नेपालीहरूका लागि बसोबास योग्य  राज्य: पेन्सिल्भेनिया

प्रा. डा. दुर्गा दाहाल     ३१ बैशाख २०७७, बुधबार १६:२९    

Anil Baral Real Estate

प्रा. डा. दुर्गा दाहाल

अमेरिकाको  झण्डामा भएका ५० वटा ताराले अमेरिकामा भएका ५० वटा राज्यलाई प्रतिनिधित्व गर्दछन् भने त्यस झण्डामा भएका १३ वटा धर्काले पहिलोपटक स्वतन्त्र भएका राज्यहरूलाई  संकेत गर्दछन् । हरेक ताराले एउटा  राज्यको प्रतिनिधित्व  गर्दछ ।

पहिलो पटक स्वतन्त्र भएका १३ वटा राज्यहरू  मध्ये पेन्सिल्भेनिया  पनि एक हो ।

* पेन्सिल्भेनिया  ( Pennsylvania : Penn + Sylvannia ) 

अंग्रेज शासक चार्ल्स सेकेण्डले पहिलो  पटक यो राज्य ( भूमि ) William Penn  लाई बुझाएको हुनाले  यो राज्यको नाम Penn बाट शुरु भएको हो ।  ल्याटिन भाषामा Sylvannia भनेको Woods  ( जङ्गल ) हो । धेरै वन- जङ्गल भएको यो राज्य सर्वप्रथम Penn वंशलाई  बुझाएको   हुनाले यसको नाम Pennsylvania रहन गएको हो ।  Pennsylvania का मुख्य सहरहरूमध्ये फिलाडेल्फिया,  ह्यारिसबर्ग ,  पिट्सबर्ग   र  लेनक्यास्टर  पर्दछन् ।

पेन्सिलभेनियाको राजधानी ह्यारिसवर्ग  ( Harrisburg ) हो ।    यो वर्ग ( burg )  भन्ने  शब्दको  अर्थ  ( castle ) टापू,   बुर्जो  अथवा  अग्लो ठाऊँ हो ।    यो जर्मन  भाषाको शब्द हो ।  डचहरूले पनि प्रयोग गर्छन । सन १७८५ मा ह्यारिस जुनियरले आफना बुवाले  दखल  गरको  अग्लो  ठाउँमा   एउटा शहर बसाएको हुनाले   यस ठाऊँको नाम Harrisburg   रहन  गएको हो ।

अमेरिकाको पहिलो राजधानी पेन्सिलभेनिया राज्यको फिलाडेल्फिया ( Philadelphia )  हो । सन् 1774 को सेप्टेम्बर ५ देखि अक्टोबर १६ सम्म   पहिलो  पटक कन्टिनेन्टलको  पहिलो बैठक दि कारपेन्टर हल  ( The Carpenter Hall )  मा बसेको थियो ।  यो राज्यलाई The Keystone   State  or the Quaker state  को नामले पनि चिनिन्छ । अमेरिकाका १५ औँ राष्ट्रपति James Buchanan  पेन्सिलभेनियामा   नै जन्मिएका थिए ।

यो राज्यमा धेरै डाँडा-काँडाहरू छन् । भौगोलिक दृष्टिकोणले यो राज्य अमेरिकाको उत्तरी – पूर्वी  भागमा  अवस्थित  छ ।  यो राज्यमा करिब  चार  महिना जति धेरै चिसो हुन्छ  र यो हिउँले ओढिएको हुन्छ ।  यो राज्यमा अग्ला – अग्ला पहाडहरू र तालहरू पनि छन् । यहाँ को    Eric Lake   संयुक्त  राज्य अमेरिकाकै  चौथो ठूलो ताल हो  ।

यो राज्यमा निकै  उल्लेख्य सङ्ख्यामा नेपाली  विद्यार्थीहरूको  उपस्थिति पाइन्छ ।  राम्रोसँग पढ्ने विद्यार्थीहरूका  लागि यो राज्य उपयुक्त  मानिन्छ ।   University of Pennsylvania, Pennsylvania University,   Drextel University र Temple University  यस राज्यका  नामी  विश्वविद्यालयहरू हुन जहाँ नेपाली विद्यार्थीहरूको  सन्तोषजनक उपस्थिति छ ।

यो राज्यको  सीमाना New York, New Jersey, Maryland, Delaware, West Virginia र Ohio सँग  जोडिएको  हुनाले  नेपालीहरूको    आवागमन   बाक्लै पाइन्छ ।

नेपालीहरूको जीविका

उपर्युक्त सहरहरूमा नेपालीहरूको  उल्लेख्य उपस्थिति पाइन्छ । यो राज्यमा नेपालीहरूको खासै बसोबास  थिएन तर भुटानी नेपालीहरूलाई  अमेरिकाले पुनर्वासको सुविधा दिए पश्चात नेपालीहरूको संख्या वृद्धि भएको छ । विशेष गरि ह्यारिसबर्ग, Pittsburg,  Lancaster,  York  र निकटवर्ती क्षेत्रहरूमा नेपालीहरूलाई अमेरिकाले पुनर्वासको व्यवस्था गरिदिएको छ । यस राज्यमा पनि नेपालीहरू  प्राध्यापक,  चिकित्सक, वकिल, लेखापरीक्षक, नर्स, आई. टी विशेषज्ञ आदिका रूपमा देखिएका छन । ब्युटी पार्लर,  होटल- मोटल आदिहरूमा पनि देखिन्छन । Lafayette Hill ma त विनोद तामाङ र विमल तामाङद्वारा सञ्चालित The Persian Grill  नामक   दुईवटा   प्रख्यात  रेष्टूँराहरू पनि छन जहाँ अमेरिकनहरू खाना खानलाई धुइरो नै लाग्छन् । यी restaurant हरू त्यस क्षेत्रमा नामी छन ।

यो राज्यमा  पनि अरू राज्यमा भए सरह नेपालीहरूले उबर, लिफ्ट आदि ट्याक्सी चलाएर पनि जीविका निर्वाह गरेको देखिन्छ । कतिपयले   आया ,  न्यानी अथवा बेबी सिटरको काम गर्छन ।

ग्यास स्टेसन (Petrol pump) र होटलमा त नेपालीहरू पाइन्छन नै । यहीँ पढेकाहरूले, अंग्रेज़ीमा विशेष दखल भएकाले  र  ख़ास सीप   आर्जन  गरेकाले त अमेरिकी कम्पनीहरूमा पनि काम पाउँछन् तर अन्यहरूले जे पायो; त्यही गर्नु पर्ने वाध्यता र विवशता  हुन्छ  शुरूवाती  दिनहरूमा ।

नेपालीहरूले यहाँका  मलहरूमा, कार्टहरूमा पसल थापेर पनि बसेको पाइन्छ  । स-साना खुद्रा-पसलहरमा काम गरेर पनि नेपालीहरू केही वर्षपछि  घर किन्न र आफ्नै व्यापारसंचालन गर्न पनि सफल भएका छन ।

यसै राज्यमा  संयुक्त राज्य अमेरिकाको नामी चकलेट फ्याक्ट्री ( The famous Hershey Chocolate factory ) पर्दछ । यो ह्यारिसबर्ग (Harrisburg )   नजिक हर्सी काउण्टीमा अवस्थित छ ।  सन १९९० मा स्थापना भएको पहिलो BasketBall Stadium पनि यसै राज्यमा पर्दछ ।

यसरी हेर्दा यो राज्यमा नेपालीहरूले आफ्नो उपस्थिति इमान्दारीपूर्वक दर्ता गराएको देखिन्छ । भविष्यमा गएर नेपालीहरूले बसोबास गरेको   एउटा  गतिलो राज्यका रूपमा यो राज्यलाई पनि लिनसकिन्छ ।

सबैभन्दा सन्तोषजनक पक्ष के छ भने  संयुक्त राज्य अमेरिकामा घर भएका नेपालीहरू विरलै पाइन्थेभने अहिले आएर प्रत्येक  राज्यमा नेपालीहरूका  घर प्रशस्तै पाइन्छन ।  यो राज्यमा पनि आफ्नै घरभएका नेपालीहरूको संख्या प्रशस्तै छ ।

(अमेरिकामा नेपालीहरूको इतिहास र जनजीवन- पाँचौँ अध्याय )  क्रमस…

पुराना अध्यायहरु पढ्नका लागि तलको लिङ्कमा क्लिक गर्नु होला ।

टेक्सासमा नेपालीहरुको जनजीवन र इतिहास -४


३१ बैशाख २०७७, बुधबार १६:२९ मा प्रकाशित