प्रधानमन्त्री मानसिक रुपमा विक्षिप्‍त र शारीरिक रुपमा अशक्त 

प्रा. डा. दुर्गा दाहाल     १३ बैशाख २०७७, शनिबार ०२:११    

Anil Baral Real Estate

प्रा. डा. दुर्गा दाहाल

वर्तमान प्रधानमंत्री अस्वस्थ छन । शारिरीक र मानसिक रूपले पनि । यस्ता प्रधानमंत्रीबाट हुने निर्णयहरू पनि गलतनै हुन्छन । यो जान्दा जान्दै हामी सबै मिलेर उनीमाथि खनिनु भन्दा जानिफकार वकीलहरूको मद्दत लिएर उनलाई बेलैमा अवकाश दिनु पर्छ । सबै पार्टीका स्वस्थ नेताहरूको राउण्ड टेबल कन्फरेन्स मार्फत यो गर्न सकिन्छ । किनभने, यो संकटको घड़ी हो । यस घडीमा सबैले मिलेर एउटा सर्वदलीय सरकार गठन गर्नु पर्ने अपरिहार्यता छ ।

प्रधानमंत्रीको अध्यादेशको खेल र दबाब पछि फेरि अध्यादेश फिर्ता लिने कार्य निन्दनीय छ र यो स्वस्थ मानसिकताको निर्णय हैन । राष्ट्रपति विद्या भण्डारीले तुरून्तै त्यसलाई सदर गर्नु झन खेदपूर्ण छ ।
मधेसी नेताहरू त मौसमको खेती गर्छन । उनीहरूको बारेमा के चर्चा गर्नु र । उपेक्षित, पीड़ित र अवहेलित मधेसीहरूको उद्धार अहिलेका मधेसी नेताहरूबाट कदापि संभव  छैन ।

नेपालको वर्तमान राजनीति अन्यैलग्रस्त छ र यो नेपाली नेताहरूको हातमा छैन । अबको दिशा निर्देश भनेको पुस्तान्तरण हो । पुराना नेताहरूलाई फालेर नयाँ नेताहरू आउनु पर्छ जो भाषणमा भन्दा कार्यमा विश्वास गर्छन र फोहोरी राजनीति भन्दा स्वच्छ राष्ट्रप्रेममा समर्पित छन ।

नेपालको राजनीति उहिल्यै देखि प्रभावित हुँदै आएको सत्यलाई सबैले बुझ्नु ज़रूरी छ । यो राष्ट्र स्वतन्त्र देखिएता पनि यहाँ ख़ास गरी भारतको  र साथसाथै अहिले पछिल्ला वर्षहरूमा आएर चीन, यूरोपेली यूनियन र अमेरिकाको प्रभुत्व रहँदै आएको छ ।

२०४६ सालको जन – आन्दोलन पछि त क्रमश: नेपाल फितलो हुँदै गएको स्थिति विद्यमान छ । नेपाली नेताहरूमा नेतृत्व क्षमताको कमी भएको, जनता र राष्ट्रप्रति समर्पित हुन नसकेको र परमुखापेक्षी प्रवृति भएकाले आजको यो दयनीय स्थिति हामीले भोग्नु परेको हो । सत्तामा गए पछि सबैलाई धन कमाउने हतारो भएको, आफन्तहरूलाई अयोग्य भए पनि माथिका   पदहरूमा स्थापना गर्न उद्यत भएको आदि- इत्यादि कारणले नेपालका सबै राजनैतिक दलहरूमा स्खलन देखिएको छ ।

कम्युनिस्टहरू त हिंसामा पलाएको पार्टी हो । वर्ग संघर्षमा विश्वास गर्ने पार्टीले जतिसुकै प्रजातंत्र, लोकतंत्र अथवा गणतंत्रको कुरा गरे पनि आफ्नो असली स्वरूप देखाएरै छाडछन भन्ने कुरामा हामी विश्वस्त भए हुन्छ । विडम्बनापूर्ण विषय के छ भने आजको नेकपा दुई तिहाईको बहुमत लिएर आए पनि नेपाली जनतालाई ढाँटेर, फोश्रा आश्वासन दिएर आएको बदनाम पार्टी हो । झापामा निर्दोष मानिसहरूलाई काटेर विकसित भएको एमाले र जंगलमा बास बसेर क़रीब १७, ००० मानिस मारेर आएको पार्टीलाई नेपाली जनताले किन मत हाले, त्यो पनि रहस्य र खोजीकै विषय बनेको छ । यो पार्टी अन्ततोगत्वा आपसी  कलह र आरोप- प्रत्यारोपमै समाप्त हुन्छ भन्ने कुरामा मलाई कुनै शंका छैन । यसले सत्तामा आए पश्चात जनजीविकाको सवालमा कुनै कार्य गर्न सकेको छैन । कुनै पनि हत्याकाण्डको रहस्य र हत्यारा पता लाउन सकेको छैन ।

अर्को पार्टी नेपाली कांग्रेसको पनि हालत गोल छ । यो पार्टीका शीर्षस्थ नेताहरू पनि बी. पी को राष्ट्रीयता, प्रजातंत्र र समाजवादको मूल सिद्धान्तलाई तिलांजलि दिएर केवल धन कमाउने र कम्युनिस्टहरूको पिछलग्गु हुनुमा आफ्नो पुरुषार्थ ठान्छन । बेला- बेलामा सत्ताको विरोध गर्नु बाहेक गाऊँ- गाऊँमा गएर संगठन अथवा प्रशिक्षण गर्न कांग्रेसले पनि जानेको छैन ।

कामरेड मदन भण्डारी र जीवराज आश्रित पछि कमजोर हुँदै गएको नेपाल, दरबार हत्याकाण्ड पछि त झनै कमजोर हुँदै गएको छ । के. पी ओली प्रधानमंत्री र विद्या भण्डारी राष्ट्रपति भए पछि नेपाल झन दलदलमा फँसेको स्थिति छ । सबै दलका शीर्षस्थ नेताहरू मिलेर राष्ट्रीय ढिकुटीको दोहन गरेका छन ।

यो नेपाल एउटा विचित्रको देश हो । यहाँ फोहोरी राजनीति छिटै मौलाऊँछ, फल्छ, फुल्छ । नागरिकहरू वाध्यता र विवशतामा बाँचेका छन । यहाँका धेरै नेताहरू जासूस, लम्पट र हत्यारा छन । न्यायप्रेमी मानिसहरूको बोली बन्द गर्ने व्यवस्था छ यहाँ । कतिपय नेताहरू यहाँ प्लान्टेड छन जसले देश अथवा राष्ट्रको हैन परन्तु विदेशीहरूको स्वार्थको निम्ति काम गर्छन ।

( प्रा. डा. दुर्गा दाहाल स्वतंत्र राजनैतिक विश्लेषक हुनुहुन्छ ।)


१३ बैशाख २०७७, शनिबार ०२:११ मा प्रकाशित