नेपालका हजुरआमा- हजुरबा र अमेरिकाका नाती- नातिनीहरू

प्रा. डा. दुर्गा दाहाल     २५ भाद्र २०७७, बिहीबार ०१:३४    

Anil Baral Real Estate
प्रा. डा. दुर्गा दाहाल

भनिन्छ: अमेरिका अवसर र संभावनाहरूको देश हो । हो पनि तर पहिलो पुस्ताले अनेकौँ कष्ट र संघर्षका दिनहरू व्यतीत गर्नु पर्ने हुन्छ । अनेकौँ चुनौतीहरूको सामना गरे पछि सफलता र आशाका किरणहरू देखा पर्न थाल्छन ।

पहिलो पुस्ता: नेपालमै जन्मेर, हुर्केर,बढेर,  पढेर, अथवा परेर विभिन्न वाध्यता र विवशताको शिकार भएर, वा अध्ययनको क्रममा अमेरिका आएका नेपाली जनहरूलाई पहिलो पुस्तामा वर्गीकरण गरिन्छ ।

दोश्रो पुस्ता: पहिलो पुस्ताका नेपालीहरूबाट बाल्यावस्थामै नेपालबाट आएका वा नेपालीहरूबाट अमेरिकामै जन्मेका , हुर्के- बढेका र पढेका सन्ततिहरूलाई यो पुस्तामा वर्गीकरण गरिन्छ ।

त्यसपछि पुस्तान्तरण हुँदै यो क्रम अघि बढछ र कालान्तरमा कतिपय नेपालीहरूको अत्तोपत्तो हुँदैन भने कतिपय नेपालीहरूले आफ्नो पहिचान, धर्म, संस्कृति र परम्परालाई जोगाएर राख्छन । यो पनि अर्को एउटा ठूलो चुनौती हो अमेरिकामा ।

नेपाली समाज, सभ्यता, धर्म र संस्कृति भन्दा अमेरिकी समाज, सभ्यता, धर्म र संस्कृति फ़रक छ । अमेरिकी समाज स्वतन्त्र, खुल्ला र उदारवादी छ जबकि नेपाली समाज तुलनात्मक रूपमा अद्यपरिमित परतंत्र, पराधीन र पुरातनवादी छ ।

नेपालबाट बाल्यावस्थामै आएका अथवा अमेरिकामै जन्मेका बाल- बालिकाहरूमा अमेरिकी हावापानी र बानी- व्यहोराको क्रमिकरूपमा प्रभाव पर्दै जान्छ र नेपाली मूल र जरोबाट उनीहरू अलग्गिँदै र टाढिँदै जान्छन । उनीहरूको अधिकांश समय चाईल्ड केयर ( Child Care ) अथवा विद्यालयमा शिक्षक र साथी- भाईहरूसंग बित्ने भएकाले अमेरिकी शिक्षापद्घति, सभ्यता र संस्कृतिको प्रभाव पर्दै जान्छ । भाषा, स्वभाव, आदत र आचरण आदिमा पनि पश्चिमी सभ्यता र संस्कृतिको प्रभाव पर्दै जान्छ ।

* नेपालका हजुरआमा र हजुरबाहरू

नेपाली समाजमा एउटा भनाई छ: “ साऊँको भन्दा ब्याजको लोभ “ अर्थात “ छोरा- छोरीको भन्दा नाती- नातिनीको बढी माया हुनु “।

अनुभूति पनि त्यस्तै हुन्छ र न्याश्रो पनि लाग्छ, स्वाभाविक हो । अत: विदेशमा भएका नाती- नातिनीहरूलाई पनि हेर्ने, बोक्ने, म्वाईँ खाने, हिंडाउने, घुमाउन लैजाने, काखमा राख्ने आदि- इत्यादि रहरहरू हुन्छन जुन प्राकृतिक र स्वाभाविक पनि हो तर अब यहाँनिर धेरै समस्याहरू आउन सक्छन ।

( वि. द्र : निम्नलिखित कुराहरू सबै परिवार र हजुरबा- हजुरमा तथा नाती- नातिनीहरूमा लागु नहुन पनि सक्छ )

यी समस्याहरू सबैमा लागु हुन्छन भन्ने त छैन तर अपवाद वाहेक सबैमा लागु भएको देखिन्छ ।

* समस्याहरू

१. भाषाको जटिल समस्या: ( severe language barrier )
एयरपोर्टमा ओर्लिए देखिनै यो समस्याले गाँज्न थाल्छ । यद्यपि सबैलाई एउटै डोकामा त राख्न मिल्दैन तर अधिकांशलाई यो समस्या जटिल र विकराल रूपमा देखा पर्छ किनभने अब एकापसमा संवाद हुन जटिल हुन सक्छ । यदि हजुरबा- हजुरमालाई अंग्रेज़ी भाषाको सम्यकज्ञान छैन भने र नाती- नातिनीलाई नेपाली आउँदैन भने कुराकानीको मेलो सर्न सक्तैन । फलस्वरूप, अपेक्षित मात्रामा माया- ममता र आत्मीयता वृद्धि हुन पनि कठिन हुन्छ ।

कलिला सन्तानका बुवा आमाले grandma/ grandpa भनेर चिनाई त देलान तर त्यो बाबु अथवा नानीले ती शब्दहरूको तात्विक र गहिरो अर्थ नबुझ्न सक्छ । नेपाली समाजमा हजुरआमा अथवा हजुरबा भन्नाले जे- जति र जस्तो गहिरो अर्थ बुझिन्छ, अमेरिकी समाजमा grandma अथवा grandpa भन्नाले त्यतिनै बुझिँदैन । उदाहरण स्वरूप, हामी नेपालीहरूले “ गाई “ भन्नाले जति व्यापक र गहिरो अर्थ लगाउँछौँ, अमेरिकी समाजले “ Cow “ भन्नाले त्यतिनै बुझ्न सक्तैन ।

२. कानूनीज्ञानको अभाव ( Lack of legal knowledge )
• अमेरिकी क़ानून कड़ा र मानवाधिकारमा आधारित छ ।
• बालअधिकार संरक्षित र संवेदनशील छ ।
• वैयक्तिक स्वतन्त्रता प्रमुख हुन्छ ।
• बच्चा- बच्चीलाई कुट्न, गाली गर्न, शारीरिक दण्ड दिन, मानसिक यातना दिन, अथवा आवेगिक दुख: कष्ट दिनु हुँदैन किनभने अमेरिकी क़ानूनमा Child Rights अन्तर्गत Child Protection Service अर्थात बाल सुरक्षा सेवा ( CPS ) अन्तर्गत अनुसन्धान कार्य शुरू हुन्छ र अभिभावकहरू जवाफदेही हुनु पर्छ ।
• बच्चाबच्ची अथवा केटाकेटीले प्रहरी बोलाई दिए, विद्यालयमा शिक्षकहरु अथवा साथीहरूलाई भनि दिए / उजुरी दिए भने तु. प्रहरी आएर खोजतलास गर्छ/ अनुसंधान गर्छ र सुरक्षाशिविरमा लगेर राख्न सक्छ र बच्चाबच्चीहरूले घरमा सुरक्षित महसुस नगरे सम्म घरमा फिर्ता हुन दिन्न ।
• तेरह ( १३ ) वर्षभन्दा मुनिका बाल- बालिका हरूलाई घरमा एक्लै छोडयो भने कानूनत: दण्डित हुनु पर्छ र सफ़ाई दिनु पर्छ ।
• कार, अन्य गाड़ी अथवा कहीँ कतै सार्वजनिक ठाऊँहरूमा  नाबालक हरूलाई,  घरमा पनि एक्लै छोड्यो भने दण्डको व्यवस्था छ ।
• नाबालक क़ानून ( Juvenile Law ) अन्तर्गत बच्चाहरूको विशेष क़ानून हुन्छ ।
• नौवर्ष भन्दा माथिका उमेरका सन्तानलाई कानूनत: एउटै कोठामा राख्न मिल्दैन ।
• अठारवर्ष भन्दा माथिका उमेरका छोरा- छोरीलाई आफ्नो अधीनमा राख्न मिल्दैन । उनीहरूले स्वतंत्रतापूर्वक आफ्नो निर्णय लिन पाउँछन । फलस्वरूप, तिनीहरू साधारणतया बुवाआमासंग छुट्टिएर/ अलग्गिएर आफ्नै कोठा अथवा अपार्टमेंट लिएर बस्छन ।

* उन्नत प्रविधिको अज्ञानता: ( Ignorance of advanced technology ):
अहिलेको उच्च र उन्नत प्रविधिले पनि ठूलो समस्या ल्याएको छ हजुरबा- हजुरमा हरूलाई किनभने यसले नाती- नातिनीहरूसंग दूरी बढाएको छ । नाती- नातिनीहरू विद्यालयबाट आएपछि पनि र विदाका दिनहरूमा पनि अधिकांश समय गेम्स, स्पोर्ट्स, आईफ़ोन, आईप्याड, कमिक्स अथवा टेलिविज़नमै व्यस्त रहन्छन ।

* अमेरिकाका नाती- नातिनीहरू:

• अमेरिकाका बच्चाहरू उम्रिँदैका दुईपाते हुन्छन । अस्पतालमा जन्मिए देखिनै सबै सुख: सुविधाहरू उपयोग र उपभोग गर्न थाल्छन । विद्यालय जान थालेपछि अधिकांश समय अमेरिकी वातावरण र परिवेशमा बिताउन थाल्छन ।
• अमेरिकन ( अंग्रेज़ी ) भाषा- साहित्य, समाज- संस्कृति र परिवेशमा हुर्किँदै गर्दा आँफूहरूलाई पनि अमेरिकननै ठान्ने, अमेरिकनहरूलाईनै साथी बनाउने गर्छन ।
• अमेरिकी चाडपर्व र रहन- सहनमा रमाउने र खेल्ने गर्छन ।
• आफ्नो ख़ुशीले केटाहरूले केटीसाथी
( gf ) र केटीहरूले ( bf ) बनाउने गर्छन ।
• आत्म- सम्मान, स्वाभिमान, र ईमान्दारिता र पौरखमा विश्वास गर्छन ।
• सकेसम्म आँफै कमाउने, आफ्नो काम आँफै गर्ने, बानीको विकास गर्दै स्वतंत्र बन्छन र आफ्नो ज़िन्दगीका निजी सवालहरूमा बुवा-आमा, हजुरमा- हजुरबा अथवा परिवारका अन्य सदस्यहरूले हस्तक्षेप गरेको मन पराऊँदैनन ।
यसरी परिवारमा एउटा ठूलो दूरी बढन गई पारिवारिक माहौल र परिवेश बिग्रन सक्ने संभावना रहन्छ ।

* समस्या समाधानका उपायहरू :
( Solutions to the Problems )

१. घरमा बुवाआमा र परिवारका सबै सदस्यहरूले नेपालीमै बोल्ने किनभने अंग्रेज़ी त विद्यालय र वाह्यपरिव्शमै सिकी हाल्छन ।
२. मठ- मन्दिर, पूजा- आजा र आफन्तहरूकोमा नियमित रूपमा लैजाने ।
३. कम्तीमा दुईवर्षमा एकपटक नेपाल लिएर जाने र नेपाली परिवेश तथा परम्परासंग चिनजान गराउने ।
४. घरमा नेपाली किताबहरू ल्याएर पढन- लेख्न र बोल्न सिकाउने
५. घरमा आफन्त र पाहुना/ अतिथिहरू आउँदा बाहिर बोलाई चिनजान गराउने र नेपालीमै  संवाद गराउने ।
६. कम्तीमा सुत्न जानुभन्दा पहिले बैठककोठामा परिवारका सबै सदस्यहरूलाई बोलाई नेपाली भाषामै एक घण्टासम्म पारिवारिक छलफल र नेपालका विषय र प्रसंगहरूमा प्रेमपूर्वक हाँसीखुशी छलफल गर्ने
७. बिहान- बेलुकी नेपाली समाचार र गीत- संगीत सुन्ने
८. हरेक सहरमा नानी- बाबुहरूका निम्ति नेपाली पाठशाला, साहित्यिक तथा साँस्कृतिक केन्द्र र हजुरआमा- हजुरबाका लागि नेपाली मिलनकेन्द्र अथवा चौतारी- साँझको स्थापना गरी मनोरंजनात्मक कार्यक्रमहरू गर्ने/ गराउने
९. नेपाली सामुदायिक केन्द्रहरूको स्थापना गरी त्यहाँभित्र मन्दिर, व्यायामशाला, ध्यानकेन्द्रहरूको स्थापना गर्ने आदि- इत्यादि ।

सारांशमा भन्नुपर्दा:  हाम्रो मूलजरो, नेपाली भाषा- साहित्य, धर्म- संस्कृति र परम्परालाई हामीले जहाँ गए पनि जोगाएर राख्नु पर्छ । नाति- नातिनीहरुसंगको दूरी घटाउन सर्वप्रथम पहिलोपुस्ताले पहलकदमी गर्नु पर्छ ।

आपसी आत्मीयता, माया- ममता र अपनत्वको भाव वृद्धि गर्न ज़रूरी छ ताकि पुस्ता र भाषा नमरोस । हजुरबा र हजुरआमालाई न्याश्रो र खश्रो नलागोस ।

तसर्थ, हजुरबा- हजुरआमा हरूले पनि देश, काल र परिस्थितिको मूल्यांकन गर्दै आधुनिक ज्ञान- विज्ञान, परिधि, प्रविधि तथा अन्तर्राष्ट्रीय भाषा अंगेज़ीलाई अध्ययन गरी नाती- नातिनीहरूसंग घुलमिल गर्ने अधिकतम प्रयास गर्नु ज़रूरी छ । आख़िर समयको वेग र संसारको परिवर्तनलाई कसैले रोकेर रोक्न सक्तैन ।


२५ भाद्र २०७७, बिहीबार ०१:३४ मा प्रकाशित