कोभिड–१९ महामारी र विवश अमेरिकी जनता एउटा स्वास्थ्यकर्मीको अनुभव

दूरबिन नेपाल     १३ जेष्ठ २०७७, मंगलवार ०३:५३    

Anil Baral Real Estate

तारा भट्टराई, न्युयोर्क, अमेरिका

यतिबेला म कोभिड– १९ को ईपिसेन्टर न्यूयोर्कमा छु र अमेरिका कत्तिको समृद्धशाली देश रहेछ र आपतकालिन अवस्थालाई कसरी सामना गर्दाेरहेछ त भन्ने कुरा आफ्नै आँखाले देख्ने, हेर्ने र मनभरि महसुश गर्ने मौका पाईरहेकी छु । न्यूयोर्क जस्तो अस्तव्यस्त र भद्रगोल ठाउँमा बस्ने बासिन्दा म कोभिड–१९ को महामारी अवस्थाको प्रत्यक्षदर्शी र साक्षी पनि हुँ । एकातिर पत्रकारिता गरेको थोर बहुत अनुभव अनि अहिलेको महामारीमा स्वास्थ्य क्षेत्रमा काम गर्ने अवसरसँगै दैनिक कोरोना भाईरसका बिरामीहरुको रेखदेख गर्ने क्रममा उनीहरुसँग उठबस त भईनै हाल्ने कुरा भयो । यस्तो अवस्थामा पत्रकारिताको आँखाले अमेरिका त्यसमाथि पनि घनावस्ती भएको न्यूयोर्कलाई अहिलेको परिस्थितिमा नियाल्दा यहाँका जनताले अत्यन्तै बिषम र दर्दनाक परिस्थितिको सामना गरिरहेका छन् भन्दा फरक पर्दैन । अर्काे सरल भाषामा भन्ने हो भने कतै मानवीयता हराएको देश यहि त होईन भन्ने पनि लागिरहेको छ ।

 

 

हुनपनि सद्दाम हुसैनलाई फाँसिदिने अमेरिका, इरानी कमान्डर जनरल कासिम सुलेमानीलाई गोली ठोक्ने अमेरिका, आणविक बम र रासायनिक हतियारमा अर्बौं डलर खर्च गर्न सक्ने अमेरिकामा मानिसहरु सुक्ष्म भाईरसको उपचार नपाएर कुकुर झै सडकमा मर्लान भन्ने मैले जिवनमा कल्पनासम्म पनि गरेकी थिइन । आणविक भट्टीमा त्यति ठूलो लगानी गर्ने अमेरिकाले अरुको त के कुरा अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मीहरुलाई एउटा मास्क र गाउन उपलब्ध गराउन नसक्दा म जस्ता स्वास्थ्य क्षेत्रमा काम गर्नेहरुले एउटै गाउन २० पटक धोएर लाउनुपर्ने अवस्था छ । ठूलो कुरा त के गर्नु ? सामान्य ज्वरो नाप्ने र अक्सिजन नाप्ने मेसिनहरु पनि पर्याप्त छैनन् । भएको पनि बिग्रिएका छन् र बिग्रिएको छ, ब्याट्री सकिएको छ भन्दा कान सुनिदिने मान्छेको पनि यहाँ अभाब छ । ज्वरो नापिसकेपछि कहिले काहि त लेख्ने कागजको खोस्टो पनि उपलब्ध हुँदैन । बिहानै एउटा सर्जिकल मास्क थमाई दिएर काममा पठाउँछन् र अर्काे माग्यो भने छैन भन्छन् ।

 

 

अस्पताल ब्यवस्थापनले मेडिकल माफियाहरुहरुसँग नाफा नअसुलिकन अस्पतालमा कुनै पनि सामाग्री आईपुग्दैन । हप्तौसम्मको नाफा घाटाको बार्गेनिङ भईसकेपछि बल्ल पीपीई बनाउने कम्पनिलाई अर्डर भएर आईपुग्दासम्ममा धेरै स्वास्थ्यकर्मीहरु भाईरस संक्रमण भएर छट्पटाईरहेका थिए भने कतिपयको ज्यान पनि गईसकेको थियो । बजारमा एकाएक सिटामोल, लाईसोल, हेण्डसेनिटाईजर गायब भईसकेको थियो । स्वास्थ्यकर्मी जोगाउन समेत असक्षम सरकार देखेपछि धेरै स्वास्थ्यकर्मीहरुले राजिनामा दिएर घरमै बसे भने गभर्नरले बाहिरी राज्यहरु र देशबाट समेत स्वास्थ्यकर्मीहरुको माग गरिरहेका थिए । अरुको त के कुरा गर्नु ? मेरो आफ्नै कुरा गर्दा म आफुले आफैलाई भन्दा पनि धेरै मायाँ गर्ने प्रियजनहरु घरमा भाईरस लागेर छटपटाइ रहेका बेलामा मेरो अपार्टमेण्टबाट दुई माईल र अढ़ाई माईल टाढाको दुरीमा रहेका अमेरिकामा नै नाम चलेका दुई ठुला अस्पतालहरुमा मैले पठाउन सकिन । कति पटक ९११ नम्बर दबाउन खोजे तर हात काप्यो । अस्पतालमा पुगेदेखिको वातावरण सम्झेर मैले औलाले फोन नम्बर दबाउन सकिन । मलाई प्रष्टसँग थाहा थियो कि भाईरसले गलाईसकेको मेरो मान्छेले परैबाट कुकुरलाई झै फालिदिएको कुहिएको टर्कि र सुँगुरको मासु बिचमा कोचिएको चिसो पाउरोटी र बाथरूमको पानी वाक्यानको सोडा, अस्पतालका चगमभ कर्मचारिहरुको ब्यवहारले दुई दिन पनि जिवन धान्न सक्दैन भन्ने कुरा । केहि गरेर जिवन गैहाल्यो भनेपनि उनिहरुले लासलाई युद्धमाछोडिएको बेवारिसे बम जस्तै फालेर छोड्नेछन र दोहोर्याएर त्यहा‘ पुग्ने समय उनीहरुसँग हुनेछैन भन्ने पनि मलाई थाहा थियो । यस्तै बिबिध कारणले मैले अस्पताल नपठाईकन मन दर्हाे पारेर भगवानसँग प्रार्थना गरे र जे भएपनि घरैमा होस कमसेकम अन्तिम अवस्थामा हात समात्न र बाई गर्न त पाउछु नी भन्ने ठाने । निरन्तर स्याहार सुसारपछि अन्त्यमा निकोभयो । यो त मेरो ब्यक्तिगत कुरा भयो । 

 

 

जब कोभिड १९ को बिषयमा वुहानमा आउटब्रेक भएको रिपोर्टिंग पत्रकारहरुले गरिरहेकाथिए र चाईनाबाट भाईरस प्लेन चढेर अमेरिका उड्ने अन्तिम तयारी गरिरहेको थियो । त्यतिबेला यता अमेरिकाका सबै अस्पताल प्रशासन र हेल्थ ईन्स्टिच्यूसनहरु लगभग निदाएको अवस्थामा थिए । मार्च २ का दिन न्यूयोर्कको वेचेस्टर काउण्टीमा पहिलो केस देखापरिसक्दा पनि न्यूयोर्कका अस्पतालहरुमा सेन्टर फर डिजीज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी ) ले अस्पताल तथा स्वास्थ्य कर्मीहरुलाई कोरोनाभाईरसको कसरी सामना गर्ने भनेर केहि गाइडलाइनहरुपनि जारी नै गरेको थिएन । अहिले महामारीको दुई महिना नाघिसक्दा पनि अमेरिकाको प्रमुख स्वास्थ्य एजेन्सी सेन्टरफर डिजीज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी ) को निश्चित र गाइडलाइनहरु नै छैनन् । अस्पताल र स्वास्थ्य संस्थाहरुका बाहिर गेट देखिनै नियम कानुनहरुले दैनिक रंगिइरहन्छन् हरेक दिन पढ्नपनि नभ्याईकन च्यातिन्छन् । फेरी अर्काे दिन बिहानै नयाँ नियमहरु भित्तामा टाँसिईसकेका हुन्छन् । हामी टिभीका समाचारहरु र सोसियल मीडिया हेरेर अब निकट भविष्यमा हुने आफ्नो मृत्युको भन्दापनि मृत्यु अगाडी पाईने र हुने पिडा, हैरानी र दुखको सुनिश्चितता गरेर बसेका हुन्छौ । संसारमा आजसम्म मान्छेलाई लाग्ने जति सबै रोगहरुको सामनागरिसकेका स्वास्थ्यकर्मीहरु कोरोना भाईरसको सामना कसरी गर्ने भनेर अझै पनि आत्तिने अवस्था छ । 

 

 

अमेरिकामा मिडियाहरुले पनि त्यस्तै अत्यासलाग्दा समाचारहरु मात्रै पस्किरहेका छन् । मार्च १५ सम्म भिडभाड तथा समुहमा जान मानिसहरुलाई कुनै बन्देज लगाईएको थिएन । उता राष्ट्रपति ट्रम्पले कोरोना भाईरस सिजनल फ्ल्यु भन्दा पनि कमजोर रहेको बताईदिएका कारण अमेरिकनहरु मास्क लगाउन अझै पनि मान्दैनन । स्वास्थ्य बिज्ञहरुलेपनि तिमी बिरामी छैनौ भने मास्क लगाउन जरुरी छैन भनेर आफ्नो भनाई सार्वजनिक गरे । स्वास्थ्य बिज्ञहरुको जस्तो गाइडलाइन हुन्छ अरुलाई पनि त्यहिं अनुसार गर भन्ने हो । अप्रिल ३ मा सरकारले अफिसियल रुपमा नै सबैले मास्क लगाउने वा फेस कभर गरेरमात्रै बाहिर निस्कने स्टेटमेण्ट जारि गर्याे । नगरे जरिवाना लगाउने भन्यो । केहिलाई समातेर टिकट पनि दियो । अमेरिकन जनतालाई के गर्ने भनेर अन्योल भैरहेकै बेलामा रातारात नियम फेरेर फाईन तिराउन लगायो । उता राष्ट्रपति ट्रम्पले लाईसोल र डिटोल खानु भने । केहि मानिसहरुले त्यसै गरे । उता निर्माता कम्पनीहरुले जनस्वास्थ्यको लागि खतरा छ, नखाउ र खानको लागि बनाईएको होईन भनेर बक्तव्य नै निकाल्यो । मुलधारका मिडियाहरुले पनि सोहि अनुसार नै रिपोर्टिङ गरेर सर्वसाधारणहरुलाई सूसुचित गराउदै गए । यता म जस्ता स्वास्थ्य क्षेत्रमा काम गर्नेहरुलाई के गर्ने र के नगर्ने भनेर झनै अन्योल हुँदैगयो । एका–एक आगो जस्तै गरि सल्किएको भाईरसले कसैलाई पनि छोड्ने अवस्था थिएन । अस्पतालहरुमा एकातिर बिरामीलाई कसरी रेखदेख गर्ने भन्ने ज्ञानको अभाव थियो भने गाउन र मास्क लगायत पिपीईको अभावमा लगभग सबै स्टाफहरुमा एक्सपोज भईसकेको अवस्था थियो । संक्रमित बिरामीहरु र मरेका लासहरु युद्धमा छोडिएका बेवारिसे बम जस्तै अवस्थामा थिए । न त उनिहरुका परिवारको उपस्थिति नै हुन्थ्यो ।

 

 

झण्डै ९ मिलियन मानिसहरु बस्ने न्यूयोर्क शहरका दैनिक हजारौ मानिसहरु कोभिड १९ संक्रमण हुँदैजाँदा स्वास्थ्य सेवा को जरुरी हुन थाल्यो । ९११ मा कल गरेको २० र ५० मिनेटको बिचमा एम्बुलेंस लिन त आईपुगे तर बिना पिपीईनै नाङ्गो हातले बिरामीलाई जुरुक्क उठाएर अस्पताल लगेको दृश्यले मेरो मन रुन्थ्यो । अस्पतालमा लगेर पनि तुरुन्तै औषधि पाईहालिन्छ भन्ने अवस्था पनि छैन । श्वास फेर्न गाह्रो भए अक्सिजन वा भेन्टिलेटरमा राख्ने हो । पर्याप्त भेण्टिलेटर पनि छैनन् । बाहिर बिरामीहरु लाईनमा छन् भनेर भेन्टिलेटरमा राखिएको बिरामीलाई अब लाईफ र डेथको छनौट गर भनेर म्रत्यु रोज्न बाध्य हुनुपर्याे । श्वास फेर्न गार्हाे हुँदा हुदै धेरैले घर फर्कनु पर्याे भने कतिपयले डिस्चार्ज गरेर अस्पतालको ढोका बाहिर पुग्न नपाउँदै ज्यान गुमाउन पुगे । कतिपयलाई बचाउने क्रममा कुन औषधिले काम गर्छ भन्ने प्रयोग गर्दा गर्दै ज्यान गएको हुनुपर्छ ।

 

कोभिड–१९ का बिरामीहरुलाई ज्यान हत्केलामा राखेर स्वास्थ्यकर्मीहरुले रेखदेख गरेको अवस्था पनि एकदमै टिठलाग्दो छ । नियम अनुसार हरेक आधा आधा घण्टामा सोधपुछ गर्न आईपुग्नु पर्ने हुन्छ । ईमर्जेन्सी परेर बटन दबाई सक्दा स्वास्थ्यकर्मीको उपस्थिति हुनैपर्छ । सामान्य ब्यक्तिको कुरा छोडेर शरिरमा क्याथेटर राखिएका, मुखबाट खान नसकेर शरिरमा ट्युब राखिएकाहरु लगायतका बेडमै दिशा पिशाब गर्ने दीर्घरोगीहरुको हेरबिचार गर्ने काम सजिलो पनि छैन । अस्पतालमा हेरचाह गर्ने ब्यक्तिले छेउमै गएर भाईरसको सामना गर्नुपर्छ । कति मानिसले कुरा बुझ्दैनन र नबुझेसम्म दश पल्ट नै किन नहोस बताईदिनुपर्छ । दोभासेको बन्दोवस्त गरेर पनि कुरा बुझाउनु पर्छ । माक्स लगाएर सीडीसी गाइडलाइनको दुरीबाट बोलेको धेरै जसो बुढा बुढीहरुले पटक्कै बुझ्दैनन । गरिब, धनि, कालो, गोरो, एसियन, अमेरिकन, अफ्रिकन, महिला , पुरुष, होचो पुड्को केहि नभनिकन सबैलाई समान तरिकाले ब्यवहार गरिनै पर्छ । 

 

सडकमा एम्बुलेंसका साइरनहरु तिखो स्वरमा बजेको आवाजÞ र अस्पताल बाहिर एम्बुलेंसहरुको लाईन देख्दा अनि अर्जेन्ट केयरहरुमा बिरामीहरुको लाईन देख्दा नियम बमोजिम गर्नुपर्ने मानवीय कार्यहरु भईनै रहेको जस्तो देखिन्छ । कागजमा कानुनहरु प्रष्ट लेखिएका छन् र कानुन ब्यवहारमा लागु गरेर ल्याप्चे लगाउने ठाउँमा लगाईएकापनि छन् र जहाँजहाँ हस्ताक्षर गरिनु पर्ने हो सबै पानाहरु नछोडीकन गरिएकोपनि छ । प्रविधिको सहयोगले अनलाईनमा बिद्यार्थीहरुले क्लास लिई नै रहेकाछन् । खान नपाउनेहरुलाई सरकारले चोकचोकमा खाना बितरण गरिरहेको जस्तो देखिन्छ । ट्याक्स तिर्ने अमेरिकनहरुलाई आम्दानी हेरिकन इन्टरनल रेभेन्यु सर्भिसेज (आईआरएस)ले चेक पठायो । बहुसंख्यक अमेरिकनहरु १२०० डलरको चेकका लागि योग्य भए र पाउने क्रम पनि जारिछ । तर यसका लागि पनि ठुलै खिचड़ी पाक्यो । अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभमा बहुमतमा रहेका डेमोक्र्याटहरुको निरन्तरको जोडबल पश्चात सिनेट र ह्वाइटहाउसको सहमति जुटेपछि यो रकम दिन आईआरएस लाई अधिकार दिईएको हो । तर धेरै आम्दानी हुने अमेरिकनहरुलाई ट्रम्प सरकारले लाखौ लाख डलर बाँडिरहेको छ । उनीहरुको भिड–१९ बाट जोगिन अमेरिका भित्रै छुट्टै कोलोनी बनाएर सुरक्षित बसेका छन् । उनीहरु अब दुई बर्ष बाहिर निस्कनेवाला पनि छैनन् । रिपब्लकिनहरुले जनतालाई प्रत्यक्ष राहतदिने कुरामा पक्षपोषण गर्दै गर्दैनन् र साहु महाजनलाई नै सक्दो सहायता गरेर गरिबजनतालाई न्यूनतम ज्याला दिएर काममा जोताईरहन चाहान्छन् ।

 

अहिले कोभिड–१९ का कारण रोजगारी गुमाएर अमेरिकीहरुले बेरोजÞगारी भत्ताका लागी आवेदन भरेका छन् । आगामी नोभेम्बरमा चुनाव नहुने थियो भने बेरोजगारी भत्ता भन्दा भाइरसको महामारी चलिरहेका बेला सर्वसाधारणलाई काममा जान नै बाध्य पार्थे । उता हजारौ मानिसहरु सडकमा भिखारी भएर प्लेटमा खान थाप्न बसेका छन् । लाईनमा बसेर अमेरिकनहरुले खाना थापेको देख्दा मनमा लाग्छ कति उदार अमेरिरिकी सरकार ? कस्तो चोक चोकमा सबैलाई खान बाँड्न सकेको ? यस्को कथा भने बेग्लै छ । के यहाँका नागरिकलाई राज्यले दिने सुविधाहरु यिनै हुन ? के यीनैलाई भरिपूर्ण र यथेष्ट मान्ने त ? भन्ने कुराले पटक पटक मलाई घोचिरहन्छ । कुनैदिन पनि यहाँको सिस्टम देखेर मनमा चैन नै हुँदैन । यहाँका हरेक मानिसहरु राज्यलाई तिर्नुपर्ने करमा कन्जुस्याई नगरिकन ईमानदारी पुर्वक समयमै ट्याक्स दाखिÞला गर्छन् । त्यो अनुसार सरकारले नागरिकहरुलाई शिक्षा, स्वास्थ्योपचार र रोजगारीको ग्यारेन्टी गरेको यहिं हो त भन्ने कुराले चिमोटि रहन्छ ।

 

 

म अमेरिकामा नयाँ आप्रवासी हुँ र नागरिकप्रति सरकारको दायित्व के हो भन्ने नै थाहा नभएको देश नेपालको पुर्वी जिल्ला पाँचथरको सानो गाउँमा जन्मे हुर्केकी मैले गरिवी, बेरोजÞगारी, अशिक्षा र स्वास्थ्य सेवामा पहुँच नहुदाका पिडाहरु राम्रैसँग नियालेकी हुँ । म आफै ४० बर्षको उमेरमा पराई अमेरिकनको आँगनमा उभिएर रोजगारी गरिरहेकी छु । मेरोदेशका म जस्ता काम गर्ने उमेरका लाखौ युवा युवतीहरु कि त बिदेशमा‘ छन् र स्वदेशमा हुनेहरु बेरोजगार छन । बेरोजगारी पनि गाउँको भन्दा शहरको दर्दनाक छ । तर हामी आफ्नो जोहो आफै गर्न सिकेका थियौ र जस्तो सुकै आपतकालमा पनि सरकारको भर नपर्ने बानी थियो । तर अमेरिकामा कोभिड–१९ को महामारीमा होस वा अरुबेला कै अवस्थामा किन नहोस सरकारले जनताको कमाईबाट सक्दो कर लिन्छ र जनतालाई न त राम्रोसँग बाँच्न दिन्छ नत मर्न नै दिन्छ । जिवनभर कमाएको पैसा आधा भन्दा बढी आफैले लिन्छ र आफुलाई चाहिएको बेलामा हेलचेक्र्याई गरेर खेलवाड गर्छ ।  अहिले अस्पतालले कोभिड–१९ बाहेक अन्य बिरामीहरुको उपचार गर्न मान्दैनन । कोहि इमरजेंसीमा गईहालेमा दिनभर पानि सम्म पनि खान नपाएको गुनासो सुनाउँछन् ।

 

 

यहाँ लकडाउन गरेको भनियो तरपनि खाद्यान्नका पसल, औषधी पसल, डेली ग्रोसरी स्टोरहरु, यातायात र पेट्रोल पम्पहरु खुलेकै थिए । भित्रीरुपमा बार रेष्टुरेन्टहरु खुलेकै थिए । पुर्णरुपमा लकडाउन भएको पनि छैन ।यसरी न्यूयोर्कको महामारीको अवस्थालाई केलाउदा सरकार जनस्वास्थ्य प्रति अलिकतिपनि जÞिम्मेवार छैन । एकातिर मानिसहरु जिवनको भीख मागिरहेका छन् भने अर्काेतिर ट्रम्प सरकार बजार खोलेर नाफा कमाउन हतार देखिन्छ । अस्पताल र औषधिमा लगानीभन्दा पनि हतियार खरिदमा नै लगानी गर्न उद्यत देखिन्छ । अहिलेको महामारीको अवस्थालाई कसरी सामान्यतर्फ फर्काउने र चाँडोभन्दा चाँडो औषधि पत्ता लगाउन भन्दापनि मलेरियाको औषधी हाइड्रोक्सी–क्लोरोक्वीन प्रयोग गर्न सुझाइरहेको छ ।

 

 

आफु ठुलो रिसर्चको काम गर्ने र सन्सारकै उत्कृष्ट र शक्तिशाली भन्ने अमेरिकनहरुले आफ्नो दिशा पिसाव धुन र लौण्ड्री गर्न समेत सन्सार भरका म जस्तै आप्रवासीलाई न्यून ज्याला दिएर रातदिन जोताएका छन । यसो गर्नु उनीहरुको महानता हो । तर यस्तो सुक्ष्मभाईरसको आवस्यक रिसर्च गरेर समयमा औषधि पत्ता नलगाईकन लास गनेर बसेको छ । एक शक्तिशाली देशले अर्काे देशलाई भाईरसको उत्पतिको बिषयमा आरोप प्रत्यारोप गर्नुपनि हाँस्यास्पद बिषय हो । भाईरसको उत्पत्ति जुनदेशबाट भएको भएपनि यस्को समाधानमा लाग्नु मानवाधिकारको ठेकेदार देश अमेरिकाको दायित्व हो ।

लेखक अमेरिकाको न्युयोर्कका स्वास्थ्यकर्मी हुन


१३ जेष्ठ २०७७, मंगलवार ०३:५३ मा प्रकाशित