्ने एन्टिबडि बनाउन सहयोग पु¥याउने प्रकारको खोप निर्माणमा जुटेको छ । खोपको अनुसन्धानको काम प्रारम्भिक चरणमा नै रहेको कम्पनीले जनाएको छ । 

७ बायो एन टेक 
यो कम्पनीले पनि खोप निर्माणको काम प्रारम्भिक चरणमा नै रहेको उल्लेख गरेको छ । अप्रिलको अन्त्यतिर अमेरिका र जर्मनमा प्री क्लिनिकल ट्रायल शुरु हुनसक्ने संभावना औल्याइएको छ ।  

८ क्यालसी मेडिकल इंक
यो कम्पनीको औषधि दोस्रो चरणको क्लिनिकल परीक्षणमा पुगेको छ । यो कम्पनीले केही फरक प्रकारको औषधि निर्माण गरिरहेको छ । कोभिड १९ का कारण निमोनिया भएर स्वासप्रस्वासमा समस्या हुँदा आइसीयू र भेन्टिलेटरमा राख्नु पर्ने बिरामीलाई यो प्रभावकारी हुने छ । यो औषधिको दोस्रो चरणको परीक्षण सेन्ट पल, मिन्नीको क्षेत्रीय अस्पताल र डेट्रोइटको हेनरी फोर्ड अस्पतालमा भइरहेको छ । 

९ क्याडी

यो कम्पनीले पनि कोरोना संक्रमितको उपचारमा सहयोग पुग्ने औषधि निर्माण गर्दै छ । औषधिको दोस्रो चरणको परीक्षण चलिरहेको छ । कोभिड १९का बिरामीमा देखिने स्वासप्रस्वासको समस्यामा समाधान गर्न उपयोगी हुने औषधि निर्माणको परीक्षण मध्यभागमा पुगेको कम्पनीले जनाएको छ । 

१० डाइनभ्याक्स
यो कम्पनीले पनि कोभिड १९ विरुद्ध मानव शरीरमा प्रतिरोधात्मक क्षमता बढाउने खोप निर्माणमा जुटेको छ । 

११ हिट बायोलोजिक्स
यो कम्पनीले पनि कोरोना भाइरस कोभिड १९को विरुद्ध काम गर्ने भ्याक्सिन निर्माण गर्ने जनाएको छ । खोप निर्माणका लागि चाहिने आर्थिक र प्राविधिक पक्षलाई बलियो बनाउन यस क्षेत्रमा कामगरिहेका अरु निकायसग पनि कम्पनीले संझौता गरेको छ । 

१२ इनो 
यो कम्पनीले पनि कोरोना भाइरसलाई तह लगाउन डीएनए बेस खोप निर्माण गर्दै छ । अमेरिकाको पेन्सलभेनिया र कन्सासमा यो खोपको पहिलो चरणको परीक्षण जारी छ । यो कम्पनीले आफ्नो खोप चीन र दक्षिण कोरियामा मानिसमा परीक्षण गर्दैछ । क्लिनिकल परीक्षणका लागि यो कम्पनीले ३ हजार थान खोप उत्पादन गरेको थियो ।   


१३ जोनसोन एण्ड जोनसोन
खोप निर्माणका लागि अनुसन्धनमा ठूलो लगानी गरेको यो कम्पनीले पनि कोभिड १९ 
विरुद्धको आफ्नो खोप क्लिनिकल परीक्षणको पहिलो चरणको नजिक पु¥याएको जनाएको छ । 


१४ मोडेर्ना
यो कम्पनीले आरएनए बेस्ड खोप निर्माण गर्दै छ । यसले वासिंटन स्थित काइजरमा आफ्नो खोपको परीक्षण गर्ने उल्लेख गरेको छ । 


१५ नोभभाक्स
यो कम्पनीले आफुले निर्माण गर्ने खोपको पहिलो परीक्षण आउदो मे महिनाबाट गर्ने जनाएको छ । खोपको अनुसन्धानमा यो कम्पनीले ठुलो लगानी गरिरहेको छ । 


१६  आरइजीएन
यो कम्पनीले पनि कोभिड १९ विरुद्ध काम गर्ने खोप निर्माण गर्ने जनाएको छ । यो कम्पनी खोप निर्माणमा सफल भएमा मानव शरीरमा कोरोना भाइरस प्रतिरोधि शक्ति निर्माण गर्न सक्ने छ । यो पनि पहिलो चरणको परीक्षणमा जाँदैछ ।


१७ टकेडा
यो कम्पनीले संक्रमित भएर स्वास्थ्य खराव अवस्थामा पुगेका र स्वस्थ भएका  बिरामीको प्लाज्मा लिएर औषधि निर्माण गरिरहेको छ । 


१८ भ्याक्सआर्ट
कोरोना भाइरस बिरुद्ध काम गर्ने खोप निर्माण गर्न लागि परेको सार्वजनिक गर्ने यो विश्वकै पहिलो कम्पनी हो । यो कम्पनी गत जनवरीबाटै खोप निर्माणमा लागि परेको छ । यो कम्पनीले वरल भ्याक्सिन 
निर्माण  गर्ने प्रक्रिया थालेको हो । खोपको क्लिनिकल परीक्षण केही महिनामा नै शुरु गर्ने जनाएको छ ।

१९ भिर बायोटेक्नोलोजी
कोरोना भाइरस विरुद्ध एन्टिबडि निर्माण गर्ने प्रकारको औषधि निर्माणमा यो कम्पनीले फेब्रुवरीबाट काम शुरु गरिसकेको छ । 


माथि उल्लेखित कम्पनीहरुसँग मिलेर अरु दुईवटा औषधि उत्पादक कम्पनीहरू पनि खोप निर्माणमा लागिपरेका छन् । खोप निर्माणमा धेरै चरणमा अनुसन्धान र परीक्षण गर्नु पर्ने हुँदा खोप निर्माण हुन कम्तिमा एक बर्ष लाग्ने छ । खोप निर्माण गर्न समय लाग्ने भएता पनि कोरोना भाइरसको संक्रमण कम गर्न र बिरामी बचाउन सहयोगी खाने औषधिहरु भने बजारमा छिटै आउने अनुमान गरिएको छ । 


स्रोत: मार्केट वाच र स्वास्थ्य पत्रपत्रिका
तस्विर: फरच्युनबाट


४ बैशाख २०७७, बिहीबार १९:५५ मा प्रकाशित