फिप्नाको राहत वितरण नेपालमा जारी काठमाडौमा हरेक दिन ३०० लाई खाना खुवाइयो

दूरबिन नेपाल     २४ असार २०७७, बुधबार ००:५२    

Anil Baral Real Estate

 

दूरबिन नेपाल, न्युयोर्क
नेपाल आदिवासी जनजाती महासंघ अमेरिका (फिप्ना) को राहत वितरण जारी रहेको छ । असार २९ गतेसम्म संचालन हुने राहत वितरण कार्यक्रमका लागि फिप्नाले अमेरिकाबाट सहयोग गरिरहेको छ । असार २१ गतेबाट शुरुभएको राहत तथा सहयोग वितरण कार्यक्रम अन्तर्गत काठमाडौ उपत्यकामा हरेक दिन ३ सय जनालाई ताजा खाना वितरण गरिएको फिप्नाका अध्यक्ष लोक चेम्जोङले जनाएका छन । काठमाडौको रत्नपार्क, बुद्ध चौक, सोह्र खुट्टे, जेपी रोड लगायतका स्थानहरुमा ताजा खाना खुवाइएको थियो । बृद्धबृद्धा, अनाथ, असहाय, मजदुर, घरवारबिहिन, सडक बालबालिका, बेरोजगार तथा बटुवाहरुलाई खाना वितरण गरिएको अध्यक्ष चेम्जोङले जनाए । खाना वितरणका लागि पिए नेपालका प्रमूख ईन्दिरा रानामगर, तथा अन्य स्वयंसेवकहरुमा सुवि राई, अनन्त राई, मन्जु राई, विमला गुरूङ, सेन्मी राई, राजेश लिम्बु, जयकुमार राई, सुक्र लिम्बु, रूपेश लामा तथा पत्रकारहरू देवेन्द्र खापुङ, सम्पदा योङ्या, प्रेम गौतम लगायतहरुले सहयोग गरेकोमा आभार व्यक्त गरिएको छ । फिप्नाका सल्लाहकार तेन्जिङ उक्यापको सक्रियता तथा अनन्त राईले खाना पकाउने ठाउँ उपलब्ध गराएका थिए । नेपाल आदिवासी जनजाति महासंघ अमेरीका (फिप्ना) को आर्थिक सहयोग, नेपाल आदिवासी जनजाति महासंघ संघीय परिषद् सचिवालय काठमाण्डौ नेपालको समन्वय तथा PA NEPAL Prisoners Assistance Nepal आयोजक र व्यवस्थापकको भुमिकामा उपत्यकामा राहत वितरण कार्यक्रम भईरहेको छ ।

त्यसैगरि सिरहाको कल्याणपुर नगरपालिकाको वडा नम्बर एकमा पनि फिप्नाले खाद्यान्न लगायतको राहत वितरण गरेको छ । अति विपन्न समुदाय मुसहरहरुको बाहुल्यता रहेको सो स्थानमा फिप्नाले ६० परिवारलाई राहत वितरण गरेको अध्यक्ष चेम्जोङले जनाएका छन । वितरित खाद्यान्नमा चामल, तेल, दाल, नुन लगायतका वस्तु छन । ती स्थानमा पनि स्वयंसेवक मार्फत खाना तथा राहत वितरण गरिएको छ । प्रथम चरणको राहत वितरण कार्यक्रम अषाढ २९ गतेसम्म जारी रहने फिप्नाले जनाएको छ ।

 


२४ असार २०७७, बुधबार ००:५२ मा प्रकाशित