रुकम घटनाबारे काँग्रेसले उठायो ३ प्रश्न 

दूरबिन नेपाल     १३ जेष्ठ २०७७, मंगलवार १४:०६    

Anil Baral Real Estate

अमेरिका । इतिहासमै निर्दही घटनाको रुपमा रहेको रुकुम हत्याकाण्डबारे विपक्षिदल नेपाली काँग्रेसले तीन प्रश्न उठाएको छ । काँग्रेसले अहिले पनि जातिय छुवाछुत हुनुलाई दुखद भनेको छ । यस्तै लकडाउनको समयमा एउटा जिल्ला अर्को जिल्ला कसरी पुगे भनेर प्रश्न गरेको छ । यस्तै काँग्रेसले घटनाको निष्पक्ष अनुसन्धान र दण्डको प्रश्न उठाएको छ ।

काँग्रेसद्वारा विज्ञप्ति 

जेठ १३, २०७७

रुकुम हत्याकाण्डले उब्जाएको ३ प्रश्नमा गम्भीर बनौं,
कानून हातमा लिनेहरुलाई अविलम्ब कार्वाही गरियोस् !

रुकुम पश्चिममा नृशंस हत्याकाण्ड भएको खबर लगत्तै नेपाली कांग्रेस केन्द्रीय कार्यालय निरन्तर रुकुमको पार्टी नेतृत्व, प्रशासन र स्थानीयसंग सम्पर्कमा रहेकोे छ । घटना गम्भीर छ र यसले केही गम्भीर प्रश्नहरु उब्जाएको छ । देशलाई नै स्तब्ध बनाएको घटनाको निष्पक्ष र गहिरो छानबिन गरेर कुनै मोलाहिजा बेगर दोषीलाई कडा कार्वाही गर्न नेपाली कांग्रेस माग गर्दछ ।

 

घटनाले उब्जाएको ३ प्रश्न

 

(१) सामाजिक विभेद र बिसंगतिको प्रश्न

कानूनी रूपमा जातीय विभेद र छुवाछूतलाई दण्डनीय बनाइएको छ, तर नयाँ संविधान पछिको नेपालमा पनि अझै पनि यस्ता घटना हुनु दुःखद छ । नेपाली कांग्रेसले रुकुमको घटनालाई दलित समुदाय माथिको हिंसाका रूपमा लिएको छ । प्रेम सम्बन्धमा जातीय प्रश्न खडा गरेर भएको हत्याको दोषीहरुलाई दण्डित गर्न नेपाली कांग्रेस माग गर्दछ ।

 

(२) राज्य प्रशासनको भूमिकामा प्रश्न

लक डाउनका समयमा एक जिल्लाबाट अर्को जिल्लामा युवाहरूको समुह जाँदै गर्दा रोक्ने कार्य प्रशासनले गरेको भए सायद यस्तो अप्रिय घटना नहुन सक्दथ्यो । राज्यको उपस्थिति न त्यसबेला देखियो न आक्रमणको घटना हुँदै गर्दा । नेपाली कांग्रेसले यो तथ्यलाई गम्भीरतापूर्वक लिएको छ र प्रशासन अनुपस्थिति उपर केन्द्रिय सरकारको धारणा माग गर्दछ ।

 

(३) निष्पक्ष अनुसन्धान र दण्डको प्रश्न

केही निश्चित मानिसले गरेको आक्रमणमा पुरै गाउँ समाजलाई बदनाम गराउने र दोषीलाई जोगाउने षड्यन्त्र हुनसक्ने संकेत हामीले पाएका छौं । जातीय विभेदको संकुचित मनोबिज्ञानले निहत्था युवाहरू माथि आक्रमणको कार्य गर्ने जो कोहि हुन्, तिनलाई कुनै ढिलाइ नगरी गहन अनुसन्धानको प्रक्रिया पूरा गरेर कानूनत अधिकतम दण्ड दिन नेपाली कांग्रेस माग गर्दछ ।

 

घटनामा जीवन गुमाएका नवराज बिक, टिकाराम सुनार र गणेश बुढा मगरको आत्माको शान्ति कामना गर्दै नेपाली कांग्रेस भेरी नदिमा बेपत्ता भएका भनिएका अन्य युवाको तदारुकता साथ खोजी गर्न नेपाल सरकार समक्ष आग्रह र माग गर्दछ । साथै घाइते युवाहरूको सिघ्र स्वास्थलाभको कामना गर्दछ ।
जय नेपाल !

विश्वप्रकाश शर्मा
प्रवक्ता एवं प्रमुख
सूचना, संचार तथा प्रचार विभाग
नेपाली कांग्रेस


१३ जेष्ठ २०७७, मंगलवार १४:०६ मा प्रकाशित