अमेरिकाको मेरिल्याण्डमा एक नेपालीको मृत्यु मृतक तीन बर्षदेखि मेरिल्याण्डमा बस्दै आएका थिए

दूरबिन नेपाल     ५ जेष्ठ २०७७, सोमबार ०४:३७    

Anil Baral Real Estate

दूरबिन नेपाल, अमेरिका ।

   अमेरिकाको मेरिल्याण्ड राज्यमा एक नेपालीको मृत्यु भएको छ । अमेरिकी विधानसभा सदस्य ह्यारी भण्डारीले दिएको जानकारी अनुसार मृतक २५ बर्षीय आशिष केसी हुन । नेपालमा बाग्लुङ जिल्लाका केसी तीन बर्षदेखि मेरिल्याण्डमा बस्दै आएका थिए ।

तलाउमा डुबेर मृत्यु

आशिषको मृत्यु तलाउमा डुबेर भएको विधानसभा सदस्य भण्डारीले जनाएका छन । उनका अनुसार केसी गत शुक्रबार मेरिल्याण्डको रिची हाइवे नजिकको तलाउमा डुबेका थिए । उद्धारकर्ताहरुले केसीलाई युनिभर्सीटी अफ बाल्टिमोर वाशिङ्टन सेन्टरमा पुर्याएका थिए । तर आइतबार सो मेडिकल सेन्टरले मृतक घोषित गर्यो । शुक्रवार आशिष आफ्ना भतिजा र साथीहरु सहित तलाउमा पुगेका थिए । तलाउको मध्य भागमा पुगेपछि केसी सहयोगको याचना सहित चिच्याएको प्रत्यक्षदर्शीहरुले बताएका छन ।

केहीले उद्धारको प्रयासपनि गरेका थिए । उनको उद्धार हुन नसकेपछि प्रहरीलाई खवर गरिएको थियो । खबर पाउदासाथ हेलिकप्टरबाट उनको उद्धार गरिएको थियो । उद्धारमा खटिएको सिपिआर (कार्डिओपल्मोनरी रिससिटेशन) टोलीले घाइते केसीलाई अस्पताल पुर्याएका थिए । डा सारा भायलाले दिएको जानकारी अनुसार तीन पटक सम्म वन्द भएको मुटुको धडकनलाई फर्काउन सफल भएका थिए । सँगै २० घण्टा सम्म शरीरलाई वार्म गराउदै मेकानिकल भेन्टिलेटरमा राखीएको थियो । तर सो प्रयास सफल हुन सकेन । अस्पताल पुर्याउदा नै केसीको मुटुको धडकन कमजोर भएको, मृगौला फेल भएको र व्रेनमा समेत गम्भिर असर परिसकेको अस्पतालले जनाएको थियो ।

विधानसभा सदस्य भण्डारीका अनुसार उपचारमा विशेषज्ञ चिकित्सकहरुले संभव भएसम्मको उपचार गरेका थिए । केसीको मृत्युको खबर नेपालमा रहेका परिवारलाई गराइसकिएको भण्डारीले जनाएका छन । केसीको अन्तिम संस्कार प्रक्रियाका बारेमा पनि परिवार र स्थानीय संघसंस्थाहरुसंग छलफल भइरहेको बताइएको छ ।

 


५ जेष्ठ २०७७, सोमबार ०४:३७ मा प्रकाशित