रुकुम चौरजहारी घटनाको निष्पक्ष छानविन गर : जनसम्पर्क समिति अमेरिका

दूरबिन नेपाल     १७ जेष्ठ २०७७, शनिबार २३:१५    

Anil Baral Real Estate

न्युयोर्क । नेपाली जनसम्पर्क समिति अमेरिकाले रुकुम चौरजहारी घटनाको निश्पक्ष छानविनको माग गरेको छ । समितिका सभापति आनन्द बिष्टले शनिवार विज्ञप्ति जारी गर्दै नरसंहारको घटनालाई राजनीतिक शक्तिको आडमा अन्यत्र मोड्ने षड्यन्त्र भएको समेत आरोप लगाएका छन् ।

बिष्टले विज्ञप्तिमा भनेका छन्,’नरसंहारको घटनालाई राजनीतिक शक्तिको आडमा प्रभावित बनाई यसलाई अन्यत्र मोड्नेगरी भैरहेका सबैखाले षड्यन्त्रका प्रति हामी खबरदारी गर्दै यसलाई राजनीतिले ढाकछोप गर्ने प्रयास नगर्न पनि हामी सचेत गराउन चाहन्छौं।’

जनसम्पर्क समिति अमेरिकाका सभापतिद्वारा जारी प्रेस-विज्ञप्ति 

मिति: मे ३०,२०२०

प्रेस बिज्ञप्ति
रुकुमको चौरजहारीमा यही जेठ १० गते २१ वर्षीय नबराज बिकसहितका युवाहरुमाथि भएको जघन्य हत्याकाण्डको घटनाबाट नेपाली जनसम्पर्क समिति,अमेरिका स्तब्ध भएको छ। हामी यसखाले बर्बर घटना र जातीयताका आधारमा हुने विभेदका प्रति घोर निन्दा र भर्त्सना गर्दै घटनामा संलग्न अभियुक्तहरुको तत्काल पहिचान गरी दोषीहरुलाई कडा कानुनी कारवाहीको माग गर्दछौं। जातीय विभेद संविधान र कानुनले नै बर्जित गरेको अवस्थामा कथित् जातीयताका नाममा जोडेर भएको यो घटनाका दोषीहरुले उन्मुक्ति पाउनु हुँदैन भन्नेमा हामी सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराउन चाहन्छौं।


यो घटना मानवता र मानव अधिकार विरुद्धको जघन्य अपराध हो। व्यक्तिको बाँच्न पाउने अधिकारको सुनिश्चितता हुनुपर्छ। जातीय छुवाछूत र भेदभावले हाम्रो समाजको रुपान्तरण गर्न सक्दैन। यस किसिमको जघन्य अपराध हाम्रो विद्यमान कानुन र व्यवस्थाको विरुद्ध छ। यो नरसंहारको घटना विद्यमान व्यवस्थाका लागि समेत एक कलंक हो। जातीय विभेदको यो कुरुप नमुनाले हाम्रो समाज रुपान्तरणमाथि कालो धब्बा लागेको छ।


यस घटनाको बारे तत्काल सरकारले निष्पक्ष छानबीन गरी दोषीलाई कडाभन्दा कडा कारवाही गर्नुपर्छ भन्ने हामी माग गर्दछौं। यस किसिमको घृणित र जातीय आधारमा हुने जुनकुनै घटना अक्षम्य छन् जसको हामी सधैं विरोध गर्दछौं । साथै अहिले यो नरसंहारको घटनालाई राजनीतिक शक्तिको आडमा प्रभावित बनाई यसलाई अन्यत्र मोड्नेगरी भैरहेका सबैखाले षड्यन्त्रका प्रति हामी खबरदारी गर्दै यसलाई राजनीतिले ढाकछोप गर्ने प्रयास नगर्न पनि हामी सचेत गराउन चाहन्छौं।

आनन्द विष्ट
सभापति,नेजस अमेरिका


१७ जेष्ठ २०७७, शनिबार २३:१५ मा प्रकाशित