आमा बाबूले सन्तानका लागि के गर्ने ?

दूरबिन नेपाल     ३० जेष्ठ २०७७, शुक्रबार ०३:२३    

आमा बाबूले सन्तानका लागि के गर्ने ?

तारा भट्टराई, न्युयोर्क

 

 

गत हप्ता जुड़ी सन्चोले आफ्नो ५५ औं बर्षको अवसरमा बर्थडे केक काट्ने तयारी गरिरहँदा एक्कासी उनको मुडमा परिवर्तन भयो । सधैं हँसिली फुर्तीली देखिने उनको अनुहारमा अकस्मात आएको परिवर्तन देखेर छेउमै बसिरहेकी मैले सटुक्क सोधें,
“किन तिमी एक्कासी खिन्नभएकी हँ ? रमाईलो माहोल बिगार्न लागेको जस्तो छ तिमीले ”
केकमा ठूलो अंकमा ५५ लेखिएको थियो । काट्नै लाग्दा उनले भनिन् “म बुढी हुनलागे तर दुई छोरीहरुलाई केहि पनि गरिदिएको छैन भनेर एक्कासी चिन्ता लागेर आयो ” ।
मैले छक्क पर्दै उनलाई भने,
“मैले सरसर्ती तिमीलाई हेर्दा त तिमी एक त सिंगल मदर, अर्काे जमैकाबाट आप्रवासी भएर आएकी महिला, औषत आप्रवासीहरुले जती गर्नुपर्ने हो त्योभन्दा धेरै राम्रो गरिरहेकी छौ, तिम्रा छोरीहरु त राम्रो शिक्षा पाएर आत्मनिर्भर पनि भैसकेका छन् त । जन्मदिनको केक काट्ने बेलामा केको पीर लिएकी नि ? ”

जुड़ीलाई यस्तो लाग्नुको मुख्य कारण चाहिं उनकी आमाको ५६ बर्षमा र बूवाको ६० बर्षको उमेरमा मृत्यु भएकाले जेनेटिक हिसाबले हेर्दा आफ्नो पनि पालो आईसकेकाले छोरीहरुका लागि दिने समय छोटो पनि हुनसक्ने भएकाले उनीहरुको जिन्दगीलाई अलिकति सजिलो गरिदिन हतारो भएको बताईन ।
जुडी सिंगलमदर हुन र उनका २७ र २४ बर्षका दुई छोरी छन् । एउटी कम्प्यूटर ईन्जिनियर अर्की फर्मेसीष्ट हुन् । दुबै जना काम गर्छन । जुड़ी भने अहिले हतार हतार छोरीहरुका लागि कुकबुक र साथ साथै भिडियो पनि बनाईरहेकी छिन । उनका छोरीहरु पढाईमा लागेर करियर बनाउँदा बनाउदै किचनको काममा अलिक पछाडि परेकाले अहिले उनीहरुलाई पकाउन पनि सिकाउँदै गरेको बताउँछिन ।
“मेरो आफ्नो अनुपस्थितिमा पनि मेरा छोरीहरुले खान मन लागेको कुरा पकाउनमा कन्फ्यूजन नहोस र आमाले बनाएकै स्वादानुसार पकाउन सकुन भनेर कुकबुक लेखेर छोडिदिन लागेकि हुँ ” उनी भन्छिन् ।
छोरीहरुलाई अति नै मनपर्ने केक, ब्ल्यूबेरी मफिन, चीज र पालुँगोको लजानिया , चिकेन अल्फ्रेडो जस्ता केहि परिकारहरुको भने भिंडियों नै बनाईदिने बिचार गरेको उनी बताउँछिन ।
कुकबुकमा उनले छोरीहरुलाई मन पर्ने खानाहरु कसरी बेक गर्ने, कुन कुन हर्वल र मसलाहरु हाल्ने, कुन कम्पनीको बटर र चीज किन्ने, कुन भाँडोमा पकाउने र कति हिट दिने, कतिबेरमा चेक गर्ने अनि खाना पाकिरहेको बेलाको समयको सदुपयोग कसरी गर्ने, खाएको बेलामा के गर्ने के नगर्ने , सकेसम्म ग्याजेट नचलाउने, तनाव नलिने, डिनरमा कुन बार के डिनर खाने र ब्रेकफास्टमा के खाने लगायत हेल्थ टिप्सहरु समेत सुझाएर लेख्ने र छोरीहरुलाई सुटुक्क छोडिदिने बिचार गरेकी छिन् ।
खानामात्र नभएर उनी सोफाका खोल कसरी सिलाउने, पर्दा कसरी सिलाउने र सामान्य उध्रेको र फाटेको कसरी सिलाउने भनेर भिंडियों पनि बनाईरहेकी छिन् । यतिमात्र नभएर बाथरूमको कमोट जाम भयो भने कसरी खोल्ने, ससाना फर्निचरहरु कसरी एसेम्बल गर्ने, नटबोल्ट लुज भयो भने कसरी कस्ने भनेर पनि उनले लेखेर र भिंडियों दुबै बनाउने कोशिस गरिरहेको बताउँछिन ।

“म बाचुन्जेल त उनीहरुलाई दुख हुँदैन । तर म नभएको खण्डमा पनि दैनिक जिवनमा घरभित्र आईलागेका समस्याहरुमा टाउको कन्याउनु नपरोस”
उनी भन्छिन् ।
हुनपनि जुड़ी क्यारेबियन समुद्री द्वीपमा पर्ने जमैका भन्ने देशबाट ३० बर्ष अगाढी अमेरिका आउदा हातमा दुईवटा डिग्री त थिए तर कुनै शीप थिएन । बल्लबल्ल स्टोरमा पाएको जागिरको पहिलो कमाईंले कोठा भाडामा लिएर पलंग किन्नलाई स्टोर गईन् । ल्याउने न गाडी थियो न त ड्राईभिंङ गर्नै आउँथ्यो । डेलिभरि चार्ज तिरेपछि बस्ने घरको ढोकामा पलंग त आईपुग्यो तर भित्र बेडरूम सम्म लानलाई बल तागत र जोड्नलाई शिप पनि चाहियो । छरछिमेकमा चिनजानका मानिसहरु पनि कोहि थिएनन् । उनले जोड्नका लागि मान्छे बोलाउदा ५० डलर भनेपछि उनीसँग त्यो पैसापनि थिएन । “त्यसपछि म तीन दिनभुईमै सुते र बिस्तारै नटबोल्टहरु कस्न सिकेर आफैले पलंग जोडें, आफ्नै कमाई र आफैंले जोडेको पलंगमा सुतेपछि कम्ता खुशी लागेन” उनी भन्छिन् ।
हुनपनि अमेरिकामा एउटा नयाँ फर्निचर किन्ने बित्तिकै कसरी जोडेर राख्ने भन्ने समस्या हुन्छ भने घरमा सानो कुरा बिग्रने बित्तिकै बनाउने सिप आफुसँग छैन भने बनाईदिने अर्काे मान्छे उपलब्ध हुँदैन । प्रोफेशनल मानिसहरुको शुल्क अत्यन्तै महँगो हुन्छ । यतिमात्र नभएर हरेक समस्याहरुसँग उनी एक्लै जुध्न थालेको र एक एक गर्दै लाईफ स्किलहरु सिक्दै गएको पनि उनी बताउँछिन । हुनपनि संसारमा कहिं पुरा नभएका सपनाहरु अमेरिकामा पुरा हुन्छन् भनेर मानिसहरु अमेरिका आउने गर्छन । तर सपना पुरा गराउने बहानामा यो देशले मानिसलाई सँघर्ष गरेर हरेक कुरामा निपुण पनि बनाउँछ । त्यसैले पनि होला अमेरिका आएपछि हरेक मान्छेले पुनर्जन्म लिनुपर्छ भनेको । आफुले पाएको दुस्ख हैरानीबाटै सिकेर आफ्ना दुई छोरीहरुलाई स्कुलमा छँदै डान्स, सिंगिंग, कराँटे, स्वीमिंग, पब्लिक स्पिकिंग लगायतका उनीहरुले चाहना गरेजति सबै कोर्षहरु गराई सकेको र अहिले घरेलू कामकाजका लागि तयारी गरिरहेको जुडी बताउँछिन ।
“म सँग बैंक ब्यालेन्स र बस्ने घर पनि छैन । मेरो कमाई आज कमायो भने आजैलाईमात्र खान पुग्छ । यदि मैले मिलियन डलरको चिठ्ठा जितिहाले भने पनि म छोरिहरुलाई एकपैसा पनि दिन्न । सबै रकम गरीब देशका छोरीहरुका लागि डोनेसन गर्नेछु । तर आजको प्रतिस्पर्धात्मक दुनियाँमा दुई छोरीहरुलाई योग्य नागरिक बनाएर उभ्याउन भने म हर प्रयत्नगर्छु” उनी भन्छिन् ।
यतिमात्र नभएर छोरिहरुलाई नयाँ ब्वाई फ्रेण्ड बनाउदा होस वा नयाँ नयाँ साथीहरु बनाउँदा पनि केहि नयाँ कुरा सिकाउन वा सिक्न सक्ने, वर्तमानमा केहि नभएपनि भविष्यमा धेरै सम्भावना बोकेका र क्रेएटिभिटी भएकाहरुसँग मात्रै संगत गर्न सुझाएको बताउँछिन ।
“अल्छि र जिवन प्रति नकारात्मक मानिसहरुसँग नेगेटिभ भाईब्रेसन हुन्छ, जस्ले केहि उर्जा पनि मिल्दैन” उनी भन्छिन् ।
“मैले आफ्नो कर्तव्यमात्र पुरा गरेकी हुँ, गर्ने नगर्ने त उनिहरुको जिम्मा हो” उनी अगाडी थप्छिन् ।
वास्तवमा जुडि एकल आमा भएर पनि उनले दुईटी छोरिहरुप्रति बहन गरिरहेको जिम्मेवारीले मलाई अचम्म बनायो । हुनपनि श्रम बिभाजन, छोराले गर्ने काम र छोरीले गर्ने फरक फरक काम अनि, फरक फरक ज्याला र माथिल्लो जातले गर्ने काम अनि तल्लो जातले गर्ने कामको बिभाजन देखेका मेरा यी आँखाहरुले मलाई जुड़ी जस्ता अभिभावक देख्दा अचम्म लाग्नु स्वभाविक पनि थियो ।

PlutonicTech

 

अझै अगाडी भन्नुपर्दा त पिट्ने, गालीगर्ने,तर्साउने, अरुका छोराछोरीहरुसँग तुलना गरेर होच्याउने, शारीरिक सजायँ र मानसिक दबाव दिने गरेको पनि समाजमा ब्याप्त देखेकीछु ।
म आफु स्वयंले पनि आफ्ना आवस्यकता, चाहाना, नैराश्यता, साथीभाईहरुसँग आएका समस्या, हिनताबोध, प्रेममा पाएको धोका लगायत आफ्ना दुख सुखका कुराहरु आफ्ना अभिभावकहरुलाई कहिल्यै पनि सुनाईन र अहिलेसम्म पनि म कसैलाई सुनाउन सक्दिन । केहि गल्ती भयो भने पनि लुकाएर छिपाएर राख्नु पर्ने हुन्छ । हुनत त्यो बेलामा गाउँ घर र समाजका मूल्य मान्यताहरुले सानैबाट तन मनमा नियन्त्रण गदै लान्थ्यो भने आफ्ना खुसीहरू पनि क्रमश खुम्च्याउने बानी परेको पनि हुन्थ्यो । त्यो बेलामा अहिलेको जस्तो ग्लोबलाईजेसन लगायत यातायात, शिक्षा र स्वास्थ्यको विकास पनि भएको थिएन । जिवनमा रोज्ने बिकल्पहरु पनि असाध्यै सिमित हुन्थे । त्यसमाथिपनि छोरी मान्छेलाई स्कुल छोडेको खण्डमा तुरुन्तै विवाह गर्नुपर्ने हुन्थ्यो ।
अहिले सम्झदा मलाई लाग्छ जिवन स्वस्थ, शान्त र स्थिर बन्नलाई पनि आफ्ना अभिभावकहरुको सामिप्यता नै जरुरी हुँदो रहेछ । तर खेतीपातीको व्यस्तताका कारण आमाबुबाको सामिप्यतापनि अत्यन्तै दुर्लभ जस्तै हुन्थ्यो भने दर्जनौं छोराछोरी एकैपटक हुर्कनुपर्ने भएकाले पनि आमाको न्यानो काखमा सुत्न मन लाग्दा वा बुबाको काँधमा बुईचढेर वा औँला समातेर डुल्न मन लाग्दा त्यति सजिलै पाउने अवस्था पनि थिएन । आमाको कोख र काख गरि जम्माजम्मी दुई बर्षको समय हुन्थ्यो । त्यसबिचमै आमाको कोखमा भाई वा बहिनीको बास भईसकेको हुन्थ्यो । जे भएपनि अहिलेको पुस्ता भाग्यमानी पुस्ता हो । हरेक आमा बाबूहरु सन्तानप्रति ठूलो जिम्मेवारी महसुस गर्न पनि थालेका छन् । जिम्मेवारी निभाउनु कठिन काम पनि हो । आफ्ना सन्तानलाई सिकाएका पाठहरुबाट नै उनीहरुको भविष्य पनि निर्भर रहन्छ । अहिले प्रतिस्पर्धात्मक दुनियाँमा कतिपय आमा बाबुहरुले आफ्नो व्यस्त दैनिकी र बैदेशिक रोजगारीले गर्दा चाहेर पनि छोराछोरी वीच सम्बन्ध आत्मीय हुन पाउँदैन ।

 

कतिपयले थाहै नपाएर आफ्ना छोराछोरीको रुची, चाहना, आवस्यक्ता, व्यवहारिकता , प्रतिभा क्षमता र मनोबिज्ञान बुझ्ने समय नै छुट्याएका पनि हुँदैनन् । भविष्यमा डाक्टर, ईन्जिनियर बन्ने सुनौला सपना बुनेर रुची नभएपनि बलजफ्ती एकोहोरो स्कुल, कलेज गएर पढ भन्ने र सन्तानको बर्तमान पनि अत्यन्त कष्टदायक बनाईदिने र आफुले पुरा गर्न नसकेका सपना र आफ्ना असफलता छोराछोरीले पुरा गरिदिउन भन्ठान्छन् धेरै अभिभावकहरु । जस्ले गर्दा पढ्न बाहेक अरु सिर्जनात्मक क्षमता र प्रतिभाको पहिचान प्रस्फुटन हुन पनि पाउँदैन ।

Bhatta Law & Associate

“मैले एकेडमिक शिक्षा पाएपछि के के न पाएँ जस्तो भयो । सर्टिफिकेट दराजमा थन्क्याएर जीवनमा कल्पनानै नगरेका कामहरु गरें । ब्यवहारिक ज्ञानको अभाबमा जीवनभर सधैं सँघर्ष गरिरहें । मेरा छोरीहरुलाई यस्तो दुख नहोस । एक नभए अर्काे ज्ञान वा शीपको सदुपयोग गरेर जीवन धानुन” जुडी बताउँछिन ।

लेखक न्युयोर्कमा स्वास्थ्यकर्मी हुन


३० जेष्ठ २०७७, शुक्रबार ०३:२३ मा प्रकाशित