न्यूयोर्कसँगको मेरो प्रेम

दूरबिन नेपाल     २३ असार २०७७, मंगलवार ०३:२४    

न्यूयोर्कसँगको मेरो प्रेम

 

तारा भट्टराई

साँच्चिकै नढाँटिकन भन्नुपर्दा,
यतिबेला न्युयोर्कले मलाई एउटा लक्का जवान युवकलेझैं नराम्रोसँग मायाँजालमा फसाएको छ । मोहनी लगाएको छ । यतिको रमाईलो सायद संसारका अरु शहरले दिनपनि सक्दैन होला । पछिल्लो समयमा त मलाई न्यूयोर्कको हरेक कुरा मन पर्न थालेको छ । प्रेमको असली परिभाषापनि मैले न्युयोर्कबाटै सिकेकी हुँ ।

PlutonicTech

कोभिड–१९ को ईपिसेन्टर बनेको बेला न्युयोर्कले मलाई कम्ता मायाँ गरेन । दैनिक आँखा अगाडी हजारौं मानिसले मृत्युवरण गरिरहँदा मलाई खोकिलामा टाँसेर लपक्क लुकाएर राख्यो । मृत शरीरहरु चिसो ट्रकमा (refrigerated semi –trailer) चढेर अन्तिम दाहसँस्कारका लागि लाईन लागेर महिनौसम्म कुरिरहँदा पनि मलाई त्यो कुरुप भाईरसलाई छुन सम्म दिएन । दिनभर भाईरस लागेको भनिएका मानिसहरुसँग उठबसगर्दा पनि म हरेक परिक्षणहरुमा सधै नेगेटिभ आईरहें । करिब ३.३ मिलियन मानिसहरुले जागिर गुमाउँदापनि न्यूयोर्कले मलाई २४ घण्टा काममा व्यस्त बनायो ।

न्यूयोर्कमा महामारीको बेलामा यहिं जन्मेर यहाँको धुलोमा खेलेर हुर्के बढेका र न्यूयोर्कको झण्डै आधा सम्पतिको मालिक राष्ट्रपति डोनाल्ड ट्रम्पले बरु ह्वाईटहाउस पुगेपछि चटक्कै माया मारेछन् । उनका fellow citizens र बच्पन देखिका साथिभाईलाई भाईरस लागेर श्वास फेर्न नसकेर घिट्घिट गरिरहेका बेलामा उनले एउटा नौका अस्पताल न्यूयोर्कलाई दिनुपर्दा उनको ट्रम्प टावर नै दानमा दिनुपरेको जस्तो गरे । उनीसँग न कुनै सहानुभूति थियो न त श्रद्धान्जलीका कुनै शब्द नै । कतिले आईसीयू नपाएर मृत्यु रोज्नुपर्याे । सोसियल डिस्टेण्सले प्रियजनहरुसँग गुडबाई भन्न नपाउदाको पीडा त भनिसाध्यै छैन । बरु मैले न्युयोर्क र न्युयोर्कसहरुकालागि बिगत चार महिनामा धेरै आँशु खर्च गरिसकेकी छु होला । न्यूयोर्क शहरमा महामारीका बेला ग्रोसरी स्टोरमा एक मुठो हरियो धनियाँ किन्नकालागि पट्यारलाग्दो लामो लाईनमा धैर्यताको बाँध नफुटाईकन बस्न होस वा ६ फिटको सामाजिक दुरीको नियम पालना गर्नमा म अब्बल दर्जामा उभिएकी छु । मास्क चिउडामा नलगाईकन मिलाएर लगाएकाले कतिपटक मैले ताली पाएकीपनि छु । कतिले बुढी औठोले perfect भनेका छन् । मान्छेहरु ट्वाईलेटपेपर नपाएर छट्पटिएका बेला मैले यसलाई सहज रुपमा लिए र अर्काे बोतल थप हात धुने झोल साबुन र केहि थान रुमाल किने । किनभने म न्युयोर्क पस्नु अघिनै यस्ता कुरामा अभ्यस्त भैसकेकी थिए । यो बानीले मैले अरु न्युयोर्कबासीहरु जस्तो तनावको सामना कहिल्यै गर्नु परेन र न्युयोर्कलाई कहिल्यै गाली गरिन ।


बल्ल तल्ल ३० वर्षको औसत आय भन्दा बढि रकम खर्चेर यो शहरको कुनामा जोडेको ९०० वर्गफूटको एउटा अपार्टमेन्टको छैटौ तलाबाट छुट्टीको बेलामा झ्यालबाट बाहिर
यसो चिहाउने गर्छु । एम्पायर स्टेट बिल्डिंगले बैकहरु टाट पल्टदै छन् है भनेर बेला बेलामारातो flash lights पो दिएको हो कि जस्तो लाग्छ र कता कता मेरो मन पनि चसक्क दुख्छ । अब यो भाईरस नियन्त्रणमा आएपछि यो शहरले क्रेडिटको पहाडमा कसरी बाटो सम्याउला ? त्यसमाथि पनि महामारीले हजारौ मानिसहरु गुमाएको पीडाबाट कसरी उम्केला ? फेरि आँखा मिच्दै समालिन्छु र डेलिभरिका गाडी र प्राईवेट कारसँगै तिब्र गतिमा घुईकेको एम्बुलेंसको कडा साइरनले एकाग्रतालाई भंग गरिदिन्छ । फेरि ब्रडवे, मुभिथिएटर, रेष्टुरेण्ट, स्टोरहरु, म्युजियम र स्ट्रीट लाईफ सम्झदै गर्दा स्टारबक्सको कफीको मीठो बास्नाको यादले सताउँछ । हातमा भएको आईफोनमा औला दौडाएपछि नजिकैको स्टारबक्सले अनलाईन डेलिभरि गर्नेकुरा थाहा भैहाल्छ । झन Uber Eats भन्ने एप्सले त जे चाहियो त्यही ढोकामै ल्याईदिने भएपछि त मेरो खुशीको सीमा नै हुँदैन । मलाई फेरि अफिसमा होस वा घरमा अनलाईन अर्डर गरेरै भएपनि दिनमा एककप स्टारबक्सको कफी पिउनै पर्छ । कफीको लत टुट्यो भने मेरो जिन्दगी पनि टुँगिन्छकी जस्तो लाग्छ । यो लत पनि मलाई न्यूयोर्कले नै दिएको हो । कफीको चुस्की सँगै म कसैलाई सम्झना गर्नपनि सक्छु, बहकिन पनि सक्छु र जीवनप्रतिको गुनासो वा गर्व पनि गर्नसक्छु । कफीको कप एक्लो जिन्दगीको सबैभन्दा बेस्ट फ्रेन्ड हो भने परिवार, साथीभाइहरुसँग संवाद गर्नपनि कफिबिना त असम्भव नै हुन्छ । त्यसैले मैले न्यूयोर्कमा यो आदत जबर्दस्त लगाएकी हुँ र टुटाएँ भने जिवनपनि पुर्णबिराम लाग्छ ।

Bhatta Law & Associate

न्यूयोर्कमा साना ठुलागरी १,७०० हरिया र रंगिबिरंगी फुलहरुले सजिएका पार्कहरुमा घुम्न जाँदा त झनै स्वर्गको एउटा टुक्रा जस्तै लाग्छ । जुन महिनाको रातिको पानीले बाटाघाटाहरुपनि पखालेर बिहानै सफा र स्निग्ध देखिन्छन् । न्यूयोर्क सिटीका पाँचैवटा boroughs का कहिल्यै नभेटेका मानिहरु एउटै बेन्च सेयर गरेर पार्कमा शीतल हावा खाईरहेको देख्दा मलाई एकदशक अगाडी पढेको परंहंशयोगानन्दयोगीको आत्मकथा नामक पुस्तकका हरफहरुको याद आउँछ । पृथ्वीमा भौतिक शरीरको बोझबाट मुक्तिपछि आत्मा स्वतन्त्र हुन्छ र आफ्ना दिवंगत नातेदार, प्रियजन रसाथीसंगीसँग आत्माको भेट हुन्छ । तर बोलचाल हुँदैन । सायद यिनिहरु र मेरो पनि पुर्वजन्म देखिकै कुनै नाता होला । देखादेख भयो । मुसुक्क मीठो मुस्कान आदान–प्रदान भयो तर बोलचाल भएन । मेरो मनै त हो अनेक सोच तरंग ल्याउछ बेला न कुबेला ।

फेरि जुलाई फोर्थमा पुरै सहरले एउटै चुल्होमा माछा मासु पोलेर चिसो बियर चियर्स गर्छ । सबै मिलेरै रमाईलो मनाईरहेका छन् । कसैलाई कसैको प्रवाह छैन । सबै मस्त छन्। टिनएजरहरु चिन्नु जान्नु छैन तैपनि हतार हतार प्लेग्राउण्डमा गएर बास्केटबलको रिङ्गकोमाथिबाट बल छिराउँन थाल्छन् । निन्द्रालागेन भने मध्यरातमा उठेर बारको बीचको रंगीन मन्द मन्द बत्तीमुनिको कुर्सीमा बसेर ह्वीस्कीमा झुम्दै गफ्फिदाको मज्जै बेग्लै हुन्छ ।

न्यूयोर्कमा यस्ता अनेक कुराले मलाई मोहनी लगाईसकेको छ । मेरो दिलमै बसेको न्यूयोर्कको अर्काे एउटा मज्जा भनेको 7 Train चढनुपनि हो । यो ट्रेनहरुको राजा हो र यस्मा लगभग संसारमा बोलिने सबै भाषा बोलिन्छन् । एउटा डिब्बाको कुनामा बसेर मोबाईल चलाएको जस्तो गरेर वा म्युजिक सुनेजस्तो गरेर वा निदाएको जस्तो अभिनय गरेर मानिसहरुका गफ सुन्दाको मज्जा त म मौका मिल्यो भने हरेकदिन पनि लिन सक्छु । म यसै ६ डलर खर्च गरेर मानिसहरु गफ्फिएको सुन्नकै लागी भएपनि ट्रेनमै बिनाकामपनि ओहोर दोहोर गरिदिन्छु । अर्काे सोख भनेको खानाको स्वाद लिनु । यहाँ झण्डै ३३००० रेष्टुरेण्टहरु छन् भने, संसारका १७० देशका मानिसहरुले रेष्टुरेण्ट खोलेर आफ्नो देशको परिकारहरु पस्कन्छन् । दैनिक एउटा देशको रेष्टुरेण्टमा जाने हो भने पनि सबै देशको स्वाद चाखिसक्न १७० दिन लाग्छ । यसो गर्दा एकातिर दाल, भात, तरकारी, रोटीसँग पनि नातासम्बन्ध टूट्ला भन्ने डर हुन्छ, अर्काे तिर घण्टा हानेको पैसा रेष्टुरेण्ट मै सकिएला भन्ने डर। सबैभन्दा बढी गएरपनि सधैं जान मन लागिरहने ब्रेकफास्टलागि अमेरिकन डाईनर र लन्चकालागी जापानिज रेष्टुरेण्ट नै हो । सरसफाई, टेबुलकुर्सी सजावट पनि लोभैलाग्दो र स्वागत सत्कार गर्नपनि जान्ने अनि बस्नासाथै तातो चिया ल्याईहाल्ने । Wasabi कोश्वास थुन्ने पीरोसँग सुसी खानुको मज्जै पनि बेग्लै । कहिलेकाही स्पैनिसहरुको मकैको रोटी र ईम्पानाडाजले पनि मनै लोभ्याउछ ।

न्यूयोर्कमा मलाई सबैभन्दा मनपर्ने भनेको अति नै प्रतिस्पर्धात्मक जीवनशैली हो । यहाँको जिवनशैलीमा एकपटक अभ्यस्त भैसकेको मानिस संसारको जुनसुकै शहरमा पनि सजिलै बाँच्न सक्छ भन्ने मेरो ठम्याई हो । म गलत पनि हुन सक्छु । त्यसैले यति धेरै मायाँ गर्ने यो सहरलाई मेरो बाँकी आधा जीवन पनि सुम्पि पो दिउँकी भन्ने पनि लाग्छ कहिलेकाही ।

लेखक न्युयोर्कमा स्वास्थ्यकर्मी हुनुहुन्छ


२३ असार २०७७, मंगलवार ०३:२४ मा प्रकाशित