हाम्रो स्वैरकल्पना र अबैधानिकताको जगमा उभिएको एनआरएनए अमेरिका

दूरबिन नेपाल     १९ असार २०७७, शुक्रबार १६:२६    

Anil Baral Real Estate

शैलेश श्रेष्ठ, न्युजर्सी

आहा ! भन्न र सुन्नलाई त कति मज्जा आउँछ, हामी सबैको साझा संगठन एनआरएनए अमेरिका । अझ त्यति मात्र हो र ? दलगत राजनीति, जात, धर्म, क्षेत्र, गोत्र र लिङ्गमा विभाजित भएर रमाएको प्रवासी नेपाली समाजमा “हाम्रोee“ र “साझा“ शब्दहरु सुन्न पाउँदा मात्र पनि हामी एकखाले स्वैरकल्पनामा रमाएर आह्लादित हुने गर्दछौं तर बिडम्बना हरेक प्रयासहरुका बाबजुद पनि यो संगठन कहिल्यै सबैको साझा संगठन हुनै सकेन ।

सन २०१४ अगाडीसम्म अपुताली परेको यो संगठन तथाकथित डेलिगेट्स पध्दतीद्वारा व्यक्तिको खल्ती, उन्माद र लहडमा संचालन हुन्थ्यो । संगठनका बारेमा केही नबुझेकै समयमा पुर्व अध्यक्षहरु प्रल्हाद केसी र सुमन राज तिम्सिनालाई निस्काशन गरिएको बजार हल्ला मैले सुनेको थिएँ । शिब कुमार राईले अध्यक्षता ग्रहण गरेको समयदेखि भने म यसका क्रियाकलापहरुमा आनयास सक्रिय रहें । यो संगठनको बारेमा मेरो मस्तिष्कमा आम जागरण र चेतना भर्ने काम तात्कालिक डीआरसी सोनाम लामाले गरे । उ बेलाका नामुद खेलाडीहरुसंग सामिप्यता कायम भयो । हामीलाई लाग्यो डेलिगेट्स पध्दतीको अन्त्य गरेर प्रत्यक्ष निर्वाचन प्रणाली अन्तरगत नेतृत्वको चयन गर्न सकियो भने एनआरएनएको अमेरिकामा ठुलो स्कोप छ । मैले महिना र गते बिर्सिएँ सन २०१४ मा हामीले एउटा अनौपचारिक भेला हिमालयन याक रेस्टुरेन्टको माथिल्लो तलामा आयोजना गरेका थियौं, जहाँ हाम्रो लामो गृहकार्यको परिणाम स्वरूप उक्त भेलामा तात्कालिक अध्यक्ष शिब कुमार राईलाई पनि सहभागी गराउन सफल भएका थियौं । त्यो भेलामा मैले उपस्थित भएका आकांक्षीहरुलाई यदी आगामी निर्वाचनमा उम्मेदवारी दिने भए “मोही माग्ने ढुङ्ग्रो लुकाउने“ काम नगर्न आग्रह गरेको थिएँ । त्यसपछि भटाभट उम्मेदवारी घोषणा हुनथाल्यो । म अझै सम्झन्छु मैले त्यसो गरेको एनआरएन अमेरिकामा लामो योगदान दिएका डा. तारा निरौला र लोक तिवारीलाई पटक्कै मन परेको थिएन । “शैलेशजी, यो त गुण्डागर्दी पारा भएन र ?“ सम्म भन्न भ्याएका थिए लोक तिवारीले । शिब कुमार राईको उदारताले कसैको खल्तीमा थन्किएको एनआरएनए अमेरिका बाहिर आयो भने सन २०१४ को निर्वाचन मार्फत खगेन्द्र क्षेत्री, लोक तिवारी, श्री पराजुली जस्ता क्रियाशील व्यक्तिहरुको प्रवेश भयो । अप्रत्यासित रुपमा चुनाब हारेका सानुबाबु सिलवालले सिम्प्ली भोटिङ्ग मार्फत धाँधली गरेको भन्ने आरोप संस्थापन र निर्वाचन प्रमुख बिनोद रोकालाई लगाएर उनी यो अभियानबाटै बाहिरिए ।

खगेन्द्र क्षेत्रीको नौ महिने कार्यकाल पछिल्ला कार्यकालहरु भन्दा कम बिबादित भएका थिए । आरम्भदेखिनै यो संगठनमा नेपाली कांग्रेसको भात्री संगठन नेपाली जनसम्पर्क समितिको गिध्देदृष्टी पारेको थियो तथापी डा. केशब पौडेलको दुई कार्यकाल र सुनील साहको पालामा जस्तो नाङ्गो अबैधानिक गुण्डागर्दी भने भएको थिएन । संस्थाको आचार संहिताले दलगत राजनीतिलाई पूर्णत निषेध नै गरेको छ तर पनि भात्री संगठनमार्का कार्यकर्ताहरु कांग्रेसले कब्जा गर्ने उद्घोषका साथ तिनका मालिकहरुलाई पद बहाल गर्न सफल भईनै रहे । डा. केशब पौडेलको दुबै कार्यकाल बिबादमुक्त हुन सकेन अन्ततः न्यायिक सुनुवाईका लागि प्रत्यासीहरु न्यायको याचना गर्दै टेनेसी कोर्टसम्मनै पुगे । ३२९ जना सदस्य भएको संगठनमा हार्डड्राईभमा संचित गरिएको नक्कली मत जोडेर १५ हजार सदस्य भएको संसारकै सबभन्दा ठुलो राष्ट्रिय समन्वय परिषद भएको हेजेमोनिक दम्भ बोली रह्यो । डा. पौडेललाई जिताउन जे पनि गर्न तयार त्यो राजनैतिक गिरोहले कुनै एकजनाको अमेरिकन एक्सप्रेस क्रेडिटकार्डबाट ६४०० डलर भुक्तानी गरेको प्रमाण मिडियामा सार्वजनिक भयो भने मुद्धाको क्रममा डा. पौडेलको नाममा एक छापे १४ सय मत खन्याईएको फेहरिस्त पनि बाहिरियो । सदस्यहरुबाट उठेको रकम कानुनी लडाई लड्न खर्च गर्दै दुई असफल कार्यकाल पुरा गरेर डा. केशबको बहिर्गमन भयो । तथाकथित राजनीतिक शक्ति केन्द्र र दलालीमा सामेल हुने कार्यकर्ताहरु नयाँ मुर्गा अर्थात् डा. पौडेलको दोश्रो संस्करणको खोजीमा निस्किए । दलगत निकटता र कैयन सौदाबाजीका कारण उनीहरुले सुनील साहलाई रोजे । सुनील साह एण्ड कम्पनीले कसरी पद र शक्ति हत्याए त्यो फेहरिस्त पहिले पहिले भन्दा पनि देखिने र बुझिने गरि सतहमा आएको छ । पहिले पहिलेको बदमासीहरुमा म प्रमाण प्रतिलिपिहरुको सहारा लिन्थे तर २०१९÷२१ सत्रमा भएको अराजक दण्डहिनता र अनियमिता मैले सुपरिवेक्षण समितिका सदस्यको हैसियतमा भित्रै बसेर हेरें अनि देखें । अन्तरिक प्रमाणीकरण समितिका राम कुमार सुबेदी, बाल जोशी र पवन योञ्जनहरुले दिनरात दुख गरेर गरेको प्रमाणीकरणलाई डा. रुद्र अर्याल, प्रमोद सिटौला र म रहेको समितिले प्रमाणित नै नगरेको अवस्थामा आफ्नो सुबिधाको निर्वाचन आयोगलाई हस्तान्तरण गरे । त्यति मात्र होइन आफु र आफु अनुकुलकालाई जिताउन उनीहरुले हामीले प्रमाणित नै नगरेको जगेडा २०९३ सदस्य थपे । त्यसको व्यापक बिरोध भएपछि त्यसलाई बैध पुष्टी गर्न गराउने त्यो गिरोहले रातारात पाँच सदस्यीय मतियार समिति गठन गरे । त्यो समितिले ४८ घण्टाको समयमा सारा सदस्यता भेरिफाईड गरेको भन्दै क्लिनचिट दिए ।

 

त्यो ब्यूह रचना बुझेका प्रत्यासीहरुले थपिएको २०९३ को किनारा नलगाई निर्वाचन नगर्न तात्कालिक संस्थापन र निर्वाचन समितिलाई आग्रह गरिरहे । अनाधिकृत नक्कली मतदाताको ईस्यु चर्को रुपमा उठेपछि चुनाब हुने नहुने द्विविधा रहेको अवस्था थियो तर तत्कालिन आईसीसी अध्यक्ष भवन भट्टको आश्वासनपछि निर्वाचन हुने दिनको केही घण्टा अघि मात्र निर्वाचनमा सबै प्रत्यासीहरुले भाग लिने स–शर्त सहमति भएको थियो । निवर्तमान अध्यक्ष डा. पौडेल तथा अध्यक्ष पदका उम्मेदवारहरु सुर्य (साल) लम्साल र संजय थापा र अन्य केहीको उपस्थितिमा भएको सहमतिमा बिबादित भनिएको “जगेडा–२०९३” मतदाताको आधिकारिकता निर्वाचनपछि पनि पुष्टी भएन भने निर्वाचन परिणामलाई नै अबैध घोषित गरिने सहमति भएको कुराको लिखत र रेकर्डहरु सुरक्षित रहेको र सो प्रमाणहरु आईसीसीलाई बुझाईसकेको कुरा अध्यक्ष पदका प्रत्यासी सूर्य लम्सालले मसंग भएको निजी वार्ताहरुमा पनि बताएका छन ।अमेरिकी सार र सन्दर्भहरुमा न्यायिक निरुपणको पक्षमा अनि दण्डहिनताका बिरुध्द कुर्लने एउटा स्वघोषित विद्वान बिज्ञहरुको लाचार जमात सम्मतिको टाउको हल्लाएर टास्कफोर्सको संयोजक, सल्लाहकार, संरक्षक र बिज्ञको बिल्ला भिरेर रमाई रहेका छन । तिनीहरुको बनिबनाउ बचाऊ तर्क हुने गर्दछ “एनआरएनए जस्तो सामाजिक संस्थालाई मुद्दा मामला र कानुनी झेमेलामा फसाउनु हुन्न है” । न्यायिक निरुपणका लागि न्यायालयको ढोकासम्म पुग्नेलाई त्यो बिलाषी तथाकथित बौद्धिकवर्ग “अपराधी” नै घोषणा गर्न संस्थापनको भिजिलान्ते बनेर प्रतिकारमा उत्रन्छन । तिनले एउटा कुरा बुझ्न जरुरी छ न्यायालय आम मानिसको अन्तिम भरोसा हो । आफूमाथि अन्याय भएकोले न्याय पाउँ भनेर प्रत्यासी सुर्य लम्साल (साल) ले अमेरिकी न्यायालय र एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदमा लिखित उजुरी दर्ता गराई सकेका छन ।

 

 

फेसबुक प्रत्यक्ष सम्बाद कार्यक्रममा आईसीसीका महासचिव डा. हेम राज शर्मासंग यसै बिषयमा मैले प्रस्तोताको हैसियतमा जिज्ञाशा राख्दा वर्तमान विषम परिस्थितिका कारण छलफलमा ल्याउन र निर्णय गर्न ढिला भएको तर अब चाँडै आईसीसी कार्यसमितिको बैठक बसेर यो बिषयमा चाँडो भन्दा चाँडो संस्थागत निरुपण गरिने कुरा बताएका थिए ।

 

एनआरएनए अमेरिकाको अबैधानिक कार्य संचालनको रोलक्रममा “फेकआईडी काण्ड“ संस्थाकै बँचेको ईमेललाई पनि तहसनहस गर्ने गरी तुफान बनेर आयो । अमेरिकी प्रवासी समाज नक्कली फेसबुक आईडी बनाएर अरुहरुलाई प्रताडित गर्ने छद्मभेषी मनोरोगीहरुबाट बर्षौंदेखि नराम्ररी आक्रान्त भएका छन ।“सिधाकुरा”, “रातो भाले”, “बादल थापा” जस्ता छद्मभेषी नामबाट समुदायका मानिसहरुको मानमर्दन गर्ने गरिएको दुरुह बिगत यो समाजले सामना गरिरहेको छ ।

 

मैले यो आलेखमा उल्लेख गरेका केही नियत र घटनाहरु प्रतिनिधि घटनाहरु मात्र हुन यस्तो नियमित आकस्मिकता हाम्रो एनआरएनएन अमेरिकामा चलिरहन्छ अनि चलिरहेकै छन । तर राजनीतिक ब्यूह रचना गरेर नीति–नियम, बिधि–बिधान अनि आचारसंहिताको जानाजानी उल्लङ्घन गरेर संगठन चलाउने परिचालित गिरोहहरुले अब बुझ्न जरुरी छ यो राजनैतिक ठेक्कापट्टा लामो काल जाँदैन । अबको देखिने अनि बोलिने समाजले यो शर्मनाक आकस्मिक नियमितता र दण्डहिनता अनि अराजकताको समूल अन्त्य गर्नेछ ।

लेखक सञ्चारकर्मी एवं समाजिक अभियन्ता हुनुहुन्छ


१९ असार २०७७, शुक्रबार १६:२६ मा प्रकाशित