नेपाल आदिवासी जनजाति महासंघको अन्तर्राष्ट्रिय समन्वय समिति बन्ने

दूरबिन नेपाल     २८ असार २०७७, आईतवार ०२:१५    

Anil Baral Real Estate

दूरबिन नेपाल, न्युयोर्क
नेपाल आदिवासी जनजाति महासंघ अन्तर्राष्ट्रिय समन्वय समितिका लागि तदर्थ समिति गठन भएको छ । विदेशस्थित महासंघको जुम बैठकले मान बहादुर राना मगरको संयोजकत्वमा तदर्थ समिति बनाएको हो । संयोजक राना मगर फिप्नाका निवर्तमान अध्यक्ष समेत हुन । समिति ११ सदस्यीय रहेको छ । सो समितिको सहसंयोजकमा हङकङबाट किसन राई र बेलायतबाट खुसी लिम्बू रहेका छन् । समितिको सदस्य सचिवमा कतारका शिव भुजेललाई चयन गरिएकोे छ । सदस्यहरुमा दक्षिण कोरियाबाट युगेल तेन्डुप शेर्पा, क्यानाडाबाट रश्मी थापामगर, अस्ट्रियाबाट, मणी थेवे रहेका छन । त्यसैगरी हेम गुरुङ पोर्चुगलबाट, विनोद पोमो अमेरिकाबाट र कुमार बलामी यूएईबाट छन । अन्य सदस्यमा अस्ट्रेलियाबाट सुदर्शन थापामगर छन् । गत वर्ष अक्टुबरमा काठमाडौंमा सम्पन्न प्रथम नेपाली आदिवासी जनजाति अन्तर्राष्ट्रिय सम्मेलनको घोषणापत्रमा महासंघको विधान संशोधन गरी अन्तर्राष्ट्रिय सञ्जाल बनाइने बताइए अनुसार अन्तर्राष्ट्रिय सञ्जाल गठन गर्न लागिएको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । उक्त सञ्जाल बनाउन विदेश विभाग प्रमुखलाई छ महिनाभित्र कार्यसम्पादन गर्ने जिम्मेवारी दिइएको विज्ञप्तिमा जनाइएको छ । छ महिनाभित्र विधान संशोधन नभए अन्तर्राष्ट्रिय समन्वय परिषद् गठन गर्न सक्ने निर्णय गरेको विज्ञप्तिमा जनाइएको छ । अन्तर्राष्ट्रिय सम्मेलनको दौरानमा भएका निर्णय समीक्षा गर्न आयोजित जुम बैठकमा १३ देशका महासंघका अध्यक्षसहित २५ जनाको सहभागिता रहेको थियो । बैठकको संयोजन महासंघ बेलायतका महासचिव खुसी लिम्बूले गरेका थिए ।


२८ असार २०७७, आईतवार ०२:१५ मा प्रकाशित